शुक्रबार, वैशाख १४, २०८१

अध्यक्ष तिमिल्सिना आज राति चीनको औपचारिक भ्रमणमा जाँदै

मेरोन्यूज २०८० जेठ २७ गते १८:४४

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज राति चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने भएका छन् ।

तिब्बतको ल्हासामा आयोजना हुने पाँचौ चाइना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन नौ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना आज राति चीन प्रस्थान गर्न लागेका हुन् ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधि मण्डल राति १२ः५ बजेको चाइना साउर्दन एयरलाइन्सको उडानबाट ग्वाञ्झाओ हुँदै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने भएका छन् ।

उक्त प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्यहरू जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदीप यादव तथा राष्ट्रियसभाका सदस्यहरू उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एवम् अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा सहभागी हुने छन् ।

भ्रमणका क्रममा बेइजिङमा अध्यक्ष तिमिल्सिनाले बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समिति (स्टाण्डीङ कमिटी अफ द नेशनल पिपुल्स कंग्रेस)का अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन (चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स)का अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रतिनिधि मण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साइयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र लगायतका स्थलहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

औपचारिक भ्रमण सम्पन्न गरी अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डल २१ जुन २०२३ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया