शुक्रबार, वैशाख २१, २०८१

संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाले दियो तीन सांसदको नाम

कांग्रेस, एमाले र माओवादी केन्द्रका एक- एक जना सांसदको नाम अनुमोदन

मेरोन्यूज २०८० वैशाख १३ गते १४:४८

काठमाडौं । संसदको विशेष समितिको रुपमा रहेको संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाले आफनो सभाबाट मनोनयन गर्नुपर्ने तीन जना सांसदको नाम अनुमोदन गरेको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो । सुनुवाई समितिमा १५ जना सदस्य हुनेछन् । जसमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ जना हुनेछन् ।

समितिमा राष्ट्रिय सभा सदस्यहरु रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा सदस्यका रुपमा रहनेछन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी गराएका थिए ।

बैठकले सर्वसम्मत रुपमा उक्त नाममा सहमति जनाएको थियो । शर्मा नेकपा माओवादी केन्द्र, दाहाल नेकपा एमाले र रायमाझी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपालको संविधानले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरुको नियुक्तिअघि संसदीय सुनुवाई गर्ने व्यवस्था गरेको छ ।

प्रतिनिधिसभामा भने यो नामका बारेमा प्रस्ताव आएको छैन । कांग्रेस एमाले बाट चार चार जना, माओवादी, रास्वपा, राप्रपा र जनता समाजवादी पार्टीबाट उक्त समितिमा एक- एक जना सदस्य रहने गरी प्रमुख तीन दलका नेताहरुका बीचमा भागवन्डा मिलेको छ ।

यधपी प्रतिनिधिसभामा नाम प्रस्तावमा मुख्य तीन दलले नै नाम दिन नसकेका कारण विलम्ब भईरहेको छ ।

प्रतिक्रिया