सोमबार, वैशाख १७, २०८१

सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भईसकेको छ : माधव नेपाल

मेरोन्यूज २०७९ माघ २१ गते १३:३७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भईसकेको बताएका छन् । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको समेत बताए ।

ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै नेपालले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो ? भनि प्रश्न समेत गरे । संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गरे । उनले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको समेत बताए ।

नेपालले भने, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं–खटपट सुरु भईसकेको छ । यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ? यसै भन्न सकिने अवस्था छैन । हाम्रो ध्यान अरु कुरामा होइन । देश सही दिशामा अघि बढछ कि बढदैन भन्नेमा छ । संविधानको पालना हुन्छ कि हुँदैन भन्नेमा छ । संसदको रोष्टममा उभिएर संविधानको विरोध गरिएको छ । राजतन्त्रको वकालत गरिएको छ । नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्ने कुरा गरिएको छ । संविधानको उलंघन गर्ने मान्छेहरु सरकारको जिम्मेवारीमा बसिरहेका छन भने त्यसले संकटको सन्देश दिन्छ । त्यसैगरी जसले आफैंले संविधान, कानुन र नियमको पालना गर्दैन । आर्दशको उदाहरण प्रस्तुत गर्दैन । त्यस्ताले के दिन्छन जनतामा सन्देश । यी सबै कुराहरुले गर्दा यो सरकारप्रति, अहिलेका मन्त्रीहरुप्रति मान्छे आशावादी हिजो थिए । अहिले निराश हुन थालेका छन । भोट दिएर जिताउनेहरु नै उनीहरुको विरोधमा बोल्न थालेका छन ।’

नेपालले चुनावपछि सत्ता समीकरणको फेरबदलको रहस्य आफूले बल्ल बुझिरहेको पनि बताए । उनले फेरिएको समीकरणकै कारण मुलुकमा संविधान र व्यवस्थाप्रति जोखिम निम्तिएको बताए ।

‘‘यो चुनावमा लोकप्रियतावादी शक्तिले केही गर्छन् कि भन्ने जनतामा छाप छाडे, चुनावमा नतिजा पनि पाए । तर, अहिले त्यसको परिणाम देखिन थालेको छ,’ उनले भने, ‘मन्त्री पदका लागि कुन तहको आशक्ति देखाइरहेका छन् रु त्यो छताछुल्ल छ । आफ्नो स्वार्थ जोडिएको मन्त्रालय लिएर कसरी शक्तिको दुरुपयोग गरिरहेका छन् ? त्यो पनि छताछुल्ल भएको छ ।’

उनले मुलुकमा कहिलेसम्म यस्तै राजनीतिक तलरता रहिरहने हो भनेर कुनै निश्चितता नरहेको बताए । ‘चुनावअघि एउटा समीकरण थियो, परिणाम आएपछि नयाँ समीकरण बन्यो । वास्तवमा त्यसको कारण के रहेछ भनेर मैले त भर्खरै बुझ्दैछु, देउवाजी र प्रचण्डजीको बीचमा प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने सहमति भएको रहेछ, तर ओलीले देउवाजीलाई प्रचण्डलाई नदिनुहोस्, तपाईंलाई प्रधानमन्त्री बनाउन म सहमति दिन्छु भनेर झुक्याएछन्, अहिले बिहान पनि मैले कांग्रेसका नेताहरूलाई भेटेँ । ओलीले देउवालाई कसरी झुक्याएछन् भनेर म त बल्ल थाहा पाउँदैछु ।’

प्रतिक्रिया