आइतबार, वैशाख २३, २०८१

आफ्नै प्रचार गर्न कसले रोक्छ माओवादीलाई ?

प्रचार नीति बनाउँछन्, आफै कार्यान्वयन गदैनन्

मेरोन्यूज २०८० भदौ १९ गते १९:४०

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) अहिले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ मा छ । देशभरका ६ हजार ७४३ वडामा एकैसाथ उसले भदौं १६ देखि यो अभियान शुरु गरेको छ ।

Advertisement

अभियानका क्रममा प्रचार प्रसारलाई विशेष महत्व दिने र पार्टीलाई जनतातिरै फर्काउने माओवादीको योजना छ । अझ उसले छिमेकी मुलुक भारतीय जनता पार्टी (भाजपा)कै शैलीमा आक्रामक प्रचार शैली बनाउन निर्देशन नेता – कार्यकर्तालाई गरेको छ ।

पछिल्लो केन्द्रीय समिति बैठकबाट आइसीटी फोरम नामक कान्छो जनवर्गीय संगठन नै बनाएर पार्टीको प्रचार नीति र प्रचार अभियानलाई तीव्र बनाउने, नेता देखि कार्यकर्तासम्मले प्रविधिको अधिकतम प्रयोग गर्ने नीति बनाएको छ ।

तर माओवादी शीर्ष नेताहरु नै आफैले बनाएको प्रचार नीतिलाई कार्यान्वयन गदैनन् ।
माओवादीका अहिले केन्द्रीय समितिमा २२ जना पदाधिकारी छन् । जसम्ध्ये अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पनि छन् । बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) उपप्रधान तथा गृहमन्त्री, उपमहासचिव हरिबोल गजुरेल प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार र अर्का उपमहासचिव शक्ति बहादुर बस्नेत उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री छन् । एक जना सचिव हितराज पाण्डे प्रतिनिधिसभामा दलको प्रमुख सचेतकको जिम्मेवारीमा छन् ।

त्यसबाहेकका अन्य नेताहरु पार्टी जिम्मेवारीमा नै छन् । उनीहरुलाई माओवादीले कँही न कही जिम्मेवारी तोकेर पार्टी काममा खटाएको छ । तर गत भदौं १६ देखि पार्टीले सुरु गरेको तीन महिने अभियानको माओवादी पदाधिकारीमध्ये नै बहुसंख्यक पदाधिकारीले पार्टी अभियानको कुनै पनि पोष्ट आफ्नो सामाजिक सन्जालमा हाल्ने, सेयर गर्ने गरेका छैनन ।

२२ पदाधिकारीमा ८ जना मात्रै प्रचारक
माओवादीका २२ जना पदाधिकारीमध्ये ८ जना पदाधिकारीले मात्रै कुनै न कुनै रुपमा आफुले प्रयोग गर्ने गरेको सामाजिक सन्जालमा पार्टी अभियान र त्यससँग सम्वन्धित गतिविधिहरु पोष्ट गर्ने, सेयर गर्ने काम गरेका छन् । बाँकी १४ जना पदाधिकारी पार्टी अभियानलाई सामाजिक सन्जालमा जोडने मामलामा निक्कै पछाडी छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, बरिष्ठ उपाध्यक्ष तथा उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव गिरिराजमणि पोखरेल, जर्नादन शर्मा, सचिवहरु दिनानाथ शर्मा, हितमान शाक्य र देबेन्द्र पौडेलले अभियानका क्रममा आफु पुगेका र अभियानका क्रममा गरेका कामहरुको कुनै न कुनै रुपमा सामाजिक सन्जालमार्फत प्रचार गरेका छन् । तर अन्य नेताहरु कसैले पनि सामाजिक सन्जालमा केही पोष्ट र सेयर गरेका छैनन ।

केही नेताहरुले भने आफुले सामाजिक सन्जालमा पोष्ट नगरेपनि उनीहरुलाई अन्य नेता- कार्यकर्ताले ट्याग गदै गरेको पोष्ट भने आफनो प्रोफाइलबाट हेर्न मिल्ने भने बनाइएको छ ।

सामाजिक सन्जालमा कुन नेता कस्ता ?
अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको सामाजिक सन्जालमा पार्टी केन्द्रीय कार्यालयमा आफैले उदघाटन गरेको तीन महिने अभियानको भिडियो पोष्ट छ । साथै उनी त्यही दिन दिउँसो काठमाडौंको चन्द्रागिरी नगरपालिका- २ मा पार्टीले आयोजना गरेको अभियान उदघाटनमा पनि सहभागी भएको र त्यहाँ सम्बोधन गरेका भिडिओ प्रचण्डको सामाजिक सन्जालमा पोष्ट छन् ।

बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ललितपुर महानगरपालिका- २८ हरिसिद्धिमा अभियानमा सहभागी भएको र बाँडेगाउका कार्यक्रमहरु पोष्ट भएका छन् । तर त्यसपछिको वरियतामा रहेका अन्य दुई उपाध्यक्ष कृष्णबहादुर महरा र प्रचार विभाग प्रमुख समेत रहेका प्रबक्ता अग्नि सापकोटाको भने सामाजिक सन्जालमा कुनै सामाग्री पोष्ट भएका छैनन ।
महरा आफै अहिले भेपमा लुकाइएको ९ किलो सुन प्रकरणमा नाम मुछिएको र छोरा राहुल महरा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका कारण पनि महरा पार्टी अभियानको प्रचारमा छैनन । यधपी उनी आफु रोल्पाको सनुछहारी गाउपालिकाको पार्टी अभियान कार्यक्रममा जोडिएका थिए । प्रचारमा भने उनी कच्चा देखिएका छन् ।

उपाध्यक्ष सापकोटा सिन्धुपाल्चोकका कार्यक्रममा जोडिएका छन् । तर उनले पनि प्रचारलाई महत्व दिएको देखिएको छैन । उपाध्यक्ष पम्फा भुसाल भने दिनहुुँ आफु पुगेको कार्यक्रमका बारेमा सामाजिक सन्जालमा जोडिइरहेकी छिन् । उनले ललितपुर वुङमतिमा कोदालो खनिरहेको देखि सरसफाई र गोदावरी नगरपालिकाको पालिकास्तरसम्मका बैठकमा सहभागी भएसम्मका तस्विर र स्टाटसहरु सामाजिक सन्जालमा पोष्ट गरेकी छिन् ।

उपाध्यक्ष महरा र सापकोटा जस्तै देखिएका छन्, माओवादी केन्द्रका महासचिव देव गुरुङपनि । उनको सामाजिक सन्जालमा पार्टीका कुनै अभियानका केही पोष्ट छैनन । उपमहासचिव गिरिराजमणि पोखरेलको पोष्टमा काठमाडौं गोकर्णेश्वर नगरपालिका- ४ मा सहिद सम्मान देखि लाइबेरी उद्घाटन, नगरपालिकाको उत्तरबाहिनी मन्दिर छेउमा वृक्षारोपणसम्मका काममा सहभागी भएको लगायतको जानकारी सहितको सामाग्री छ ।

वर्षमान पुन अनन्तकोमा केही पनि छैन । अर्का उपमहासचिब हरिवोल गजुरेलकोमा पनि केही छैन । यधपी उनकोमा अरु नेता कार्यकर्ताले अयिभानसँग जोडेर ट्याग गरेका सामाग्रीहरु भने हेर्न मिल्ने बनाइएको छ । जर्नादन शर्माले भने प्रचारमा पनि आफुलाई पोक्त बनाईरहेका छन् । उनी चन्दागिरि नगरपालिका- २ देखि गोदावरी ललितपुरसम्मका कार्यक्रम सरसफाई, बैठकसम्ममा सहभागी भएका छन् । उनले उक्त कुरा सामाजिक सन्जालमार्फत पनि प्रचारमा लगेका छन् ।

शक्ति बस्नेत, मात्रिका यादवको पनि सामाजिक सन्जालमा कुनै पोष्ट छैन। तर सचिव दिनानाथ शर्माको भने पोष्टमा बाग्लुङमा अभियानमा जोडिएका पोष्टहरु छन् । उनले डोको बुन्न नर्बिसिएको देखि समुहमा भेटघाट गरेको सम्मका फोटो पोष्ट गरेका छन् । चक्रपाणि खनाल बलदेवले आफैले केही पोष्ट गरेका छैनन । तर उनलाई गरिएको ट्याग हेर्न मिल्ने अवस्थामा उनको सामाजिक सन्जाल छ । देवेन्द्र पौडेलले भने अभियानका केही गतिविधि पोष्ट गरेका छन् । लिलामणि पोखरेल, हितराज पाण्डे, डिलाराम आचार्य र श्रीराम ढकाल प्रशान्तका सामाजिक सन्जालमा केही पनि देखिदैन । तर सचिव हितमान शाक्यको सामाजिक सन्जालमा भने उनी रुकुम पूर्व पुगेर अयिभानको उद्घाटनमा सहभागी भएको देखि त्यहाबाट फर्किदा बाग्लुङमा स्थानीय नेता- कार्यकर्तासँग गरेको भेटघाटसम्मका कार्यक्रम पोष्ट भएका छन् ।

माओवादीले प्रचारलाई मुख्य प्राथमिकतामा राखेर अभियान तीन चरणमा सञ्चालन गर्ने योजना बनाएको छ । जसमा प्रचारलाई निक्कै महत्व दिइएको छ । अभियानको पहिलो चरणमा तहगत बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण, संगठन विस्तार, कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल तथा कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण गरिने, दोस्रो चरणमा पार्टीमा पाँच घण्टे अन्तरपार्टी स्कुलिङ, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला जस्ता कार्यक्रम गर्ने कार्ययोजना छ ।

तेस्रो चरणमा भने जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालन कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम गर्ने तयारी छ ।

प्रतिक्रिया