बिहीबार, वैशाख २७, २०८१

रूपान्तरणको पर्खाइमा नेपालको उच्च शिक्षा !

भीम रेग्मी २०८० जेठ १३ गते १५:१२

हामी अहिले नेपाल राष्ट्रिय प्राध्यापक संगठनको पहिलो अधिवेशनको संघारमा छौँ । ०६६ मा स्थापना भएको यो पेशागत संगठनले यतिका लामो समयसम्म पनि आफ्नो यात्रा तय गर्न सकेन । ती समस्याहरूलाई चुनौतीको रुपमा बुझेर ०८० को दशकमा नेपालको उच्च शिक्षको भविष्य उज्यालो पार्न सबै जना एक साथ भएर लाग्नु पर्छ । यसैबाट युवाहरूमा आएको निराशा आसामा बदलिन्छ र देश प्रगतिको यात्रामा जान्छ ।

Advertisement

नेपालमा त्रिभुवन विश्वविद्यालय (१९५९), नेपाल संस्कृत विश्वविद्यालय (१९८६), काठमाडौँ विश्वविद्यालय (१९९१), पूर्वाञ्चल विश्वविद्यालय (१९९४) र पोखरा विश्वविद्यालय (१९९७) स्थापना भएका हुन् । हालसम्म लुम्बिनी बौद्ध विश्वविद्यालय (२००५), सुदूरपश्चिम विश्वविद्यालय (२०१०), मध्यपश्चिम विश्वविद्यालय (२०१०), कृषि तथा वन विश्वविद्यालय (२०१०), नेपाल खुला विश्वविद्यालय (२०१६), र राजर्षि जनक विश्वविद्यालय (२०१७) खुलिसकेका छन् ।

प्रदेश तहमा गण्डकी विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय, मधेस कृषि विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय, मधेस विश्वविद्यालयहरू स्थापना भइसकेका छन् । योगमाया आयुर्वेदिक विश्वविद्यालयको बिल सदनमा छ । हालै सरकारले तिलगंगा अस्पताललाई विश्वविद्यालय बनाउने गरी निर्णय गरेको छ । नेपाल विश्वविद्यालयसहित अरु विश्वविद्यालयहरू खुल्ने क्रममा छन् । तर, पनि नेपालमा भएको उच्च शिक्षाको विकासबाट खुशी नबनेर विद्यार्थीहरू विदेशिने चलन बढेको बढै छ ।

उच्च शिक्षाको परिदृश्य भनेको विद्यार्थीहरूको आवश्यकताहरू पूरा गर्न विकसित हुनुपर्छ । विश्वविद्यालय खोलेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । पाठ्यक्रमदेखि पाठ्यक्रमको वितरण, कक्षा कोठाको पढाइ र सिकाइ विधिहरू, समाज र अनुसन्धानबाट सिक्ने, सिकेका र जानेका विषयहरूलाई समाज निर्माणको मोडलिंग विद्यार्थीहरूले तयार पार्ने र अध्यापकहरूले यी सबै काममा आफूलाई तयारी गर्नु नै शिक्षाको रुपान्तरणभित्र पर्छ । यसबारे चिन्ता गर्नेहरू प्रत्येक दिन दुखी हुनुपर्ने यो कठिन समयमा महत्वपूर्ण परिवर्तनको अनुभव हामीले गराउनै पर्छ । आज हामी जे छौं र देश जुन हालतमा छ त्यहाँबाट हामीले समाज र देशलाई द्रुत गतिमा बदल्नु आवश्यक छ ।

०१० देखि विश्वमा प्रवृत्तिहरू बदलिएका छन् । हाम्रा शैलीदेखि व्यवहारमा परिवर्तन आएको छ । विज्ञान र प्रविधिमा देखिएको नवीन चक्रहरूले छिटो छिटो समाजलाई जबरजस्ती बदलेको छ । समाजको नयाँ पुस्ताले पुस्ताबाट कम आसा गरेको छ ।

आजको मुख्य कुरा “मेरो सँधैको साथी डिजिटल एक मात्र आदर्श” भन्ने युवाहरूको सोचलाई नेपालका सबै विश्वविद्यालयमा पढाउने प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले सिक्नु पर्ने बेला आएको छ । यही एक मात्र सत्य र नयाँ समयको आदर्शले नेपालका आङ्गिकदेखि सामुदायिक क्याम्पसहरू बदलिन्छन् । र, यो काममा नेपाल सरकार सहयोगी हुनुपर्छ ।

भोलिका समयका विद्यार्थीहरूलाई बुझ्नका लागि एक नवीन दृष्टिकोण आवश्यक छ । हामीले समाज मात्र हैन तिनीहरूको मनस्थिति पनि बुझ्नु पर्छ ।

माथिका विविध पक्षलाई केन्द्रमा राखेर ०१८ देखि नै एक्काइसौं शताब्दीमा शिक्षामार्फत देश विकासमा भूमिका खेल्न विद्यार्थीको सफलताका लागि र उच्च शिक्षामा रूपान्तरण हुनु पर्ने सवाल बलियो हुँदै आयो । विद्यार्थीहरूले उच्च शिक्षामा डिग्री हासिल गर्दा आफ्नो अनुभव, भविष्यको परिणाम, र काममा जोश उक्साउने शिक्षा हुनु पर्ने तथ्यलाई तीन प्रमुख विषय भनेर बताएका छन् ।

यी कुरालाई सत्य मान्दा नेपालको उच्च शिक्षामा यी तीनै पक्ष बलिया छैनन् । द्रुत गतिमा बदलिएको विश्व प्रविधिको सारथी बन्नका लागि ठूलो संख्यामा नेपालका विद्यार्थीहरू विदेशिने प्रचलन बढेको छ ।

भोलिका समयका विद्यार्थीहरूलाई बुझ्नका लागि एक नवीन दृष्टिकोण आवश्यक छ । हामीले समाज मात्र हैन तिनीहरूको मनस्थिति पनि बुझ्नु पर्छ । ०८० को दशकमा नेपालको उच्च शिक्षाको पुनस् कल्पना गर्ने संघर्ष नयाँ होइन भनेर स्वीकार गर्नुपर्छ । धेरै पहिलादेखि शिक्षामा रुपान्तरण हुनुपर्छ भनेर लागेकाहरू नै थकित बनेको समयमा फेरि हामीले यो अभियानलाई आआफ्नो स्थानबाट जुरुक्क उठाउनु पर्छ ।

नेपालको उच्च शिक्षामा रहेका पदाधिकारीहरूले विश्वविद्यालयहरूको रूपमा हामी को हौं भन्ने कुराको सार गुमाए जस्तै भएको छ यतिबेला । विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई चाहेको कुरा वितरण गर्न सीमित हुनु हुँदैन । नेपालमा खुलेका सबै विश्वविद्यालयमा काम गर्ने चाहे आङ्गिक, सामुदायिक वा निजीमा काम गर्ने र पढाउने जनशक्तिलाई सम्मानका साथ देश निर्माणको मुलधारमा ल्याउन पेशागत संगठनहरूले काम गर्नु पर्छ ।

पेशागत संगठनहरूप्रति निराशा र कुण्ठा पलाएको यो समयमा सबैमा नयाँ आकांक्षा विस्तार गर्न संगठन नै बलियो र एकताबद्ध हुनुपर्छ । र, हालसम्म कतैबाट पनि यो काम हुन नसक्नु वा पहल नहुनु हामीभित्र रहेको अक्षमताले भूमिका खेलेको छ ।

नेपालका सबै विश्वविद्यालयहरूलाई निरन्तर रूपान्तरण गर्न र ती विश्वविद्यालयहरूको मिसनले खुलेका प्रत्येक क्याम्पसलाई परिवर्तनको कल्पनासहितको मार्ग निर्देशन गर्नु आवश्यक छ । आज र भोलिको विद्यार्थीहरूको चहानाहरू कसरी पूरा गर्ने भनेर बुझ्ने एक नवीन दृष्टिकोण नै आजको उच्च शिक्षाको पहिलो पक्ष हो ।

उच्च शिक्षाको अनुसन्धानको पाटोलाई विश्वविद्यालयहरूको एक मुख्य उद्देश्य बनाएर विद्यार्थीहरूको रोजगारीमा उत्साहित गरेर देशको आर्थिक प्रगति गर्न समय ढिला भएको छ ।

विद्यार्थी भर्नादेखि कक्षा कोठाको पढाइ, निश्चित समयमा हुने परीक्षा र तोकेकै दिनमा प्रकाशित हुने नतिजाले नै विश्वविद्यालयको कामको डेलिभर गर्छ । उच्च विद्यालयका विद्यार्थीहरूलाई भविष्यमा विश्वविद्यालयमा उनीहरूले के अनुभव गर्न चाहन्छन् भन्ने कुराले भविष्यका लागि उनीहरूलाई मार्ग तयार पार्न विश्वविद्यालयको भूमिका हुन्छ ।

उच्च शिक्षालाई उद्योग कौशल बनाएर विद्यार्थीहरूलाई स्थानान्तरण योग्य कौशलमा बदल्न ध्यान दिनुपर्छ । उच्च शिक्षाको अनुसन्धानको पाटोलाई विश्वविद्यालयहरूको एक मुख्य उद्देश्य बनाएर विद्यार्थीहरूको रोजगारीमा उत्साहित गरेर देशको आर्थिक प्रगति गर्न समय ढिला भएको छ । अबको एक्काइसौँ शताब्दीमा प्राध्यापक/कर्मचारी/विद्यार्थी बदलिनुको विकल्प हामीसँग छैन । तीनै पक्ष सहमत भएमा विश्वविद्यालयको अनुहार फेरिन्छ ।

हाल विश्वविद्यालय शिक्षा भनेको शिक्षा सिक्ने प्रक्रियामा अर्को माथिल्लो स्थान हो । यो विश्वव्यापी मानव विकासको एक महत्वपूर्ण अंश हो । यसले प्रत्येक श्रम बजारका लागि आवश्यक उच्च-स्तरीय सीपहरू सिकाएर असल शिक्षकहरू, डाक्टरहरू, नर्सहरू, निजामती कर्मचारीहरू, ईन्जिनियरहरू, मानवतावादीहरू, उद्यमीहरू, वैज्ञानिकहरू, सामाजिक वैज्ञानिकहरूको लागि आवश्यक प्रशिक्षण प्रदान गर्छ । देश बदल्न साँचोको रुपमा काम गर्ने कर्मचारीहरूदेखि प्रशिक्षित व्यक्तिहरूले क्षमता र विश्लेषणात्मक सीपको विकास गरेर देशको स्थानीय अर्थव्यवस्थालाई बदल्न भूमिका खेलेका हुन्छन् ।

आजको नेपालमा शिक्षित जनसंख्याले महत्वपूर्ण भूमिका खेल्न सक्छ । भूमण्डलीकरणको प्रभाव रहेको नेपालमा ज्ञानको बढ्दो महत्त्व देश विकासको मुख्य चालक हुनु पर्छ । सूचना र सञ्चार क्रान्तिको साथ साथै ज्ञान निर्माणको काममा राजनैतिक पार्टीहरूले महत्वपूर्ण भूमिका खेल्नु पर्छ । देशको आर्थिक विकासमा प्रमुख कारक बनेर देशलाई विश्वव्यापी अर्थतन्त्रसँग प्रतिस्पर्धी बनाउने काममा असल प्राज्ञहरूको भूमिका हुन्छ ।

दक्षिण एशिया नै वर्तमान विश्वको केन्द्र बन्न थालेको समयमा कम्प्युटर पावरको संयोजन, हार्डवेयर र सफ्टवेयरको निर्माणमा जोड, प्रतिस्पर्धी समयमा नेपालको प्रविधिलाई भारतसहित बङ्गलादेश, पाकिस्तानदेखि अन्यत्र लैजाने खालको जनशक्ति निर्माणमा नेपालका विश्वविद्यालयहरूले भूमिका खेल्नुपर्छ ।

भर्खरै विश्व बैंकले गरेको अध्ययनअनुसार भूमण्डलीकरणकै कारण गरिबीमा वृद्धि देखिएको छ । नेपाल जस्तै विकासोन्मुख देशहरूले कसरी आफूलाई सशक्तीकरण गरेर विश्वव्यापी अर्थतन्त्रमा अझ राम्ररी एकीकृत होला भन्ने चासो हामीमा पनि हुनुपर्छ ।

नेपालको उच्च आर्थिक वृद्धि, गरीबीको संख्याको न्युनीकरण, रोजगारीमा वृद्धि, घरेलु उत्पादनमा व्यापारको वृद्धिको हिस्सा र स्वास्थ्य परिणाममा सुधार हुनु आवश्यक छ । यी सबै काम नेपालको उच्च शिक्षाको रुपान्तरणमा मात्र सम्भव छ ।

विकसित देशहरूले एकै साथ उच्च शिक्षामा उनीहरूको सहभागिताको दर सुधारे । विश्व अर्थतन्त्रसँगको एकीकरणबाट धेरै फाइदा लिने देशहरूले शैक्षिक स्तरमा सबैभन्दा उल्लेखनीय वृद्धि हासिल गरेका छन् । यही कारण नेपाली विद्यार्थीहरू अमेरिका, युरोपदेखि अष्ट्रेलिया पुगेका छन् । हामीले बुझ्नु पर्ने विषय भनेको विश्वविद्यालय शिक्षाले घरेलु क्षेत्रहरुलाईर सशक्तीकरण गराउँछ ।

देशका निर्माण संस्थाहरूमा अनुकूल नियामक संरचना बनाएर देशमा सुशासनलाई बलियो पार्छ । संरचनाहरूको पोषणमा आफ्नो भूमिकामार्फत, सामाजिक पुँजी वृद्धी गर्न र सामाजिक एकतालाई बढावा दिन देशको प्रयासको लागि महत्त्वपूर्ण हुन्छ ।

यी कामहरू नै देशको आर्थिक वृद्धी र विकासको महत्वपूर्ण निर्धारक सावित हुने छन् । त्यसपछि बन्ने विश्वविद्यालयहरूलाई कसरी संचालन गर्नेभन्दा पनि अहिले हामी उच्च शिक्षालाई कसरी रुपान्तरण गर्न सक्छौं भनेर एक बनेर लागौँ र हाम्रो अभियान सफल पारौँ ।

लेखक त्रिभुवन विश्वविद्यालयको प्राध्यापक हुन् ।

प्रतिक्रिया