बिहीबार, वैशाख २०, २०८१

राष्ट्रियता रक्षाको प्रश्नबारे

चित्रवहादुर केसी २०८० वैशाख २ गते २१:०८

नेपालको राजनीतिक इतिहासमा प्रतिगमनका विरुद्ध सङ्घर्षको लामो र गौरवपूर्ण इतिहास रहेको छ । जनताको लामो सङ्घर्ष र बलिदानद्वारा नेपाली जनता राजतन्त्रलाई पराजित गर्न र गणतन्त्रको स्थापना गर्न सफल भएका छन् । तर गणतन्त्रको स्थापना भएदेखि नै प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त गर्नका लागि अभियान चलाउँदै आइरहेका छन् ।

नेपाली जनताले २०४६ साल र ०६२/०६३ का महान ऐतिहासिक आन्दोलनद्वारा त्यसलाई पराजित गर्न सफल भएका थिए र अहिले पनि प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध आफ्नो अभियान कायम राखेका वा पूर्व राजाको प्रत्यक्ष सहभागितामा त्यसलाई बढाउँदै लगिरहेका छन् । अब उनीहरूले संसदभित्र पनि त्यसका लागि आवाज चर्को पार्दै लगिरहेका छन् । त्यसकारण अहिले पनि प्रतिगमनका विरुद्धको सङ्घर्षलाई हामीले गम्भीर रूपमा लिनुपर्दछ र त्यसका विरुद्ध भएका सबै शक्तिहरूले ऐक्यवद्धता कायम गरेर नेपाली जनताले ऐतिहासिक आन्दोलनद्वारा प्राप्त उपलब्धिहरूको रक्षा गर्न उच्च सतर्कता अपनाउनुपर्ने र सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ ।

अहिले देशको राष्ट्रियता र सार्वभौमिकताका विरुद्ध पनि खतरा बढ्दै गइरहेको छ । भारतीय साम्राज्यवादद्वारा नेपालमा पहिलेदेखि नै हस्तक्षेप वा अतिक्रमण हुँदै आएको छ । त्यस सन्दर्भमा कालापानी क्षेत्रमा भारतीय सेनाद्वारा गरिएको कब्जा विशेष रूपमा उल्लेखनीय छ । अमेरिकी साम्राज्यवादले पनि पहिलेदेखि नै नेपालमा हस्तक्षेप गर्दै आएको थियो । त्यसले नेपाललाई इन्डोप्यासिफिक रणनीति अन्तर्गत ल्याउन योजनवद्ध प्रकारले काम गरिरहेको छ ।

त्यही उद्देश्य पूरा गर्नको लागि पनि त्यसले नेपालका विभिन्न राजनीतिक पार्टी र सरकार समेतमाथि दबाब दिएर संसदबाट एमसीसीलाई पारित गराएको थियो भने एसपीपीलाई पनि पारित गराउन पूरै शक्ति लगाएको थियो, यद्यपि संसदभित्र र बाहिर पनि नेपाली जनताको कडा प्रतिरोधका कारणले त्यो पारित हुन सकेन । तैपनि अमेरिकाले अब प्रत्यक्ष रूपले नेपालमा आफ्नै निर्देशनमा चल्ने राजनीतिक पार्टीको गठन गरेर नेपालको संसद र सरकारमा समेत कब्जा जमाएर नेपालको सम्पूर्ण राज्ययन्त्रलाई नै आफ्ना साम्राज्यवादी उद्देश्यहरूको पूर्तिका लागि प्रयत्न गरिरहेको छ ।

यो कुनै लुकेको कुरा होइन कि अहिले अमेरिकी साम्राज्यवाद संसारका सबै देशहरूको शान्ति, राष्ट्रियता र सार्वभौमिकता समेतका लागि गम्भीर खतरा भएर उभिएको छ । वास्तवमा साम्राज्यवाद नै युद्धको मुख्य स्रोत हो । त्यसले अप्रत्यक्ष वा प्रत्यक्ष रूपले आक्रमण समेत गरेर संसारका विभिन्न देशहरूका सरकारहरूलाई भङ्ग गर्ने र आफ्ना कठपुतली सरकारहरूको स्थापना गर्ने तथा आतङ्कवादी गतिविधि बढाउने समेत गर्दै आएको छ । त्यही विश्वव्यापी रणनीतिलाई त्यसले नेपालमा पनि प्रयोग गर्न थालिरहेको छ । त्यो स्थितिमाथि ध्यान दिंँदै नेपालमा अमेरिकी साम्राज्यवादको सङ्घर्षमा सबै देशभक्त जनताको ध्यान जानुपर्ने आवश्यकता छ । अन्यथा त्यसका कैयौँ दीर्घकालीन र दूरगामी परिणाम हुनेछन् । कैयौँ भावी पुस्ताहरूले त्यस प्रकारका दुष्परिणामहरूलाई भोग्नुपर्नेछ ।

अमेरिकाले प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले गर्ने विभिन्न प्रकारका हस्तक्षेपकारी कारवाहीहरू बाहेक नेपालका विभिन्न राजनीतिक पार्टी सङ्घ–संस्था, बुद्धिजीवि, सञ्चार माध्यमहरूमा समेत भ्रम फैलाएर अमेरिकापरस्त जनमत तयार पार्ने प्रयत्न पनि योजनाबद्ध तरिकाले गरेको पाइन्छ । त्यति मात्र होइन, नेपालबाहिर अमेरिका र अन्य विभिन्न देशहरूमा बसेका नेपालीहरूको बिचमा पनि अमेरिकापरस्त जनमतको निर्माण गर्न अमेरिकाले व्यापक रूपले प्रयत्न गरेको पाइन्छ । त्यसकारण साम्राज्यवादका विरुद्ध उच्च र व्यापक जनचेतना बढाउन हामी सबैको ध्यान जानुपर्ने आवश्यकता छ ।

नेपालको सन्दर्भमा धर्मनिरपेक्षताको व्यवस्था गरिएको छ र सबै धर्महरूलाई आफ्नो आस्थाअनुसार धार्मिक आचरण गर्ने स्वतन्त्रता छ । त्यस प्रकारको स्वतन्त्रतालाई हामीले विरोध गर्दैनौँ । धर्मलाई विभिन्न प्रतिक्रियावादी राजनीतिक उद्देश्यहरूका लागि प्रयोग गर्ने प्रवृत्ति संसारका कैयौँ देशहरूमा पाइन्छ । त्यही प्रकारले भारतमा भाजपाको कट्टर हिन्दुवादी शासकवर्गले हिन्दु धर्मलाई, दलाई लामाले बुद्ध धर्मलाई, तालिवानहरूले इस्लाम धर्मलाई, साम्राज्यवादी शक्तिहरूले इसाई धर्मलाई आफ्ना प्रतिक्रियावादी राजनीतिक उद्देश्य पूर्तिका लागि दुरुपयोग गरिरहेका थुप्रै उदाहरण हाम्रा अगाडि छन् ।

नेपाल पनि त्यस प्रकारका क्रियाकलापहरूबाट बचेको छैन । यहाँ राजावादी शक्तिहरुले हिन्दु धर्मलाई आफ्नो प्रतिगामी उद्देश्य पूर्ति गर्नका लागि प्रयोग गर्न योजनावद्ध प्रकारले प्रयत्न गरिरहेका छन् । तर वास्तविकता यो हो कि नेपाल बहुसङ्ख्यक हिन्दु धर्म भएको देश हो र प्रतिगमन वा राजतन्त्रको विरुद्धको सङ्घर्षमा पनि उनीहरुको ऐतिहासिक भूमिका रहँदै आएको छ । त्यो अवस्थामा नेपालका हिन्दू धर्मावलम्बीहरूलाई हतियार बनाएर राजतन्त्रको पुनस्र्थापना गर्ने उनीहरूको उद्देश्य पूरा हुन नसक्ने कुरा निश्चित छ ।

राजावादीहरूले हिन्दु धर्मलाई प्रतिगामी उद्देश्य पूरा गर्न प्रयोग गरे जस्तै साम्राज्यवादी वा अमेरिकन साम्राज्यवादपरस्त तत्वहरू पनि इसाई धर्मलाई अमेरिकाको साम्राज्यवादी उद्देश्य पूरा गर्न वा नेपालमा अमेरिकी साम्राज्यवादद्वारा सञ्चालित राजनीतिक पार्टीलाई बलियो बनाउनको लागि सकेसम्म प्रयत्न गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । इसाई धर्माबलम्वीहरुलाई पनि आफ्नो आस्थाअनुसार आजापूजा गर्ने स्वतन्त्रतालाई हामीले विरोध गर्दैनौँ । तर धार्मिक आस्थाको नाममा अमेरिकी साम्राज्यवाद वा कुनै पनि साम्राज्यवादको सेवा गर्ने तथा देशको राष्ट्रिय हितमा आघात पुग्ने कुनै पनि काम गर्नु वा त्यस्ता कुनै शक्तिलाई मदत पु¥याउने जस्तो काम कुनै देशभक्त नेपालीले गर्नु हुँदैन । हामीले आशा गर्नुपर्दछ, नेपालका इसाई धर्माबलम्बीहरू पनि त्यस प्रकारको कुनै काममा संलग्न हुने छैनन् भन्ने कुराको हामीले आशा गर्नुपर्दछ ।

यो कुरा दिनको उज्यालो झै छर्ल∙ छ कि नेपालको लागि अमेरिकी साम्राज्यवादको खतरा अत्यन्त गम्भीर बनेको छ । र त्यसको अहिलेको मुख्य योजना आफ्नो इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपाललाई पनि सामेल गर्नु हो । नेपालका विभिन्न राजनीतिक पार्टीहरू वा सरकारमाथि दबाब दिएर वा सिधै आफ्नो प्रत्यक्ष निर्देशनमा चल्ने राजनीतिक पार्टीलाई शक्तिशाली बनाएर त्यसले नेपालमा आफ्नो त्यो उद्देश्य पूरा गर्न चाहन्छ । त्यसरी नेपाल अमेरिकाको इन्डोप्यासिफिक रणनीतिअन्तर्गत गयो भने नेपाल अमेरिकी सैन्य क्याम्पमा मिल्न जानेछ, नेपालको तटस्थ परराष्ट्र नीति समाप्त हुनेछ, नेपाल अमेरिकाको सुरक्षानीति अन्तर्गत जानेछ र त्यसरी अन्तमा शीतयुद्धको अखडा बन्न जानेछ । यी सबै कुराहरूमाथि ध्यान दिँदै अमेरिकी साम्राज्यवादको विरोधको सङ्घर्षलाई उच्च र गम्भीर रूपमा लिन हाम्रो पार्टीले सम्पूर्ण देशभक्त राजनीतिक पार्टी, सङ्घसस्था, बुद्धिजीवि, सञ्चारमाध्यम र आम जनतासित समेत अपील गर्दछ ।

अहिले अमेरिकी साम्राज्यवादको चर्चा गर्ने बेलामा युक्रेनको युद्धबारे पनि उल्लेख नगरिकन बस्नु सही हुनेछैन । युक्रेनमा ठूलो युद्ध भइरहेको छ र त्यसबाट त्यहाँ ठूलो धन जनको क्षति भइरहेको छ । त्यहाँबाट लाखौँ मानिसहरू विस्थापित हुनु परेको छ । त्यहाँ पानी ग्याँस र सामान्य दैनिक उपभोगका वस्तुहरूबाट समेत जनता ठूलो पैमानामा विस्थापित हुनु परिरहेको छ ।

संक्षिप्तमा भन्दा, रूसी आक्रमणको कारणले त्यहाँ भयानक स्थिति उत्पन्न भएको छ । यो कुरामा कुनै शङ्का छैन कि त्यसका लागि प्रत्यक्ष रूपमा रुसी साम्राज्यवाद नै जिम्मेवार छ । तर त्यसको अर्को पक्षतिर पनि ध्यान नदिइकन हामी रहन सक्दैनौँ । किनभने त्यहाँ त्यस प्रकारको युद्धको स्थिति उत्पन्न हुनुको पछाडि अमेरिकी साम्राज्यवाद वा त्यसको नेतृत्वमा रहेको नाटो पनि गम्भीर रुपमा जिम्मेवार छ । नाटोको निर्माण नै सोभियत सङ्घका विरुद्ध मोर्चा बन्दीका लागि भएको थियो ।

अहिले पनि त्यसले रूसको सिमामा मोर्चाबन्दी गर्नका लागि युक्रेनमा आफ्नो कठपुतली सरकार बनाएर त्यसलाई नाटोमा सामेल गर्न खोजेको हुनाले नै त्यहाँ युद्धको स्थिति उत्पन्न भएको हो । युक्रेनमा भइरहेको युद्धमा पश्चिमी एकाधिकार पुँजीपतिहरूलाई हतियारको व्यापारमा ठूलो फाइदा पुगिरहेको छ । त्यसरी युक्रेनको दुर्गति पश्चिमी साम्राज्यवादका लागि नाफाको श्रोत तथा सम्पूर्ण विश्वको लागि गम्भीर वर्वादिको कारण बन्दै गइरहेको छ । त्यसरी आज युक्रेनमा भइरहेको युद्धका लागि रूसी र अमेरिकी दुबै साम्राज्यवादी शक्तिहरू जिम्मेवार छन् र युक्रेनको युद्धको सन्दर्भमा अमेरिका वा रूस मध्ये कुनै एक पक्षलाई मात्र दोषी ठह¥याएर अर्को पक्षलाई सही ठह¥याउनु जस्तो सोचाइलाई हामीले गलत मान्दछौँ ।

नेपालमा सरकारमा, सत्तारुढ विभिन्न राजनीतिक पार्टीहरूमा र आम जनतामा पनि काफी हदसम्म यो धारणा निकै पाइन्छ कि अमेरिकी साम्राज्यवाद निकै शक्तिशाली छ र, त्यसकारण त्यसले जे गरेपनि त्यसका विरुद्ध हामी केही गर्न सक्दैनौँ र हामीले चुपचापसित सहनुपर्छ । त्यसको अर्थ हो, अमेरिकी साम्राज्यवादप्रति हामीले आत्मसमर्पणको नीति अपनाउनु पर्दछ । अमेरिकी साम्राज्यवाद प्रकट रूपमा जतिसुकै शक्तिशाली देखिएपनि वास्तविक रूपमा त्यो कुरा सत्य होइन । एकातिर, त्यसका साम्राज्यवादी नीतिहरूका कारणले विश्वभरमा त्यसका विरुद्ध असन्तोष र आन्दोलनहरू बढ्दै गइरहेका छन् भने अर्कातिर पुँजीवादी उत्पादन प्रणालीभित्रका असङ्गति र अन्तरविरोधहरूका कारणले त्यो झन् पछि झन् तिब्र सङ्कटमा फस्दै गइरहेको छ ।

संसारका विभिन्न भागहरूमा सफल भएका राष्ट्रिय मुक्ति आन्दोलन र पुँजीवादको विकासले विश्व साम्राज्यवादको अवस्था पहिले नै धेरै नै कमजोर भइसकेको थियो भने अब संसारमा कैयौँ नयाँ साम्राज्यवादी देशहरू, जसमा भारत र चीन जस्ता देशहरू पनि आउँछन्, को उदयको परिणाम स्वरुप साम्रज्यवाद झन् झन् सङ्कटको मुखमा पुगिरहेको छ । त्यसरी यो कुरामा कुनै शङ्का रहन जान्न कि विश्व स्तरमा अमेरिकी साम्राज्यवाद धेरै नै कमजोर भएको छ ।

साम्राज्यावाद कमजोर हुनुका साथै त्यसले झन् पछि झन् फासिवादी रूप लिँदै गइरहेको छ । त्यसले विभिन्न देशहरूका प्रतिगामी र फासिवादी शक्तिहरूसँग मिलेर आफ्नो पतनोन्मुख अवस्थालाई बचाउन प्रयत्न गर्दै छ । त्यो अवस्थामा संसारभरका साम्राज्यवाद र फासिवाद विरोधी शक्तिहरूको एकता आजको ऐतिहासिक र अन्तर्राष्ट्रिय आवश्यकता भएको छ । यो प्रसन्नताको कुरा हो कि संसारभरका साम्राज्यवाद र फासिवाद विरोधी शक्तिहरूको एकताको प्रक्रिया पनि अगाडि बढ्दै गइरहेको छ ।

हामीलाई विश्वास छ, त्यस प्रकारको एकताद्वारा नै अमेरिकी साम्राज्यवादलाई पराजित गर्नु सम्भव हुनेछ र पराजित पनि गर्नु पर्दछ । त्यही कुरा सम्पूर्ण विश्वको शान्ति र हितमा हुनेछ । त्यही आशा र विश्वासका साथ हामीले नेपालमा पनि साम्राज्यवाद र फासिवादका विरुद्धको सङ्घर्षलाई अगाडि बढाउने नीति अपनाउनु पर्दछ ।

(केसी राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष हुन्)

प्रतिक्रिया