बिहीबार, वैशाख २७, २०८१

गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघ्यो, सुन तस्करको पूरा अनुसन्धान नभएसम्म छोड्दैनौँः ओली (भिडियाे)

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

Advertisement

सोमवार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्रीले गैरजिम्मेवार र बत्तमिजी भएको उल्लेख गरेका हुन् । उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताए ।

ओलीले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ की छैन भन्दै प्रश्न गरे । उनले गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न चेतावनी दिए ।

उनले भने, ‘यत्तिकै कोटका गालामा काँक्राको बियाँ टाँस्ने होइन । म उहाँलाई सचेत गराउन चाहन्छु गृहमन्त्रीको हैसियतले उहाँले बोल्दाखेरि तरिका पुर्‍याएर बोल्नुपर्छ । बत्तमिज हुनु एउटा कुरा हो त तर यो त बत्तमिजीको मात्र होइन, गैरजिम्मेवारको हद भयो ।’

उनले भने, ‘गृहमन्त्रीले बताउनुपर्‍यो उहाँको संलग्नता छ छैन यसमा ? सानोतिनो संलग्नताबाट त भएको छैन होला ? उहाँको चाहिँ संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ, को छ यसमा ?’

ओलीले एक व्यापारीसँग कुनै कार्यक्रममा खिचेको फोटो अहिलेको प्रसंगमा ल्याएर जोडेर एक पत्रिकाले आफ्नो छापेको भन्दै त्यसप्रति पनि आपत्ति जनाए । उक्त पत्रिका माओवादीनिकट भएको आरोपसमेत लगाउँदै ओलीले भने, ‘उता आकाशतिर चिल देखाएर यता के छोप्प लुकाउन खोजिँदैछ ? अब यो सुनकाण्डको नतिजा अन्तिमसम्म नपुर्‍याउँदासम्म हामी पनि छोड्दैनौं । गृहमन्त्रीलाई थाहा होस् ।’

गत मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको करिब एक क्विन्टल सुन बुधबार भन्सार जाँच पास भएर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको पर्सिपल्ट अर्थात् गत शुक्रबार उपप्रधानमन्त्री श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको अनुगमन गर्न गएका थिए ।

प्रतिक्रिया