सोमबार, वैशाख १७, २०८१

प्रहरीका पूर्वअधिकृतद्वय सर्वेन्द्र र रमेशलाई फापेन निर्वाचन

मेरोन्यूज २०८० वैशाख १३ गते १०:५६

काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र पूर्वनायब महानिरीक्षक रमेश खरेललाई २०७९ र २०८० मा भएका दुई निर्वाचन फापेनन् । एकै ब्याजका दुई पूर्वअधिकृत दुई पटक नै निर्वाचन लडे, दुवै पटक पराजित भएका छन् ।

पछिल्लो पटक १० बैशाखमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा यी दुई अधिकृत फरक–फरक पार्टीबाट निर्वाचनमा उम्मेदवार बनेका थिए ।

सर्वेन्द्र तनहुँ १ बाट नेकपा एमालेका उम्मेदवार बने भने रमेश बारा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बने ।
सर्वेन्द्र तनहुँ–१ बाट नेकपा एमालेका उम्मेदवार बनेका उनले तेस्रो मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याएर निर्वाचन जित्दा खनालले ८ हजार ४८८ मत ल्याए । दोस्रो भएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई २० हजार एक सय २२ मत ल्याए ।

खनाल ४ मंसिरमा भएको निर्वाचनमा एमालेबाटै काठमाडौं ६ बाट उम्मेदवार बनेका थिए । त्यसबेला भने निकटतम प्रतिद्वन्दी भएका थिए । एउटा संयोग के परेको छ भने उनलाई हराउने उम्मेदवार मंसिर ४ र बैशाख १० को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकै छन् ।

४ मंसिरमा काठमाडौँ ६ बाट रास्वपाका शिशिर खनाल १४ हजार दुई सय ४ मत ल्याएर विजयी हुँदा सर्वेन्द्रले ८ हजार ९ सय १९ मत ल्याएर दोस्रो भएका थिए । अघिल्लो निर्वाचनभन्दा अहिले फरक फरक स्थानबाट लड्दा पनि उनले पोजिसन र मत दुवै घटाएका छन् ।

रमेश मंसिर ४ को निर्वाचनमा काठमाडौं १ मा राष्ट्रिय सुशासन पार्टीको उम्मेदवार भएर निर्वाचन लडेका थिए । त्यसबेला पाँचौ स्थानमा पर्दै खरेलले ३ हजार १२४ मत ल्याएका थिए । त्यसबेला काठमाडौं १ मा लड्दा नेपाली कांग्रेसका प्रकाशमान सिंहले ७ हजार १४३ मत ल्याएर निर्वाचन जितेका थिए ।

अहिले बारा–२ बाट पार्टी परिवर्तन गसिर रास्वपाबाट निर्वाचन लड्दा खरेलले पोजिसन सुधार गरेर चौँथोमा आएका छन् । तर मत भने घटेको छ । अहिले उनको पक्षमा दुई हजार ८२९ मत आएको छ । त्यहाँ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मत ल्याएर विजयी भएका छन् ।

प्रहरीमा हुनेबेला रमेश र सर्वोन्द्रबीच प्रतिष्पर्धा भएको थियो । प्रतिष्पर्धामा प्रहरी नायब महानिरीक्षकबाट बाजी मार्दै प्रहरी महानिरीक्षक बने भने खरेल महानिरीक्षक बन्न नपाएपछि राजीनामा दिए ।

अवकाशपछि भने दुवैले राजनीति रोजे । तर, दुई दुई पटक भुगोल परिवर्तन गरेर निर्वाचन लड्दा पनि सफलता हात पार्न सकेनन् ।

सर्वेन्द्र अहिले निर्वाचन लड्न गएको तनहुँ आफ्नै जिल्ला भए पनि मतदाताले पत्याएनन् ।

प्रतिक्रिया