सोमबार, वैशाख १७, २०८१

भुटानी शरणार्थी प्रकरण

माघ २८ मा दुलाल र भण्डारीको त्यो पाटी

जहाँ सहभागी थिए थापा र साउद

मेरोन्यूज २०८० वैशाख २४ गते ९:३४

काठमाडौँ । भुटानी शरणाथी प्रकरणमा नयाँ नयाँ घटना सार्वजनिक हुँदै गएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक(अमेरिका) पठाउने प्रकरणमा गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा र टेक गुरुङ, सागर राई पक्राउ परेपछि नयाँ उनीहरूको बयान र भेटिएका प्रमाणका आधारमा प्रहरीले बहालवाला सचिव टेकनारायण पाण्डे (निवर्तमान गृहसचिव), तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा नविनलगायत व्यक्तिलाई पक्राउ गरेको छ ।

पूर्वउपप्रधानमन्त्री रायमाझीसहित केहीको नाममा पक्राउ पुर्जी जारी भएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार अहिले पक्राउ परेका दुलाल र भण्डारीले २८ माघमा ललितपुरमा आफूहरूको योजना सफल बनाउन नेतासहितका केही व्यक्तिहरूलाई बोलाएर पार्टी गरेका थिए । पाटन उच्च अदालतको नजिकको एक रेष्टुरेन्टमा गरिएको पार्टीमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र वर्तमान परराष्ट्रमन्त्री एनपी साउदसमेत सहभागी थिए ।

पार्टीमा सहभागी भएका थापा र साउदलाई दुलाल र भण्डारीले भुटानी शरणार्थी प्रकरणमा सहयोग गरिदिन आग्रह गरेका थिए । जुनबेला नेपाली कांग्रेस सत्तारुढ भइसकेको थिएन । महामन्त्री थापा र साउदले अहिले आफूहरूले सहयोग गर्न सरकारमा नरहेको बताएका थिए । मौका आएमा फेरि गफ गरौँला नि भन्ने जवाफ दिएको उनीहरूले प्रहरीको बयानमा बताएका छन् ।

बयानका क्रममा यस्तो कुरा आएपछि प्रहरीले त्यो रेष्टुरेन्टबाट त्यसदिनको सीसी टिभी फुटेज ल्याउने प्रक्रियामा लागेको स्रोतले बतायो । रेष्टुरेन्टले आफूहरूको रेष्टुरेन्टमा यति लामो समयसम्म सीसी टिभी फुटेज ब्याकपमा नरहने जवाफ दिएपछि ब्याकअप निकाल्ने प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।

रेष्टुरेन्टले त्यस्तो जवाफ दिएपछि शंका उत्पन्न भएको प्रहरी अधिकारीहरू बताउँछन् । ‘पार्टीमा नेताहरू जानु त सामान्य हो । हामीले नियन्त्रणमा लिएकाले बयानका क्रममा पार्टी गरिएको त्यसमा नेताहरू सहभागी भएको भन्ने, रेष्टुरेन्टले सीसी टिभी हेरौँ भन्दा डाटा रहदैन भन्ने जवाफ दिनुले शंका उत्पन्न गराएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले मेरोन्यूजसँग भने ।

यता थापाले भने केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणमा संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन भन्ने धारणा सार्वजयिनक गरेका थिए । ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ठगि गिरोहको भिआइपी जालो उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

बयानका क्रममा नियन्त्रणमा रहेकाहरूले त्यस्तो बताएपछि प्रहरी अधिकारी कतै म पनि पर्ने त होइन भन्ने डरले पहिल्यै तर्केको त होइन भन्ने प्रश्न चिन्ह उब्जिएको बताउँछन् ।

प्रहरी अधिकारीहरूले यो पाटी र थापा तथा परराष्ट्रमन्त्रीको सहभागिताबारे जानकारी नेपाली कांग्रेसका सभापति तथा शीर्ष नेताहरूलाई दिइसकेका स्रोतले बतायो । कांग्रेस नेताहरूले सूचनापछि यस विषयमा चासो र चिन्ता व्यक्त गर्न थालेको बताइन्छ ।

प्रतिक्रिया