आइतबार, वैशाख २३, २०८१

गैरआवासीय नेपाली संघको बैंक खाता रोक्का गर्न शर्मा समूहको निवेदन

परराष्ट्रमा आधिकारिकताका लागि कागजात पेस

मेरोन्यूज २०८० कार्तिक १२ गते १८:५४

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् । ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् ।

Advertisement

ती बैंकहरुमा पत्राचार भएको छ भने यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत (सीईओ) राजेन्द्र कुमार राउतलाई पनि जानकारी गराइएको महासचिव बुद्धि सुवेदीले जानकारी दिए ।

‘बैंकहरुलाई पत्राचारका साथै आइतबार सीईओलाई पनि तत्काल खाता सञ्चालन नगर्न भनेर हामीले मौखिक रुपमा समेत भनेका छौँ’, उनले भने ।

आइतबार अध्यक्ष शर्मासहितका पदाधिकारीहरु नियमित कार्यसञ्चालनका लागि भन्दै बालुवाटारस्थित संघको कार्यालयमा पुगेका थिए । तर, अध्यक्षको कोठा बन्द गरिएका कारण शर्माले प्रवेश पाएका थिएनन् । त्यसपछि उनले सीईओसहितका कर्मचारीहरुसँग छलफल गरेका थिए । छलफलमा शर्माले संघको नाममा रहेका कुनैपनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको साँचो जिम्मा लगाउन आग्रका सीईओलाई आग्रह गरेका थिए । तर, सो क्रममा राउतले संघको सम्पूर्ण तालाचाबी डा बद्री केसीसँग रहेको जानकारी गराएका थिए ।

भेटपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष शर्माले एनआरएनएको १८ वटै बैंक खातामा विश्वभरका नेपालीहरुको सम्पत्ति रहेकाले कुनै अमुक र स्वघोषित अध्यक्षको निर्देशनमा संचालन गरिनु अवैध हुने भएकाले तत्काललाई रोक्का गरिएको बताए । ‘संघको आधिकारिक बैंक खातामा रहेको पैसा आफूखुशी चलाउन पाइँदैन । विधि र प्रक्रिया पुरा गरिसकेपछि हामी त्यसलाई पुनःसंचालनमा ल्याउँछौं । कार्यालयको सचिवालय पुनसंरचना गरी व्यवस्थित ढंगले चलाउँछौं । स्वघोषित अवैध समितिले सचिवालय र बैंक खातामा हस्तक्षेप गर्ने प्रयास गरे त्यो किर्ते र अवैधानिक हुनजान्छ ,’ अध्यक्ष शर्माले भने ।

शर्माले नेतृत्व गरेको एनआरएनए आइसीसीले आधिकारिकताको दाबी गर्दै शुक्रबार नै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो । आइतबार शर्मासहितका पदाधिकारीले परराष्ट्रमा पुगेर आधिकारिकताका लागि आवश्यक डकुमेन्टहरु पेश गरेका छन् ।

आफूहरुले सहसचिव अमृत राईलाई आधिकारिकताको निवेदनअनुसार आवश्यक प्रमाणहरु हस्तान्तरण गरेको भन्दै महासचिव सुवेदीले छिटै फाइल अध्ययन गरेर प्रक्रिया अघि बढाउने आश्वासन दिएको बताए । राईले धाँधली भएको कुरा विभिन्न माध्यमबाट आएको भन्दै मन्त्री एनपी साउदसँग परामर्श गरेर नियमसंगत ढंगले अघि बढ्ने कुरा बताएका छन् ।

अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेस गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दाबी गरेको हो ।

निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ । परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहित पदाधिकारीहरुको नामावली पेस गरिएको छ ।

प्रतिक्रिया