सोमबार, वैशाख १७, २०८१

विद्यान मिच्दै कांग्रेस

कांग्रेसको अस्तब्यस्तता : न नियममा चल्छ, न बाध्नै सकिन्छ

पार्टी सभापति शेरबहादुर देउवाले न पार्टी विधान अनुशरण गर्छन, न अन्य नेताहरुले अनुशरण गराउन बाध्य नै पार्न सकेका छन्

शित्तल शर्मा २०८० जेठ २ गते २०:०२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पहिलो कार्यकालमा झै फेरि पार्टी उस्तै शैलीमा चलाएको आरोप पार्टीभित्रै लागेको छ । दोस्रो कार्यकालका लागि २०७८ मंसिरमा सभापतिमा प्रतिस्पर्धा गरिरहँदा देउवाले सभापतिका आकाक्षी तर दोस्रो चरणमा चुनावी रिङबाट बाहिरिएका प्रकाशमान सिंहसँग आगामी दिनमा पार्टीलाई विद्यानसम्मत ढंगले चलाउने र देखिएका कमीकमजोरी सञ्चाएर अगाडी बढने सहमति गरेर मत बटुलेका थिए ।


त्यसपछि प्रकाशमानले देउवालाई १४ औं महाधिवेशनको दोस्रा चरणमा भएको सभापति चुनावमा साथ दिएका थिए । त्यसयता फेरि देउवाले अघिल्लो कार्यकाल (१३ औं महाधिवेशनबाट निर्वाचित कार्यकाल) मा झै पूरानै ढर्रामा पार्टी हाँकिरहेका छन् । तर यसपटक उनको कार्यशैलीमा न प्रकशमानले टिप्पणी गरेका छन्, न अन्य शीर्ष नेताहरुले नै । नयाँ पुस्ताका महामन्त्रीद्दय विश्वप्रकाश शर्मा, गगन थापा र उपसभापति धनराज गुरुङले देउवालाई बेलाबेला चुनौति दिन खोजेका छन् । विद्रोहकै शैलीमा धम्कीसमेत उनीहरुको दउवाले सुन्नुपरेको छ ।

तर त्यसलाई देउवाले सुने नसुने झै टारिरहेका छन् । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ शैलीमा देउवाले महामन्त्रीद्दय शर्मा र थापाका अभिब्यक्ति, धम्की र चेतावनीलाई मौन बसेरै टारिरहेका छन् । देउवाको यो शैलीले कांग्रेसमा झन् अघिल्लो कार्यकालको भन्दा बढी भद्रगोलता देखिन थालेको नेताहरुको टिप्पणी छ । न देउवाले विधान फलो गरेका छन्, न देउवालाई फलो गर्न अन्य नेताहरुलेनै बाध्य पार्न सकेका छन् । जसकाकारण कांग्रेसमा देउवाको एकलौटी रजाँई चलेकै छ ।


महाधिवेशनका बेला कांग्रेसका इतर समुहका नेताहरुले खासगरी दुईटा अजेन्डा बोकेर प्रतिस्पर्धामा भाग लिएका थिए । पहिलो पार्टीको केन्द्रीय नेतृत्व परिवर्तन, दोस्रो पार्टी विधिसम्मत संस्थागत चल्नुपर्ने । तर देउवाले महाधिवेशनमा अघिल्लो कार्यकालमा भन्दा केन्द्रीय कमिटिमा झन् बलियो उपस्थिती रहने गरी नेतृत्व जिते । त्यसपछि फेरि कांग्रेसमा उही पूरानै तजविजी शैलीमा पार्टी चल्न थालेको छ ।

केन्द्रीय समिति बैठक सरेको सर्‍यै

कांग्रेसको केन्द्रीय समिति बैठक २०७९ साउन यता बस्न सकेको छैन । विद्यानले कम्तीमा तीन महिनामा एकपटक केन्द्रीय समितिको बैठक बस्नुपर्ने ब्यवस्था गरेको छ । तर कांग्रेसको ९ महिना वित्दासम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।
यो बीचमा कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनाव ब्यहोरिसकेको छ । सत्ता गठबन्धन भत्कने र फेरि जोडिने राजनीतिक उछलकद यही बीचमा उसले ब्यहोरेको छ । उपचुनावमा पनि कांग्रेसले धक्का ब्यहोरेको छ । तर यी समग्र विषयमा समीक्षा गर्न देउवाले आवश्यक ठानिरहेका छैनन ।

चुनाव अगाडी दवाव थेगेरै भएपनि केन्द्रीय समिति बैठक नराखेका देउवाले मंसिर ४ को चुनावपछि बैठक राख्ने र समीक्षा गर्ने बताएका थिए । त्यसपछि तीन पटक सम्म देउवाले केन्द्रीय समिति बैठकको मिति पनि तोके । तर, उनले बैठक फेरि पनि राखेनन । धकेलिदिए । अनिश्चितकालका लागि रोकिएको केन्द्रीय समिति बैठक त्यसयता अब कहिले रु त्यो अहिले कुनै टुंग्गो छैन । तर मंगलबार मात्रै देउवा निकटका नेता तथा अर्थमन्त्री समेत रहेका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अब केही दिनमै केन्द्रीय समिति बैठक बोलाउने गरी तयारी भईरहेको बताए ।


कांग्रेसका महामन्त्रीद्दय विश्वप्रकाश र गगन थापाहरुले तत्काल पार्टी बैठक बोलाउन माग गरिरहेका छन् । यसरी माग गर्दा देउवाले बैशाख अन्तिममा केन्द्रीय समिति बैठक बोलाउने बचन दुई महामन्त्रीलाई दिएका थिए । तर बैशाख सकिएर जेठ लाग्दा सम्म उनले पार्टी केन्द्रीय समिति बैठक बोलाएका छैनन ।

न कोषाध्यक्ष नियुक्त भए, न केन्द्रीय समितिले नै पायो पूर्णता

२०७८ मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको हो । तर अहिलेसम्म पनि कांग्रेसले पार्टीको केन्द्रीय समितिलाई नै समेत पूर्णता दिन सकेको छैन । सभापति देउवाले कोषाध्यक्षसमेत मनोनीत गरेका छैनन्। पार्टीको हरहिसाव देउवा आफैले मनमौजी तरिकाले कोषाध्यक्ष समेत नराखी चलाईरहेका छन् ।

विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र कोषाध्यक्ष नियुक्त गरिक्नुपर्छ। तर, सभापति देउवाले ढेड वर्ष हुँदा सम्म कोषाध्यक्ष नियुक्त गर्न सकेका छैनन ।

त्यसो त उनले केन्द्रीय समितिलाई पनि पूर्णता दिन सकेका छैनन्। कांग्रेसको केन्द्रीय समिति १६८ सदस्यीय हुने विद्यानको ब्यवस्था छ। तर सभापति देउवाले अझै २० जनालाई केन्द्रीय सदस्य नियुक्त गर्नुपर्नेछ। संगठन, प्रचारसहित कांग्रेसका २८ विभाग पनि अझै रित्तै छन्।

नीति महाधिवेशनको छैन टुंग्गो

कांग्रेसले पार्टीको महाधिवेशन गर्दा नै पार्टीको नीति विचारका बारेमा छलफलका लागि अलग्गै नीति महाधिवेशन गर्ने बताएको थियो । त्यस्तो नीति महाधिवेशन छ महिनाभित्र गर्ने भने पनि डेढ वर्ष हुँदासमेत नीति अधिवेशनको टुंगो छैन। पटक पटक पदाधिकारी बैठक बसेर यसबारेमा छलफल भए पनि केन्द्रीय समिति बैठक नबस्दा उक्त महाधिवेशनको मिति समेत तय हुन सकेको छैन। विधानले पदाधिकारीलाई यस बारेमा कुनै निर्णय गर्ने अधिकार दिएको छैन। त्यसकारण पनि नीति महाधिवेशनको निर्णय लिन कांग्रेसले केन्द्रीय समिति बैठकबाटै लिनुपर्ने हुन्छ । तर केन्द्रीय समिति बैठक नै अनिश्चित बन्दा नीति महाधिवेशन पनि अलपत्र छ ।

पार्टीभित्रका विभाग, भ्रातृ सस्थाको हालत पनि उस्तै
कांग्रेसका सवैभन्दा प्रभावशाली मनिने संगठन हुन् नेपाल विद्यार्थी संघ, तरुण दल । तर यी दुवै भातृ सस्था तदर्थबादमा चलिरहेको छ । पार्टीले भातृ सस्थाको समयमा महाधिवेशन गर्न नसक्दा टिके प्रथाबाट नेतृत्व जिम्मा लगाइएको छ ।

तर ती संगठनमा नेतृत्व बाहेक अन्य पदीय जिम्मेवारी र केन्द्रीय समिति नबन्दा यी संगठनहरु प्यारालाईसिस जस्तै बन्न पुगेका छन् । विधानअनुसार जनवर्गीय संगठन र पार्टीभित्रका विभागहरुका कामकारबाही नै हुन सकेको छैन। ‘सभापति देउवामा पहिलो कार्यकालकै जस्तै शैली देखिएको छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘पहिलो कार्यकालमा पनि अन्तिम समयमा मात्रै विभागहरू बनेका थिए। यसपालि पनि त्यसकै निरन्तरता हुने जस्तो देखिन पुगेको छ । न पार्टी सभापति विद्यान अनुसार आफु चल्नु भएको छ, न हामीले नै उहाँलाई विद्यान अनुसार चलाउन सकेका छौं । भद्रगोलमा कांग्रेस हिँडिरहेको छ ।’

प्रतिक्रिया