सोमबार, वैशाख १७, २०८१

सन् २०२२ मा एयरबसद्वारा ६६१ व्यावसायिक विमान उत्पादन

मेरोन्यूज २०७९ पुष २७ गते २०:५७

काठमाडौँ । एयरबसले सन् २०२२ मा ६६१ वटा व्यावसायिक विमान ग्राहकलाई उपलब्ध गराएको जनाएको छ ।

कम्पनीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “सन् २०२२ मा हामीले ८४ जना ग्राहकलाई ६६१ विमानलाई ग्राहक समक्ष पुर्याएका छौँ, यो संख्या सन् २०२१ को तुलनामा ८ प्रतिशतले बढी हो ।”

सन् २०२२ मा कम्पनीको ‘ए ३२०’ सबैभन्दा लोकप्रिय विमान प्रकार बनेको छ । यो नमूनाका विमानहरू विश्वभर ५१६ वटा ग्राहकलाई हस्तान्तरण गरिएको थियो ।

यद्यपि, उक्त अवधिमा कम्पनीको नयाँ नमूनाको विमान ‘ए ३५०’ भने ६० वटा बजारमा पठाइएको थियो । एयरबसका प्रमुख कार्यकारी अधिकृत गुयलाउम फाउरीले व्यावसायिक विमानको आपूर्ति लक्ष्यभन्दा कम भएको बताए ।

एयरबसले सन् २०२२ मा एक हजार ७८ नयाँ विमानका लागि निवेदन दता भएको र डिसेम्बर अन्त्यसम्ममा सात हजार विमान निर्माणको क्रममा विभिन्न अवस्थामा रहेको उनको भनाइ थियो ।

“मालवाहक जहाजसहित हाम्रा सबैप्रकारका विमानहरूलाई समेट्ने महत्वपूर्ण मागले हाम्रो उत्पादन लाइनको शक्ति र प्रतिस्पर्धात्मकतालाई प्रतिबिम्बित गर्दछ,” फाउरीले भने ।

जुलाई २०२२ मा, फाउरीले आपूर्ति श्रृङ्खलाको समस्याको कारण विमान हस्तान्तरण गर्ने लक्ष्य ७२० रहेपनि यो सङ्ख्या लगभग ७०० को हाराहारी रहने बताए ।

प्रतिक्रिया