बुधबार, वैशाख २६, २०८१

सेनामा पाण्डेलाई प्रधानसेनापति बनाउन लबिइङ !

मेरोन्यूज २०७९ चैत १२ गते ११:३९

काठमाडौं । नेपाली सेनाका डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन्स (डिजिएमओ) ताराध्वज पाण्डेलाई भावी प्रधानसेनापति बनाउने गरी तयारी थालिएको छ ।

Advertisement

पछिल्लो समय पाण्डेलाई भावी प्रधानसेनापतिको रुपमा हेर्न थालिएको र उनलाई सकुशल प्रधानसेनापति बनाउने विषयमा छलफल थालिएको निकट स्रोत बताउँछ ।

त्यसका लागि जर्नेल यम सापकोटाको समारोह प्रबन्धबाट हेटौंडा पृतना सरुवा गरिएको छ । ‘सापकोटालाई त्यहाँ सरुवा गराउने योजना पनि पाण्डेले नै मिलाएका हुन्’, स्रोतले भन्यो ।

सापकोटाको ठाउँमा बुटवल बाहिनीका नवराज गुरुङलाई ल्याइएको छ । त्यसअघि महाराजगञ्जस्थित निर्मल निवास पछाडिको चुनदेवी मन्दिर नजिकै पाण्डेको निवासमा फागु पूर्णिमाको दिन ‘होली डिनर’ को आयोजना गरिएको थियो । डिनरमा पाण्डेका जर्नेल सम्धी सापकोटा र तीन तारे जर्नेलहरुको उपस्थिति थियो ।

सरोजप्रताप राणा, सीताराम खड्का र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका एडिसी निरज पौडेलका साथै पूर्व तीन तारे जर्नेलमध्ये पवन पाण्डे पनि डिनरमा भेला भएको बताइन्छ ।

डिनरको निचोड भने ताराध्वजलाई कसरी सकुशल आगामी प्रधानसेनापति बनाउने र अहिलेको सरुवालाई व्यवस्थापन गर्ने रहेको स्रोतले जनाएको छ ।

दुई जना उपरथीहरु पाण्डे र खड्काको म्याद मन्त्रिपरिषदले २०७८ पुस ३० गते थप गरेको थियो ।

२०८१ साल भदौ २४ गते ३ वर्षे कार्यकाल पूरा गरेर प्रभुराम शर्मा नेपाली सेनाको नेतृत्वबाट बाहिरिन्छन् । त्यसपछि अहिले दुई वर्षे कार्यकाल थप भएका उपरथी पाण्डे शर्माको उत्तराधिकारी भएर नेपाली सेनाको ४५ औं प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने लबिइङ भइरहेको छ ।

उपरथी पाण्डे हालका रथी सरोज प्रताप राणा २०८० साल कात्तिकमा अवकास भएपछि रथीमा बढुवा हुने छन् ।

उपरथी ताराध्वज पाण्डेको दुई वर्ष कार्यकाल थप गरेर प्रधानसेनापति बन्ने वातावरण बनाउनका लागि पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापा र जर्नेल पवन पाण्डेले आफ्नो सम्पूर्ण शक्ति उपयोग गरेर लविङ गरेको चर्चा पनि सेनामा चलेको थियो ।

प्रतिक्रिया