शनिबार, वैशाख २२, २०८१

भारतको एक अस्पतालमा एकैदिन १८ बिरामीको शंकास्पद मृत्यु

मेरोन्यूज २०८० साउन २९ गते १०:००

मुम्बइ । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको गृह जिल्लाको कलवास्थित छत्रपति शिवाजी महाराज अस्पतालमा एकै रातमा विभिन्न कारणले १८ जना बिरामीको मृत्यु भएको छ। त्यस्तै आठ जना बिरामीको अवस्था गम्भीर रहेको छ ।

Advertisement

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार पीडितमध्ये ७० प्रतिशत ५० वर्षभन्दा माथिका थिए । मृत्यु भएका मध्ये तेह्र जना आईसीयूमा थिए। अक्सिजन लाइनमा गडबडी भएकाले उनीहरुकाे मृत्यु भएकाे हल्ला फैलिएकाे थियाे। तर, अस्पतालले यो आरोप अस्वीकार गरेको छ ।

गत शुक्रबार केही राजनीतिक कार्यकर्ताले चिकित्सकको लापरवाहीका कारण एकै दिन ६ जनाको ज्यान गएको भन्दै अस्पतालबाहिर विरोध प्रदर्शन गरेका थिए ।

जनस्वास्थ्यमन्त्री तानाजी सावन्तले दुई दिनमा प्रतिवेदन बुझाउने बताए पनि स्थानीय अधिकारीले १५ दिन लाग्ने बताएका छन् । स्वास्थ्यमन्त्रीले भने, ‘डीनको तर्फबाट लापरवाही भए नभएको छानबिन गर्न प्रतिवेदन माग गरिएको छ । रिपोर्ट आएपछि मात्रै खुल्ने छ । मुख्यमन्त्रीको स्वीकृतिपछि कारबाही हुन्छ ।”

मृत्यु हुनेमा १० जना महिला र आठ पुरुष छन्, जसमध्ये ६ जना थाने सहरका, चार जना कल्याणका, तीन शाहपुरका, दुई जना मुम्बईका, भिवंडी र उल्हासनगरका एक–एक जना थिए जबकि एक जना विरामी अज्ञात छन् ।

कर्मचारी अभावका कारण बिरामीलाई उचित ध्यान नदिएको मृतकका आफन्तले गुनासो गरेका छन् ।

स्वास्थ्य सेवा निर्देशनालयले मृत्युको उच्च स्तरीय छानबिनको घोषणा गर्न माग गरेकाे छ ।

प्रतिक्रिया