सोमबार, वैशाख १७, २०८१

रवि लामिछानेलाई संसदीय दलको नेता बन्न किन हतार ?

मेरोन्यूज २०८० वैशाख १७ गते ८:०७

काठमाडौँ । पार्टी सभापति रवि लामिछाने १० बैशाखमा भएको उपनिर्वाचनमा विजयी भएर पद तथा गोपनियताको शपथ लिएको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संसदीय दलका नेता डोलप्रसाद अर्यालले दलको नेताबाट राजीनामा दिएका छन् । चितवन २ बाट उपनिर्वाचनमा विजयी भएका लामिछानेले शुक्रबारमात्रै संसद्का रूपमा पद तथा गोपनियताको शपथ लिएका थिए ।

सको भोलिपल्ट अर्थात शनिबार नै दलको नेताबाट आर्यालले राजीनामा दिनुलाई धेरैले रविको नेता बन्न हतार गरेको रूपमा बुझेका छन् ।

अझ अर्यालले नेताबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेको भाषाले त त्यसलाई थप प्रष्ट्याउछ । ‘हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मिति देखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु,’ अर्यालले राजीनामा पत्रमा लेखेका छन् ।

रास्वपाले रविलाई दलको नेता बनाउने निर्णय त गरिसकेको छैन तर अर्यालको यो भाषाले रवि दलको नेता बन्न लालायित छन्, उनलाई बाटो खाली गर्न मैलो छोड्दिए भन्ने अर्थ लगाउन गाह्रो छैन ।

रास्वपाले आफूहरू १० पुसमा सरकारमा जाँदा दिएका मन्त्रालय र हैसियत दिएमा सरकारमा जाने बताइरहेको छ । तथापी लामिछानेले भने सरकारमा जाने सम्म्भावना नरहेको र समर्थन पनि फिर्ता लिने सम्भावना रहेको बताइरहेका छन् । सांसद पदको शपथ लिएपछि पत्रकारहरूसँग लामिछानेले भनेका थिए, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छ। हामी मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेपनि सरकारलाई दिएको समर्थनबारे पुनःमूल्यांकन गर्नुपर्ने अवस्था देखिएको छ ।’

उनले यो बताए पनि १० पुसमा पाएको गृहसहित उपप्रधानमन्त्री अथवा अर्थसहित उपप्रधानमन्त्री पाएमा आफ्नै नेतृत्वमा सरकारमा सरकारमा आउन सक्ने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइसकेका छन् । १० पुसमा भएको सहमति अनुसार सरकारमा जाँदा रास्वपाले उपप्रधानमन्त्रीसहित गृह, शिक्षा विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री लिएर सरकारमा गएको थियो । तर १३ माघमा लामिछानेको नागरिकता सर्वोच्च अदालतले बदर गरिदिएपछि उनको सांसद पद गएको थियो । त्यसपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

प्रधानमन्त्री दाहालले अहिले पनि रास्वपालाई सरकारमा ल्याउने पहल गरिरहेका छन् । रास्वपा नेताहरूसँग प्रधानमन्त्रीले अनौपचारिक कुरा गरिरहेको उनी निकट स्रोतले बतायो रविलाई उपप्रधानमन्त्रीसहित अर्थ र गृहबाहेकका मन्त्रालय लिएर सरकारमा आउन प्रधानमन्त्रीले पहल गरिरहेका छन् । प्रधानमन्त्रीलाई रोजेको मन्त्रालय दिएर सरकारमा आउन उनकै मन्त्रिपरिषद्का सदस्य तथा माओवादी नेताहरूले सुझाइरहेका छन् । माओवादी नेता एवं सस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा भने, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनु पर्छ ।’

अहिले प्रधानमन्त्री दाहालसँग ४ मन्त्रालय छन् । ती मन्त्रालयमध्य सत्तारुढ दल कांग्रेसको भागमा परेको ३ मन्त्रालयमा मन्त्री पठाएको छैन । कांग्रेससँग मन्त्रीको नाम नमागेर प्रधानमन्त्री दाहालले रास्वपालाई सरकारमा ल्याउने पहल गरिरहेका छन् । यही परिपेक्षमा अर्यालले रविलाई नै दलको नेता उपयुक्त हुने ठाने भन्ने वाक्यासं उल्लेख गर्दै राजीनामा दिएपछि रवि आफ्नै नेतृत्वमा पुनः सरकारमा जान हतार गर्दै अर्याललाई राजीनामा दिन लगाएका त होइनन् भन्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

रास्वपाका एक नेताले रविलाई संसदीय दलको नेता बनाउन अर्याललाई राजीनामा दिन भनिएको बताए ।

प्रतिक्रिया