सोमबार, वैशाख १७, २०८१

एकीकृत समाजवादीको नजरमा कुन पार्टी कस्ता ? (दस्तावेजसहित)

मेरोन्यूज २०७९ माघ २१ गते १३:२४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज देखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा २४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

नेपालले पेश गरेको प्रतिवेदनमा नेकपा एकीकृत समाजवादी नै नेकपाको सच्चा क्रान्तिकारी पार्टी रहेको दावी गदै संसदमा प्रतिनिधित्व गरेका सवै राजनीतिक पार्टीहरुको चरित्रका बारेमा विश्लेषण गरेका छन् ।

अध्यक्ष नेपालले आफैले १६ महिना अगाडी छोडेर हिँडेको नेकपा एमालेलाई दक्षिणपन्थी र संविधानविरोधी पार्टीका रुपमा चित्रित गरेका छन् । एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी भएको र यसको वर्ग अडान स्पष्ट नभएको अध्यक्ष नेपालले चित्रण गरेका छन् । दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा एमालेको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको माधव नेपालले विश्लेषण गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेको दल माओवादीलाई ढुलमुले चरित्रको रुपमा विश्लेषण गदै नेपालले सत्तास्वार्थका निम्क्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृति माओवादीमा देखिएको विश्लेषण गरेका छन् ।

त्यस्तै नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रतिक्रियावादीको सेवक र दलका रुपमा नेपालले विश्लेषण गरेका छन् । रास्वपा प्रतिनिधिसभा विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितीमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टीका रुपमा नेपालले विश्लेषण गरेका छन् ।

कुन दल कस्ता ? यस्तो छ माधव नेपालले केन्द्रीय समितिमा पेश गरेको दस्ताववेजमार्फत गरेको विश्लेषण :

कांग्रेस : अहिले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका रुपमा रहेको नेपाली कांग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी हो । नवउदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ । तथापी यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिवद्ध रहेको पाइन्छ ।

नेकपा एमाले : प्रतिनिधिसभाको दोस्रो ठूलो दलका रुपमा रहेको नेकपा एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन । दलाल पुाजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ । यो पार्टी संविवधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन । विगतको ब्यवहारलाई हेर्दा यसले आफनो स्वार्थका निम्त्ति संविधान र लोकतन्त्रलाई मास्न बेर लाउँदैन भन्ने देखिन्छ ।

नेकपा (माओवादी केन्द्र) : प्रतिनिधिसभाको तेस्रो ठूलो दलका रुपमा रहेको नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन । शसस्त्र द्दन्द्दबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रीत हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्र प्रति प्रतिवद्ध नै छ । तर, सत्तास्वार्थका निम्क्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृति यसमा देखिएको छ ।

रास्वपा : प्रतिनिधिसभाको चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको पार्टी हो । यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यादिशा केही पनि स्पष्ट छैन । संविधानवादको कुरा गरेपनि गणतन्त्र र संघीयताप्रति यसको दृष्टिकोण के हो भन्ने स्पष्ट छैन । यो पार्टी प्रतिनिधिसभा विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितीमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोकप्रियताबादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने गर्दछ । यसले पनि त्यही भूमिका निर्वाह गदैछ ।

राप्रपा : प्रतिनिधिसभाको पाचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सामान्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टी हो । यो पार्टी समाजमा अवशेषको रुपमा रहेको सामान्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र संघीयता विरोधी पार्टी हो । यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फयाँकेको सामान्ती राजतन्त्रलाई पूर्नस्थापना गर्न चाहान्छ ।

जसपा : प्रतिनिधिसभाको छैटौं स्थानमा रहेको जनता समाजवाद िपार्टी प्रजातान्त्रिक समाजवादी सिद्धान्त अँगालेको पार्टी हो । मुख्यतः मधेस प्रदेशमा प्रभाव राख्ने यो पार्टी मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध रहेको छ ।

जनमत पार्टी : प्रतिनिधिसभाको आठौं स्थानमा रहेको जनमत पार्टी विगतमा मधेसलाई नेपाली उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनु पर्दछ भन्ने पृथकतावादी सोच अंगालेको पार्टी हो । तर अहिले संविधान मान्ने र त्यस अन्र्तगत रहेर राजनीति गर्ने गरी अगाडी बढेको छ । यो पार्टी गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध रहेको छ ।

लोसपा : प्रतिनिधिसाभाको नवौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी बुर्जुवा चरित्रको पार्टी हो । मुख्य गरी मधेस प्रदेशमा केन्द्रीत रहेको र मधेसका मुद्धामा नै बढी चासो राख्ने यो पार्टी पनि मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो । यो गाण्तन्त्र र संघीयताप्रति प्रतिवद्ध रहेको छ ।

नाउपा : संसदको दशौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टी जातिय पहिचान र अधिकारमा जोड दिने पार्टी हो । यो पार्टी थारु जतिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएर संगठित एवंम क्रियाशील छ । यसको वर्ग चरित्र स्पष्ट छैन ।

नेमकिपा : प्रतिनिधिसभाको एघारौं स्थानमा रहेको नेपाल मजदुर किसान पार्टी जडसूत्रवादी एवंम अत्यन्त संर्कीण चरित्रको कम्युनिष्ट पार्टी हो । यो पार्टी मूलतः श्रमजीवि वर्गको पक्षमा उभिन्छ । तर नेतृतवमा रहेको निम्नमध्यमवर्गीय जड्ता र संंकीर्णताले गर्दा निरन्तर खुम्चदै गएको छ । भक्तपुर जिल्लामा सिमिति यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिवद्ध छ ।

राजमो : प्रतिनिधिसभाको बाहौं स्थानमा रहेको राष्ट्रिय जनमोर्चा नेकपा (मसाल)को खुल्ला राजनीतिक संगठन हो । यो संविधान र गणतन्त्रप्रति प्रतिवद्ध तर संघीयता विरोधी पार्टी हो ।


नेकपा (एकीकृत समाजवादी) : नेपाली श्रमजीवि वर्गको सच्चा प्रतिनिधिका रुपमा रहेको पार्टी प्रतिनिधिसभाको सातौं सथानमा छ । यो पार्टी वर्तमान संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध रहादै समाजववादी कार्यदिशा अंगालेर अगाडी बढिरहेको छ । हामीले आजभन्दा करिव १६ महिना पहिले तत्कालिन नेकपा एमालेमा ब्याप्त दक्षिणपन्थी अवसरबाद एवं विर्सजनवाद, ब्यक्तिवादी अहंकारबाद, निरंकुश एवं स्वेच्छाचारी प्रवृत्ति र चरम गुटबन्दीको साथै संविवधानमाथीको आक्रमण र जनक्रान्तिका उपलब्धीमाथीको धावा बोल्ने प्रतिगमनकारी कदमका विरुद्ध विद्रोह गरेर पार्टी पूर्नगठन अभियान सुरु गरेका थियौं । यो अभियान अहिले पनि जारी छ । आजको राजनीतिमा सैद्धान्तिक रुपले हामी नै नेकपाका सच्चा प्रतिनिधि हौं । तर एमालेबाट विद्रोह गरी आएको हुनाले त्यसका कैयन विसंगतिहरु हामीसँग पनि आएका छन् । हामीले ति विसंगतिहरुबाट आफुलाई मुक्त गरेर अगाडी बढ्नु पर्दछ ।

प्रतिक्रिया