शुक्रबार, वैशाख २१, २०८१

सामाजिक न्यायसहितको वैज्ञानिक समाजवाद

- अग्नि सापकोटा, प्रवक्ता नेकपा (माओवादी केन्द्र) २०८० भदौ १६ गते ८:०७

हाम्रो नेतृत्वमा बनेको संविधानमा लोकतन्त्रका सबै आयामलाई समेटिएको छ । नेपाली मौलिकता र विशेषतालाई ध्यान दिइएको छ । लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्धता व्यक्त गरिएको छ । त्यसैगरी लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन्ने कुरा संविधानमा स्पष्टसँग उल्लेख गरिएको छ । यो हाम्रो निकै ठूलो दुरगामी महत्वको सफलता हो । यसलाई हामीले सामाजिक न्याय सहितको समाजवादका रुपमा व्याख्या र विश्लेषण गरेर कार्यान्वयन गर्न सुरु गर्नु पर्दछ । समाजवाद कसरी निर्माण गर्ने, यसलाई कसरी खँदिलो बनाउने र विकास गर्ने भन्ने जस्ता विभिन्न आधारभूत प्रश्नहरुको स्पष्ट र क्रमिक जवाफ दिनु पर्दछ । हाम्रा जवाफहरुले माक्र्सवादमा नयाँ दृष्टिकोणको प्रादुर्भाव, नयाँ पद्दतिको सुरुवात र समाजवादको बुझाईलाई नयाँ वैज्ञानिक स्तरमा उठाउने छ । 

माक्र्सवाद स्थिर छैन । यो समाजको गति, हाम्रो अभ्यासको प्रगति र विज्ञानको विकाससँगै अगाडि बढ्ने हो । सामाजिक न्याय सहितको समाजवादको विकास गर्नु हाम्रो ठूलो उद्देश्य हो । हामी विकासगत दृष्टिकोणले समाजवादमा आवद्ध रहनु पर्दछ । समाजवादको अन्तरनिहित आवश्यकता भनेको निष्पक्षता र न्याय हुन् । हामीले जनतामा संयोजित कार्यहरुमा भर पर्दै आर्थिक र सामाजिक विकासको आधारमा समाजिक निष्पक्षता एवं न्याय निश्चित गर्न आवश्यक संस्थाहरु विकास गर्नु पर्दछ । समाजका विभिन्न विषयहरु मध्ये समान अधिकारहरु, समान अवसरहरु र सबैका लागि स्वच्छ नियमहरु भएको अवस्था सुनिश्चित गर्नु पर्दछ । स्वच्छ सामाजिक वातावरण बढाउन र शासन व्यवस्था र विकासमा जनताको सहभागिताको समान अधिकार सुनिश्चित गर्नु पर्दछ । 

“नेपालमा समाजवादको स्थापना हाम्रो रणनीतिक लक्ष्य एवं कार्यभार हो । हाम्रा सबै नीति, कार्यक्रम र आचरण २१ औं शताब्दी अनुरुपको समाजवादी नेपाल निर्माण गर्नमा नै अभिमुख हुनेछ । समाजवाद उन्मुख सम्बृद्धि हासिल गर्नुलाई तत्कालको मूल कार्यभार बनाउदै समाजवादको आधार तयार पार्दै अन्ततः समाजवादको लक्ष्य पुरा गरिने छ ।”

वर्तमान संविधानले समाजवादको लक्ष्य निर्धारण गरेपनि त्यसको स्पष्ट व्याख्या गरेको छैन । हाम्रो पार्टी नेकपा(माओवादी केन्द्र) वैज्ञानिक समाजवादको मूल मान्यतामा आधारित समाजवाद निर्माणको पक्षमा छ । अन्य देशहरुमा अभ्यास गरिएका समाजवादको यान्त्रिक अनुकरण गरिने छैन वरु त्यसबाट शिक्षा लिदै नयाँ मोडेलको समाजवादको विकास गरिने छ । समाजवादलाई श्रमजीवी वर्ग र सिङ्गो मानव जातिको मुक्तिमा केन्द्रित राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिकसहित समग्र प्रणालीको आत्मसात गरिने छ । मानवमाथि हुने सबै प्रकारका भेदभाव तथा उत्पीडनको अन्त्य, व्यक्ति तथा मानव समाजको सर्वत्तोमुखि विकास एवं पूर्ण स्वतन्त्रता र प्रकृति एवं पर्यावरणको रक्षा, सन्तुलन हाम्रो समाजवादको मूल अन्तर्य हुनेछ । २१ औं शताब्दी अनुरुप नेपाली विशिष्टतामा आधारित नेपाली मोडेलको समाजवाद लोकतन्त्रको उच्चतम् रुप हुने छ । त्यसमा व्यक्तिगत स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र स्वस्थ प्रतिश्पर्धा सुनिश्चित गरिने छ । 

समाजवाद मानिसलाई पूर्ण र स्वतन्त्र बनाउने आन्दोलन हो । यो आधारभूत रुपमा नयाँ सँस्कृति र सभ्यताको अभियान हो । समाजवाद मुख्यतः मूल्यसँग जोडिएको व्यवहार हो । समाजवाद गुणात्मक रुपमा एक नयाँ समाज पनि हो । यो विशेषत आधुनिक वैज्ञानिक एवं प्राविधिक उपलब्धिहरुमा आधारित आफ्नै राष्ट्रिय अर्थतन्त्रको श्रृजना गर्ने आवश्यकतामा आधारित हुन्छ । विकासका क्रममा राष्ट्रिय चेतनाको विकास र जनतामा समाजवादी विचारधारा अपनाउन उत्प्रेरित गर्नु पर्दछ । त्यसखालको वातावरण बनाउन वैचारिक कामका साथसाथै सामाजिक एवं राजनैतिक लोकतान्त्रिक संगठनहरु निर्माण, विकास, विस्तार र सुदृढीकरण अभियानहरु चलाउनु पर्दछ । 

वास्तविक लोकतान्त्रिक तरिकाले समाजको सवलिकरण गर्नु, किसानहरुको हित अनुकूल भूमि व्यवस्थापनका समस्या समाधान गर्नु, श्रमिकहरुलाई सुखी, संमृद्ध बनाउने नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्नु, जनसमुदायका बीचमा मित्रता र भातृत्वको विकास गर्नु अभियानका मुख्य लक्ष्य हुनु पर्दछ । वौद्धिक क्षेत्रतर्फ विचारमा नेतृत्वदायी भूमिका खेल्नु पर्दछ । शैक्षिक तथा साँस्कृतिक विकासको उच्चस्तर कायम गर्नु पर्दछ । वौद्धिक, नैतिक एवं शारीरिक शक्तिको अविरल विकास नै समाजवादका विशेषताहरु हुन् । समुदायका बीचमा सामुहिकता, मित्रता, एकता र सहयोगमा आधारित जीवनपद्धति समाजवादको अर्को महत्वपूर्ण विशेषता हो । जनसमुदायलाई सच्चा देशभक्त र सदाचारी हुन सदैव उत्प्रेरित गरिरहनु पर्दछ । यी उल्लेखित मान्यतालाई व्यवहारमा प्रस्तुत र स्थापित गर्दै समाजवादको नमूना पेश गर्न उद्धत रहनु पर्दछ । 

समाजवाद श्रम, ज्ञान, प्रतिभा, सिप तथा सिर्जनाको सम्मान गर्ने अभियान हो । काम गर्ने व्यक्तिहरुको हितको संरक्षण गर्ने र अधिकार सुनिश्चित गर्ने सर्वोत्तम राज्यव्यवस्था समाजवाद हो । हामीले उन्नत समाजवादको नमूना प्रस्तुत गर्न जनताको बुद्धि र बलको प्रयोग गर्नु पर्दछ । जनसमुदायको भावनालाई आत्मसात गर्दै अभियान अगाडि बढाउनु पर्दछ । राष्ट्रको सम्पूर्ण जाँगर र शक्तिलाई जागृत गर्न देशभक्तिपूर्ण राष्ट्रिय चेतनाको विकासमा जोड गर्नु पर्दछ । आफ्ना क्षमताहरुलाई पूर्ण रुपमा परिचालन गर्नु पर्दछ । जनसमुदायको सिर्जनशीलता र रचनात्मकतालाई प्रस्फुटन गराउनमा नमूना बन्नु पर्दछ । 

समृद्धि, लोकतन्त्र, स्वतन्त्रता, समानता, न्याय, कानुनी राज्यको व्यवस्था, देशभक्ति, समर्पण, इमान्दारिता र मित्रतासहितका सारभूत समाजवादी मूल्य मान्यता र आदर्शहरुलाई जीवन व्यवहारमा लागू गर्दै नेपाली मौलिकता र विशेषता सहितको समाजवादी जग खडा गर्ने दिशामा दृढ इच्छा शक्तिका साथ प्रयत्न गरौं । समाजवादी समाज स्थापनाको नेपाली सपना साकार पार्ने हाम्रो संकल्प पूरा हुनेछ ।

प्रतिक्रिया