आइतबार, वैशाख २३, २०८१

क्यानडा-भारत द्वन्द्व : कस्तो छ जस्टिन ट्रुडो र मोदीको सम्बन्ध ?

मेरोन्यूज २०८० असोज २ गते १५:१४

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको बताएपछि यी दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ ।

Advertisement

सोहि आरोपमा क्यानडा सरकारले भारतीय कुटनीतिज्ञ पवनकुमारलाई निष्काशन समेत गरेको छ ।

यसको २४ घण्टा नबित्दै भारतले पनि क्यानाडाली उच्चायोगका वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गर्ने भएको छ । भारतले एक क्यानडेली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन समेत दिएको छ ।

क्यानडाको संसदमा ट्रुडोले भनेका थिए, ‘हाम्रो देशको भूमिमा क्यानाडाली नागरिकको हत्याको पछाडि विदेशी सरकारको हात हुनु अस्वीकार्य छ र यो हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो।

क्यानाडाको आरोप अस्वीकार गर्दै भारतको विदेश मन्त्रालयले भनेको छ, ‘सम्बन्धित कूटनीतिज्ञलाई आगामी पाँच दिनभित्र भारत छोड्न भनिएको छ।’ यो निर्णयले हाम्रो आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नताप्रति भारत सरकारको बढ्दो चिन्तालाई झल्काउँछ।’

यसै वर्षको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो ।

भारत सरकारले निज्जरलाई आतंकवादी र पृथकतावादी संगठनको प्रमुख भन्दै आएको छ । निज्जरका समर्थकहरूले यी आरोपहरूलाई अस्वीकार गर्छन्।

भारत र क्यानडाबीचको सम्बन्धमा तनाव आएको यो पहिलो पटक भने होइन ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी

मोदी र ट्रुडोको सत्तामा आउनु
जस्टिन ट्रुडो र प्रधानमन्त्री मोदीबीच दूरी आउनु यो पहिलो घटना होइन। दुई राष्ट्र प्रमुखबीचको सम्बन्ध कहिल्यै राम्रो नभएको बताइन्छ ।

मोदी पहिलो पटक मे २०१४ मा भारतको प्रधानमन्त्री बने र जस्टिन ट्रुडो अक्टोबर २०१५ मा पहिलो पटक क्यानडाको प्रधानमन्त्री बनेका थिए।

२०१९ मा मोदी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए भने अक्टोबर २०१९ मा ट्रुडो पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।

ट्रुडोको लिबरल पार्टीले आफूलाई उदार लोकतान्त्रिक बताउँछ भने प्रधानमन्त्री मोदीको भाजपाले हिन्दुत्व र दक्षिणपन्थी राष्ट्रवादीको रूपमा चिनाउँछ।

प्रधानमन्त्री बनेपछि मोदीले अप्रिल २०१५ मा क्यानडाको दुई दिने भ्रमण गरेका थिए । त्यतिबेला क्यानडाका प्रधानमन्त्री कन्जरभेटिभ पार्टीका स्टेफन हार्पर थिए ।

सन् २०१० मा भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह जी–२० शिखर सम्मेलनमा सहभागी हुन क्यानडा गएका थिए । शिखर सम्मेलन बाहेक भारतीय प्रधानमन्त्रीको क्यानडा भ्रमण ४२ वर्षपछि मात्रै भएको थियो, जब मोदीले २०१५ मा त्यहाँ भ्रमण गरेका थिए।

जस्टिन ट्रुडो प्रधानमन्त्री भएपछि मोदीले क्यानडा भ्रमण गरेका छैनन् ।

जी-२० सम्मेलनमा क्यानडा-भारत बीच दूरी

दुई देशबीचको पछिल्लो विवाद जी–२० सम्मेलनका क्रममा सुरु भएको थियो ।

जी-२० सम्मेलन सेप्टेम्बर ९-१० मा दिल्लीमा भएको थियो। यस सम्मेलनमा भाग लिन जस्टिन ट्रुडो पनि भारत आएका थिए ।

सम्मेलनको क्रममा आधिकारिक अभिवादनका क्रममा ट्रुडोले नरेन्द्र मोदीसँग हात मिलाउँदै तुरुन्तै त्यहाँबाट हिडेका थिए ।

यो तस्बिरलाई दुई देशबीचको सम्बन्धको ‘तनाव’को रूपमा हेरिएको थियो।

ट्रुडो र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय वार्ता पनि भएको थियो । यो बैठक पनि राम्रो नभएको विज्ञहरुले बताएका छन् ।

भारतीय प्रधानमन्त्री क्यानडामा सिख पृथकतावादीको ‘आन्दोलन’ र भारतीय कूटनीतिज्ञमाथि हिंसा भड्काउने घटनाहरुलाई लिएर रुस्ट थिए । जब कि भारतले क्यानडाको घरेलु राजनीतिमा हस्तक्षेप गरिरहेको क्यानडा प्रधानमन्त्री ट्रुडोको भनाइ थियो ।

वार्तापछि भारत सरकारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जी–२० को बैठकमा नरेन्द्र मोदीले जस्टिन ट्रुडोलाई दुई देशबीचको सम्बन्धमा प्रगतिका लागि ‘आपसी सम्मान र विश्वास’ आवश्यक रहेको बताए । सिख आन्दोलनले अलगाववादलाई बढावा दिन्छ र भारतीय कूटनीतिज्ञहरू विरुद्ध हिंसा भड्काउँछ।

बैठकमा मोदीले क्यानडामा पृथकतावादी गतिविधि रोक्न कुनै कदम उठाउन भनेका थिए भने ट्रुडोले भारतलाई क्यानडाको घरेलु राजनीतिमा हस्तक्षेप नगर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ट्रुडोले क्यानडाको संसदमा निज्जरको हत्याको मुद्दा दिल्लीमा उच्च तहमा उठाइएको बताएका थिए ।

सम्मेलन सकिएपछि उनी तुरुन्तै क्यानाडा जान सकेका थिएनन्। उनको विमानमा खराबी आएको थियो र उनी साेहि दिन अबेरमा स्वदेश फर्किएका थिए।

हिन्दुस्तान टाइम्सको एक रिपोर्टका अनुसार यस समयमा भारतले उनलाई ‘एयर इण्डिया वन’ को सेवा प्रदान गरेको थियो तर उनले आफ्नो विमान मर्मतको लागि पर्खने बताएका थिए।

समाचार एजेन्सी एएनआईमा प्रकाशित एक रिपोर्टले पनि क्यानडाले भारतको प्रस्ताव अस्वीकार गरेको र क्यानडाका प्रधानमन्त्रीले पर्खन रोजेको बताएको छ।

ट्रुडो स्वदेश फर्केपछि सेप्टेम्बर १५ मा क्यानडाले भारतसँगको द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौताको वार्ता रोकेको थियो।

जस्टिन ट्रुडो २०१८ को भ्रमणमा परिवारसँग ताजमहलमा

ट्रुडोको यसअघिकाे भ्रमण पनि विवादित
सन् २०१८ मा मोदी प्रधानमन्त्री हुँदा ट्रुडोले पहिलो पटक भारत भ्रमण गर्दा निकै विवाद भएको थियो ।

यसबेला उनी सात दिने भ्रमणमा भारत आएका थिए। यस भ्रमणबारे विदेशी मिडियाले ट्रुडोको स्वागतमा भारतले उदासीनता देखाएको बताएका थिए ।

मिडियाले सिख पृथकतावादीहरूप्रति क्यानडाको सहानुभूतिका कारण भारतले यस्तो गरेको बताएका थिए।

त्यसबेला पनि ट्रुडोको भ्रमणसँग सम्बन्धित तस्विरहरु सार्वजनिक भएका थिए ।

तस्विरहरूमार्फत प्रधानमन्त्री मोदी तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेता न्याहु र युएईका युवराज जस्टिन ट्रुडोलाई स्वागत गर्नका लागि दिल्ली विमानस्थल गएको र ट्रुडोलाई स्वागत गर्न जुनियर मन्त्री पठाइएको बुझाउन खोजिएको थियो ।

क्यानडाका प्रधानमन्त्री ताजमहल हेर्न गएका बेला उनी पनि गुमनाम नै रहे ।

यसलाई इजरायली प्रधानमन्त्री नेतन्याहुको ताज भ्रमणसँग तुलना गरिएको थियो, जसको स्वागतमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पुगेका थिए।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ताजमहल हेर्न गएका बेला पनि योगी उनको स्वागत गर्न पुगेका थिए ।

जस्टिन ट्रुडो २०१८ को भारत भ्रमणकाे क्रममा अमृतसरको गोल्डेन टेम्पलमा आफ्नो परिवारसँग

ट्रुडो क्याबिनेटमा सिख
२०१८ मा, प्रधानमन्त्री ट्रुडोको क्याबिनेटमा तीन सिख मन्त्रीहरू थिए। यी मन्त्रीहरूमा रक्षामन्त्री हरजीत सज्जन पनि थिए। सज्जन अझै पनि ट्रुडोको मन्त्रिपरिषद्मा छन् र उनले पनि क्यानडाका प्रधानमन्त्रीको भनाइलाई समर्थन गर्दै त्यहाँ भारतलगायत कुनै पनि देशको हस्तक्षेप नसहने बताएका छन् ।

हरजीत सज्जनका पिता विश्व सिख संगठनका सदस्य थिए। सन् २०१७ मा पञ्जाबका तत्कालीन मुख्यमन्त्री अमरिंदर सिंहले सज्जनलाई खालिस्तान समर्थक भनेका थिए।

तर, सज्जनले सिंहको दाबीलाई बकवास भनेका छन् ।

ओन्टारियो विधानसभाले सन् १९८४ मा भारतमा भएको सिख विरोधी दंगाको निन्दामा एक प्रस्ताव पारित गर्दा पनि भारतलाई मन परेको थिएन ।

क्यानडामा खालिस्तान समर्थकहरूको योजना स्वतन्त्र पञ्जाबको लागि एक जनमत संग्रह गर्ने रहेको छ ।

इन्डो-क्यानडा संयुक्त फोरमका उपाध्यक्ष फैजान मुस्तफाले २०१८ मा ट्रूडोको भ्रमणमा मोदी सरकारको अडानबारे बीबीसीलाई भनेका थिए, ‘सामान्यतया कुनै राष्ट्र प्रमुख आउँदा उसले पहिले द्विपक्षीय वार्ता गर्छ। त्यस्पछि उसले व्यक्तिगत वा पारिवारिक यात्रालाई प्राथमिकता दिन्छ। मेरो विचार जस्टिन ट्रुडो वा उनको विदेश मन्त्रालयले जानाजानी पारिवारिक भ्रमणलाई पहिलो र औपचारिक वार्ता पछि राखेको हो।’

२०१४ मा जगमीत सिंहसँग जस्टिन ट्रुडो

ट्रुडोलाई सिखहरूकाे समर्थन
जस्टिन ट्रुडो २०१९ को चुनावमा बहुमतबाट चुकेका थिए ।

उनलाई फेरि प्रधानमन्त्री बन्नको लागि समर्थन चाहिएको थियो र उनले जगमीत सिंहतर्फ हेरेका थिए।

सिंहको नेतृत्वमा रहेको न्यू डेमोक्रेटिक पार्टीले २४ सिट पाएको थियो । उनको पार्टीको भोट १५.९ प्रतिशत थियो।

वाशिंगटन पोस्टको रिपोर्टका अनुसार उनी पार्टीको नेता बन्नुअघि खालिस्तानको र्‍यालीमा सहभागी हुने गर्थे।

यो चुनाव लिबरल पार्टीका लागि निकै कठिन थियो । सिखहरूप्रति उनको उदारताका कारण क्यानडाका प्रधानमन्त्रीलाई ठट्टामा जस्टिन ‘सिंह’ ट्रुडो पनि भनिने गरिन्छ।

सन् २०१५ मा जस्टिन ट्रुडोले भनेका थिए कि उनले आफ्नो मन्त्रिपरिषद्मा जति सिखहरूलाई स्थान दिएका छन्, त्यति स्थान भारतको क्याबिनेट मै नरहेको बताएका थिए ।

क्यानडामा भारतीयहरूको प्रभावको अनुमान यस तथ्यबाट पनि गर्न सकिन्छ कि सन् २०१५ मा त्यहाँको हाउस अफ कमन्समा भारतीय मूलका १९ जना निर्वाचित भएका थिए। जसमध्ये १७ जना ट्रुडोको लिबरल पार्टीका थिए।

१९७४ मा क्यानडामा सिखहरूको प्रदर्शन

सिखहरू कहिले र कसरी पुगे क्यानडा ?
१८९७ मा, महारानी भिक्टोरियाले ब्रिटिश भारतीय सैनिकहरूको एक दललाई ‘डायमण्ड जुबली सेलिब्रेशन’मा सामेल हुन लन्डन आमन्त्रण थिइन्।

तब घोडचढी सैनिकहरूको एउटा समूह भारतकी रानीसँग ब्रिटिश कोलम्बियाको बाटो लागेकाे थियाे। यीनै सैनिकहरूमध्ये एक रिसालदार मेजर केसर सिंह थिए। रिसालदार क्यानडा सर्ने पहिलो सिख थिए।

सिंहसँगै अरु केही सैनिक क्यानडामै बस्ने निर्णय गरेका थिए । उनीहरुले ब्रिटिश कोलम्बियालाई आफ्नो घर बनाए। बाँकी सैनिकहरू भारत फर्किएका थिए ।

भारत फर्किएपछि उनीहरुले बेलायती सरकारले आफुहरुलाई बसाउन चाहेको बताए । सिखहरूको भारतबाट क्यानडा जाने प्रक्रिया यहीँबाट सुरु भएको थियो ।

त्यसपछि केही वर्षभित्रै ५ हजार भारतीय ब्रिटिश कोलम्बिया पुगे, जसमध्ये ९० प्रतिशत सिख थिए।

यद्यपि, सिखहरूका लागि क्यानडामा बसोबास गर्न त्यति सहज भएन। क्यानाडाका गोरा मानिसहरूलाई उनीहरूको आगमन र रोजगारी गरेको मन परेन। र भारतविरुद्ध आन्दोलन सुरु भयो ।

क्यानडाको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री विलियम म्याकेन्जीले पनि ठट्टा गर्दै भनेका थिए, ‘हिन्दूहरूले यो देशको वातावरण मन पराउँदैनन्।’

निज्जरको हत्यापछि क्यानडामा भएको विरोध प्रदर्शन

भारतीयहरूलाई क्यानडा आउन लगाइएको प्रतिबन्ध

१९०७ सम्ममा भारतीयहरू विरुद्ध नस्ली हमला सुरु भइसकेका थिए। त्यसको केही वर्षपछि नै भारतबाट आउने आप्रवासीलाई प्रतिबन्ध लगाउने कानुन बन्याे ।

पहिलो नियम क्यानाडा आउँदा भारतीयहरूसँग ४ सय डलर हुनुपर्ने बनाइएको थियो। यद्यपि, युरोपेलीहरूका लागि यो रकम २५ डलर मात्र थियो।

तर त्यतिन्जेल भारतीयहरू त्यहाँ बसिसकेका थिए। तीमध्ये अधिकांश सिख थिए । सबै कठिनाइका बाबजुद पनि उनी आफ्नो सपना त्याग्न तयार थिएनन् । उनले आफ्नो कडा मेहनत र समर्पणबाट क्यानडामा आफूलाई प्रमाणित गरे। सिखहरूले बलियो सामुदायिक संस्कृति सिर्जना गरे। कयौँ गुरुद्वारा पनि बनाए।

सिखहरूलाई पनि क्यानडाबाट जबरजस्ती भारत पठाइयो। कोमागाटा मारु, सिख, हिन्दू र मुस्लिमहरूले भरिएको जहाज, ज्ञढज्ञद्ध मा कोलकाताको बज बज घाटमा पुगेको थियो। तीमध्ये कम्तीमा १९ जनाको मृत्यु भएको थियो।

भारतीयहरूले भरिएको यो जहाजलाई क्यानडा प्रवेश गर्न दिइएन।

जहाजमा रहेका भारतीयलाई लिएर दुई महिनासम्म विवाद भएकाे थियो। यसका लागि प्रधानमन्त्री ट्रुडोले २०१६ मा हाउस अफ कमन्समा माफी समेत मागेका थिए ।

सन् १९६० मा क्यानडामा लिबरल पार्टीले सरकार गठन गर्दा सिखहरूका लागि पनि ऐतिहासिक साबित भयो।

क्यानाडाको संघीय सरकारले प्रवासी नियमहरू परिवर्तन गर्‍यो र विविधतालाई स्वीकार गर्ने ढोका खोल्यो। यसपछि भारतका कयाैं क्षेत्रका मानिसहरू क्यानडा आउन थाले। र आज पनि भातीयहरू क्यानडा जाने क्रम जारी छ ।

आज संघीय पार्टी एनडीपीको नेतृत्व भारतीय-क्यानेडियनहरूको हातमा छ। क्यानडामा पंजाबी तेस्रो सबैभन्दा लोकप्रिय भाषा हो। क्यानडाको कुल जनसंख्यामध्ये १.३ प्रतिशतले पञ्जाबी बुझ्छन् र बोल्छन्।

क्यानडामा भारतीय मूलका १४ देखि १८ लाख मानिस बस्छन्।

यहाँ पञ्जाब बाहेक सिख सबैभन्दा धेरै छन्।

-बीबीसीबाट

प्रतिक्रिया