आइतबार, वैशाख २३, २०८१

कोशीका मुख्यमन्त्रीलाई मिल्ला ‘असाधारण’ विश्वासको मत ?

२०७९ पुस २६ मा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदाकै स्थिती कोशीमा देखिन थालेको छ

मेरोन्यूज २०८० असोज ३० गते १४:४३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । झण्डै- झण्डै मध्यावधीतिर धकेलिन खोजेको प्रदेशसभा जोगाउने जिम्मेवारी अब उनकै काँधमा छ । कारण हो – उनी संविधानको धारा १६८ (५) अनुसार अहिले प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

Advertisement

यो भन्दा अब अर्काे धाराबाट फेरि कोशीमा सरकार बन्ने बाटो छैन । अन्तिम विकल्पमा उनी संविधानको उक्त धारा अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले प्रदेशसभाबाट अब विश्वासको मत पाउन नसक्दाको दिन उनकै नेतृत्वमा प्रदेश सभा मध्यावधी चुनावमा धकेलिन्छ । सोहीकारण पनि अहिलेको प्रदेशसभा जोगाउने/नजोगाउने उनकै हातमा छ ।

यस अगाडीका मुख्यमन्त्रीहरु एमालेका हिक्मत कार्की र कांग्रेसका उद्दव थापाले प्रदेश सभामा विश्वासको मत जुटाउन खेलेको ‘गोटीचाल’ले केदारलाई पनि त्यही ठाँउमा ल्याईपु¥याएको छ । तर उनले बुधबार प्रदेश सभामा विश्वासको मत लिईरहादा संसदको अंकगणित भने फरक देखिन खोजेको छ ।

अर्थात, हिक्मत र उद्दबलाई ४७ सांसदको समर्थन जुटाउन परेको मुश्किल केदारका लागि भने तत्काल टरेको छ । उनी सहज बुहमत ल्याउन सक्ने पोजिसनमा मात्रै छैनन, उनका लागि २०७९ पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्राप्त गरेको जस्तै असाधारण बहुमत प्राप्त भएजस्तै वातावरण निर्माण हुन थालेको छ । भलैं, त्यो वातावरण केन्द्रमा प्रधानमन्त्री प्रचण्डको जस्तै कति दिन कायम रहन्छ ? त्यो भने अहिले नै निक्यौल गर्न असजिलो हुने देखिएको छ ।

मुख्यमन्त्री कार्कीले भोलि बुधबार प्रदेश सभामा विश्वासको मत लिँदै गर्दा प्रदेश सभाको ठूलो दल एमाले देखि कांग्रेस, माओवादीसम्मका राजनीतिक दलहरु उनलाई विश्वासको मत दिने पक्षमा उभिने देखिएको छ ।

यो भनेको प्रचण्डले गत पुस २६ मा संसदमा विश्वासको मत लिँदा पा्रपत भए जस्तै अवसर हो । प्रचण्डले त्यसबेला प्रतिनिधिसभामा विश्वासको मत लिादै गर्दा संसदको असाधारण बहुमत पाएका थिए । उनले त्यसवेला ९९.२५ प्रतिशत मतसहित संसदमा विश्वासको मत पाएका थिए । प्रतिनिधिसभाका २७५ सांसदमध्ये प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा २७० सांसद उपस्थित थिए । जसमध्ये प्रधानमन्त्री प्रचण्डले २६८ मत पाएका थिए । उनीमाथि विश्वास नभएको भन्दै विश्वासको मत नदिनेमा जम्मा २ सांसद मात्र देखिएका थिए । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका संसद क्रमशः प्रेम सुवाल र चित्रबहादुर केसी । अन्य एमाले, कांग्रेस सबैले प्रचण्डलाई त्यसबेला विश्वासको मत दिएका थिए ।

परिदृश्य करिव त्यस्तै त्यस्तै कोशीमा देखिएको छ । प्रचण्ड त्यसबेला चुनावमा कांग्रेस, एकीकृत समाजवादीसहितको गठबन्धनमा थिए । तर प्रधानमन्त्री बन्ने बेला एमालेको साथ लिएर बने । अनि विश्वासको मत लिनेबेला उनलाई एमालेले मात्र होइन, आफैले छोडेको गठबन्धनबाट कांग्रेस, एकीकृत समाजवादी सबै सबै दलले मत दिए । ठीक त्यही शैलीमा कांग्रेसका केदार कार्की अहिले कांग्रेसभित्रकै विद्रोहीहरुको दरिलो आडमा एमाले सांसदहरुको साथ लिएर कोशी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

आफ्नै पार्टीका नेता मुख्यमन्त्री बन्दा कांग्रेसले विश्वासको मत नदिने कुरै भएन । उनलाइ कांग्रेसले विश्वासको मत दिने नै छ । त्यसमा आफैले सहयोग गरेर बनाएको र आफना नेतापनि कोशी प्रदेश सरकारमा सहभागी गराएको एमालेले कार्कीलाई साथ दिने नै छ ।

केन्द्रीय सत्ता गठबन्धनका माओवादी, एकीकृत समाजवादी देखि जसपासम्मले पनि कार्कीलाई विश्वासको मत दिने नै देखिएको छ । कोशीको ९३ सदस्यीय प्रदेश सभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका उनीसहित २९, माओवादी केन्द्रका १३, राप्रपा ६, नेकपा एकिकृत समाजवादी ४ र जसपाका १ सांसद छन् ।

विश्वासको मतका लागि ४७ सांसद आवश्यक पर्छ । तर कांग्रेसका केदारले राप्रपा (अनिर्णित) बाहेक सवैजसो सांसदको मत पाउने नै देखिएको छ । राप्रपाले भने कांग्रेस, एमाले देखि माओवादीसम्म कार्कीलाई मत दिने पक्षमा उभिए विपक्षीमा बस्न विश्वासको मत नदिने सम्भाबना अधिक छ ।
त्यसो हुँदा पनि कार्कीले प्रदेश सभामा प्रचण्डले गत पुस २६ मा प्रतिनिधिसभामा जस्तै विश्वासको मत पाउने सम्भावना अधिक देखिएको छ । कार्कीले एमालेलाई समेत सरकारमा सहभागी बनाएपछि कांग्रेसको सस्थापन पक्ष केही सशंकित देखिएको त छ । तर पनि पहिलो चरणमा कार्की नेतृत्वको सरकार सुरक्षित गर्ने र दोस्रो चरणमा एमालेलाई सरकारबाहिर गर्ने रणनीतिमा लाग्ने योजनामा कांग्रेस देखिएको छ ।

प्रचण्डलाई गत पुस २६ मा विश्वासको मत दिदा पनि कांग्रेसले त्यही रणनीति अबलम्बन गरेको थियो । सोहीअनुसार कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएर सरकारलाई गठबन्धनको अपनत्व दिने गरी कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसम्मले पार्टीमा छलफल थालेका छन् ।


प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले एमालेले गठबन्धन टुटाउन कोशीमा एकपछि अर्को चलखेल गरेको आरोप लगाएका छन् । धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले कोशीमा विश्वासको मतअघि कांग्रेसबाट एक मात्र मन्त्री बनाउने सहमति बनेको, तर एमाले सरकारमा सहभागी भएर गठबन्धन टुटाउने चलखेल गरेको दाबी गरेका थिए ।


‘कोशीमा हाम्रो एउटा र एमाले र असन्तुष्ट कांग्रेसका विद्रोही समूहको गठबन्धन बन्यो । के गरी हल गर्ने भनेर धेरै मिहिनेत गरियो । अन्ततः शेरबहादुरजी, शेखरजी र म बसेर गठबन्धनबारे दृढ रहने र टुट्न नदिने भनेर कमिटमेन्टमा हस्ताक्षर गर्‍यौँ । यति भएपछि ढुक्क भयो, एमालेले गरेको चलखेल त्यहीँ रोकियो भनेको त, फेरि अर्को चलखेल भयो,’ प्रचण्डले भने, ‘हामीले विश्वासको मतअघि कांग्रेस मात्रको एकजना मन्त्री बनाउने भनेका थियौँ, फेरि एमालेले मन्त्री छिराइहाल्यो । हामी फेरि त्यसलाई करेक्सन गर्दै छौँ । करेक्सन त हुन्छ । पाँच वर्ष यही गठबन्धन जान्छ, कसैले हल्लाउन सक्दैन । जतिचोटि प्रयास गरे त्यतिचोटि आफैँ फसेका छन् । अहिले पनि एमालेले जित्ने मैले देखेको छैन, कांग्रेस र गठबन्धनले पनि त्यो देखेको छैन ।’

प्रतिक्रिया