सोमबार, वैशाख १७, २०८१

तनहुँ- १ उपचुनाव

तनहुँमा गोविन्द भट्टराईले जिते किसान श्रेष्ठ मन्त्री बन्ने !

चुनावपछि किसान श्रेष्ठलाई मन्त्री बनाउने र हरिवहादुर चुमनलाई गण्डकी प्रदेशको दोस्रो कार्यकालका लागि मुख्यमन्त्री दिने भद्र समझदारी

शित्तल शर्मा २०८० वैशाख ७ गते २०:३४

काठमाडौं । तनहुँको डुम्रे बजारमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा बुधबार गोविन्द भट्टराई चुनाव जिते मन्त्री बन्ने चर्चा चल्यो । त्यस्तो चर्चा अरु नेताहरुले चलाएका होइनन् । कांग्रेस सभापति शेरबहादुर देउवादेखि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मले गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बन्ने चर्चा गरे ।

१० वैशाखमा हुन लागेको तनहुँ १ को उपचुनावमा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द उम्मेदवार छन् । एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कांग्रेस छाडेर स्वर्णिम वाग्ले चुनावी मैदानमा छन् ।

चुनावमा गोविन्दलाई रास्वपाका स्वर्णिमले आच्छुआच्छु पार्ने देखेपछि बुधबार आयोजित चुनावी सभामा कांग्रेस सभापतिदेखि प्रधानमन्त्रीसम्मले गोविन्द भट्टराईलाई तनहुँबासीले जिताएर पठाए मन्त्री बनाउनेसम्मका चर्चा गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गोविन्द भट्टराई रामचन्द्र पौडेल जत्तिकै योग्य भएकाले जिताएर पठाएर मन्त्री बन्ने प्रसंग निकालेका थिए । देउवाले चुनावी सभामा भनेका थिए, ‘तपाईंहरूले रामचन्द्र जीलाई जिताएर पठाउनु भयो, मैले राष्ट्रपति बनाएँ, गोविन्द भट्टराई पनि रामचन्द्रजत्तिकै योग्य हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनुहोस् । उहाँ पनि मन्त्री हुनुहोला ।’

देउवापछि सभालाई सम्वोधन गरेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि देउवाको बोलीमा लोली मिसाए । उनले गोविन्दलाई जिताएर पठाउन आग्रह मात्रै गरेनन् । मन्त्री बनाउने जिम्मा आफू प्रधानमन्त्री भएकाले लिनेसमेत ठोकुवा गरे ।

‘तपाईहरुले रामचन्द्र जी जस्तै गठबन्धनका साझा उम्‍मेदवार गोविन्द रूख चिह्नमा मतदान गरेर विजयी गराउनुस् । बाँकी काम शेरबहादुर देउवा जीले जिम्मा दिइसक्नु भयो । म शेरबहादुर देउवाजीसँगै छु । मन्त्री बनाउने जिम्‍मेवारी मेरो भएको घोषणा गर्दछु । किनकी प्रधानमन्त्री अहिले म भएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

चुनावी सभामा गठबन्धन दलका नेताहरुले मंसिरमा पनि त्यसै गरी जहाँ भाषण गर्न पुगे, त्यहीका उम्मेदवारलाई मन्त्री बनाउने बचन दिएर फर्केका थिए । ठीक त्यसैगरी तनहुँको डुम्रे बजारमा आयोजित चुनावी सभामा पनि प्रधानमन्त्री प्रचण्ड देखि कांग्रेस सभापति देउवासम्मले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई मन्त्री बनाउने अफर जनताका बीचमा सुनाए ।

मतदाताका बीचमा गोविन्दलाई मन्त्री बनाउने अफर बाँडेर काठमाडौं फर्केका उनीहरुले काठमाडौंको बन्दकोठामा भने अर्काे खाले सहमति गरेको खुलेको छ । प्रचण्ड, देउवा, माधव नेपाललगायतका नेताहरुका बीचमा तनहुँमा गोविन्द भट्टराईले चुनाव जिते एकीकृत समाजवादीका नेता किसन श्रेष्ठलाई मन्त्री बनाउने भित्री समझदारी गरेका छन् । त्यही सहमतिका आधारमा अहिले किसन श्रेष्ठ भट्टराईलाई जिताउन तनहुँमै अडडा जमाएर खटिरहेका छन् ।

एकीकृत समाजवादी निकट स्रोतका अनुसार, यस्तो सहमति २ बैशाखमा बालुवाटारमा तीन शीर्ष नेताका बीचमा भएको हो । किसन श्रेष्ठ २०७४ सालमा अहिले उपचुनाव हुन लागेको तनहुँ १ बाट निर्वाचित भएका थिए । उनले कांग्रेसका तत्कालिन वरिष्ठ नेता तथा हालका राष्ट्रपति रामचन्द्र पौडेललाई झण्डै ७ हजार बढी मतान्तरमा पराजित गरेका थिए ।

श्रेष्ठ त्यसवेला एमालेबाट उम्मेदवार थिए । उनलाई माओवादी केन्द्रको पनि साथ र समर्थन थियो । तर अहिले श्रेष्ठ एकीकृत समाजवादीमा छन् । उनले गत मंसिरको चुनावमा उक्त क्षेत्र रामचन्द्र पौडेललाई छोडेर बारा ४ मा चुनाव लड्न पुगेका थिए । त्यहाँ पनि श्रेष्ठले भारी मतान्तरमा चुनाव जितेका थिए । श्रेष्ठको आफ्नो गृहजिल्ला, आफुले चुनाव समेत जितेको निर्वाचन क्षेत्र समेत रहेकोले उपचुनाव हुन लागेको तनहुँ १ मा उनको आफनो ब्यक्तिगत प्रभाव बाक्लो नै छ ।

कांग्रेसले पार्टीभित्रकै विद्रोही समुह गोविन्दराज जोशी समुहलाई फकाउने प्रयास गरेपनि त्यो प्रयास सफल नभएपछि किसन श्रेष्ठलार्इ फकाउने नीतिमा पुगेको हो । जोशी समुहले यस क्षेत्रमा कांग्रेसलाई नै बागी विद्रोही उठेर तनाव दिँदै आएका छन् । गत चुनावमा पनि जोशीले स्वतन्त्र चुनाव लडेर ६ हजार बढी मत ल्याएका थिए । तर जोशीलाई कांग्रेसले फकाउन सकिरहेको छैन । त्यही भएर कांग्रेसले आफ्नो विरासत जोगाउन पनि एकीकृत समाजवादीसाग सौदावाजीमा सहमति गरेको हो ।

श्रेष्ठको पार्टी एकीकृत समाजवादी अहिले सत्ता गठबन्धनमै छ । तनहुँ १ मा उसको पनि माओवादी केन्द्रकै जस्तो उम्मेदवार छैन । कांग्रेसका गोविन्द भट्टराई नै एकीकृत समाजवादीको पनि आधिकारिक साझा उम्मेदवार हुन् । तर पनि एकीकृत समाजवादीका नेता श्रेष्ठ तनहँको चुनाव प्रचारमा नजुटेर काठमाडौंमा नै बसिरहेका थिए ।

गोविन्द भट्टराई लाई जिताउन विद्रोही जोशी समुहलाई फकाउने र विग्रेको कांग्रेसको माहोल बनाउने योजनामा सभापति देउवा लागेका थिए । उनले गोविन्दराज जोशी समुहका तर्फबाट उनका छोरा दीपकराज जोशीसँग छलफल नै गरेका थिए ।

जोशीसहितको उनको समुहमाथीको कांग्रेसले गरेको कारवाही फुकुवा गर्ने र जोशी समुहका ४ जना नेतालाई केन्द्रीय समितिमा स्थान दिने विषयमा देउवा वार्ताका क्रममा सहमत भएका थिए । तर जोशीले आफुलाई पार्टीको बरिष्ठ नेता दिनुपर्ने प्रस्ताव देउवासँग राखे । देउवाले त्यसमा भने नमानेपछि जोशी समुह अहिले गोविन्द भट्टरालाई सघाउने पक्षमा देखिदैन । जोशी समुहका नेता कार्यकर्ता स्वर्णिम वाग्लेतिर ढल्कने संकेत पाएपछि देउवाले भने जोशीसहितको कारवाही कांग्रेसले फुकुवा गर्ने निर्णय लिएका थिए । अहिले जोशीमाथीको कुनै कारवाही कांग्रेसले चलाएको छैन । तर जोशी सहज फक्किने स्थिती देखिएको छैन ।

कांग्रेसले यही बुझेर नै माओवादी र एकीकृत समाजवादीको मतलाई भने दायाँबायँ हुन नदिने थप रणनीति बनाएको हो । त्यही रणनीति बनाउन गत शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड, देउवा र माधव नेपालसहितको बैठकमा एकीकृत समाजवादीका किसन श्रेष्ठलाई मन्त्री बनाउने समझदारी बनेको हो ।

देउवाकै अग्रसरतामा शनिबार एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठलाई मन्त्री बनाउने विषयमा र आइतबार गण्डकी प्रदेश सरकारमा माओवादी प्रदेश संसदीय दलका नेता हरि चुमनलाई आधा कार्यकाल मुख्यमन्त्री दिने विषयमा बालुवाटारमा छलफल भएको थियो । शीर्ष नेताहरू दाहाल, देउवा र नेपालबीच भएको छलफलमा चुनावपछि श्रेष्ठलाई मन्त्री बनाउने र चुमनलाई दोस्रो कार्यकालका लागि मुख्यमन्त्री दिने भद्र समझदारी बनेको छ ।

चुमन तनहुँ–१ (२) बाट निर्वाचित सांसद हुन् । काठमाडौंमा रहेका श्रेष्ठ सत्ता बार्गेनिङमा कुरा मिलेपछि मात्रै तनहुँको निर्वाचनमा खटिएका छन् । माओवादी पनि मैदानमा उत्रिएको छ ।

तनहुँमा रहेका श्रेष्ठ अहिले कांग्रेसका उम्मेदवार भट्टराईको पक्षमा खरो गरी उत्रिएका छन् । उनले रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेमाथी आmमणको तारो बनाउन थालेका छन् ।

एकीकृत समाजवादीका श्रेष्ठलाई कांग्रेसको भागमा परेको कोटाबाट या आम आदमी का प्रभु साह या अमरेस सिंहका लागि छटाटइएको मन्त्रालयबाट मन्त्री बनाउने समझदारी छ । तर श्रेष्ठलाई मन्त्री बन्न एउटै शर्त गठबन्धन दलका, त्यसमा पनि मुख्य प्रधानमन्त्री र देउवाको हातमा रहेको जानकारहरु वताउँछन् । त्यस्तो शर्त हो -‘उपचुनावमा गोविन्द भटटराईले जितेमात्र किसान श्रेष्ठ मन्त्री बन्ने ।

आफू मन्त्री बन्नका लागि जसरी भएपनि भट्टराईलाई उपचुनाव जिताउन त्यही भएर किसान श्रेष्ठ यतिवेला तनहुँमा आक्रामक रुपमा खटिएका छन् ।

प्रतिक्रिया