शनिबार, वैशाख २२, २०८१

७ वर्षपछि प्रचण्ड र बाबुराम फेरि एउटै पार्टीमा

एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने, दोस्रो वरीयतामा रहेर भट्टराईले पार्टी काममा समय लगाउने

शितल शर्मा २०७९ पुष २४ गते ७:५५

काठमाडौँ । दशकौं सँगैं रहेर सात वर्ष अगाडी अलग भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भटटराई अन्ततः फेरि एकै ठाँउमा आउने भएका छन् ।

Advertisement


फाष्ट ट्याक विधिबाट दुई पार्टी एकता गर्ने र प्रचण्डपछिको दोस्रो बरियतामा रहेर डा बाबुरामले पार्टी काममा ध्यान दिने गरी दुई पार्टीका बीचमा एकता हुन लागेको हो ।

एकतापछि प्रचण्डले पार्टी नाममा रहेको माओवादी केन्द्र छोडने र भटटराईले पनि नेकपालाई पार्टीका रुपमा स्वीकार गर्ने सैद्दान्तिक सहमति पछि दुई नेता फेरि ७ वर्षपछि एकै पार्टीमा रहेर अगाडी बढ्न तयार भएका हुन् । त्यसका लागि दुवै पार्टीले पार्टीगत रुपमा एकताका लागि कार्यदल बनाउने र ती कार्यादलले गर्ने आन्तरिक तयारी लगत्तै एकता गर्ने समझदारी बनेको छ ।

दुई पार्टी एकतापछि पार्टीको नाम नेकपा समाजवादी राख्ने समझदारी पनि प्रचण्ड र बाबुरामका वीचमा भएको छ । माओवादीले एकताका लागि उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव प्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जर्नादन शर्मा र शक्तिबहादुर बस्नेत रहेको वार्ता टोली शनिबार नै गठन गरिसकेको छ ।

नेपाल समाजवादी पार्टीले वार्ता टोली आजको राजनीतिक समितिको बैठकबाट बनाउने छ । ‘उहाँहरु (माओवादी)ले वार्ता टोली बनाईसक्नुभएको छ , हामी पनि आजको बैठकबाट बार्ता टोली बनाउनेछौं, त्यसपछि एकता प्रक्रिया दूत्र गतिमा अगाडी बढ्नेछ,’ नेसपाका नेता गंगानारायण श्रेष्ठले मेरोन्यूजसँग भने ।

संविधानसभाबाट संविधान निर्माण भएलगत्तै डा बाबुराम भटटराई २०७२ असोज ९ मा माओवादी मुख्यालय पेरिसडाँडालाई ‘भूकम्पमा भत्किएको रातो घर’ को संज्ञा दिँदै माओवादी छोडेर नयाँ शत्तिः निर्माण अभियानमा लागेका थिए ।

त्यसक्रममा भटटराईले उपेन्द्र यादवसँगको एकता, लोसपामा रहेका अहिलेका नेताहरुसँगको पनि एकता गरेर अगाडी बढेका थिए । तर त्यो फलदायी नभएपछि उनी फेरि माओवादी केन्द्रसँगकै एकतामा अगाडी बढन् तयार भएका हुन् ।

त्यस्तै प्रचण्डले पनि नेकपा एमालेसँग यो वीचमा पार्टी एकता गरेका थिए । तर त्यो एकता पनि नटिकेपछि प्रचण्ड पनि बाबुरामलाई फेरि एकै पार्टीमा भित्राएर सहकार्य गर्न तयार भएका हुन् । त्यसपछि यी दुई नेताले पटक पटक गरेको वार्ता र सम्वादपछि एकताको वाताबरण बनेको हो ।

बाबुरामले आफुले चुनाव लड्दैं आएको क्षेत्रमा यसपटक प्रचण्डलाई छोडेका थिए भने बाबुरामका पार्टी नेताहरुले माओवादीकै चुनाव चिन्ह्रमा चुनाव लडेका थिए ।

शनिबार बाबुराम र प्रधानमन्त्री समेत रहेका प्रचण्डका बीचमा बालुवाटारमा भएको छलफल पछि दुवै पार्टी एकतामा जाने सैद्धान्तिक सहमतिमा पुगेका हुन् । एकताका लागि माओवादी नाम परिवर्तन गर्नुपर्ने डा बाबुराम भटटराईको माग थियो । त्यसमा प्रचण्डले सहमति जनाएका छन् । प्रचण्डले बाबुरामलाई नेकपा मान्नुपर्ने शर्त राखेका थिए । त्यसमा बाबुरामले सहमति जनाएका छन् ।

‘प्रचण्डले बाबुरामजीलाई नेकपा मान्नुपर्ने र बाबुरामले माओवादीको नाम फेरेर समाजवादी राख्नुपर्नेमा दुवै नेता सहमत भएपछि एकताको बाटो खुलेको हो,’ माओवादी केन्द्रका एक पदाधिकारीले मेरोन्यूजसँग भने, –‘अव एकता प्रक्रियाले गति लिन्छ ।’

माओवादीका ती नेताका अनुसार पार्टी एकतापछि प्रचण्डले अध्यक्षका रुपमा पार्टी र प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्नेछन् । बाबुरामले भने दोस्रो वरियतामा रहेर पार्टी काममा ध्यान दिनेछन् । त्यस्तै, बाबुरामले प्रधानमन्त्री प्रचण्डलाई सरकारको काममा पनि बाहिरै बसेर गर्नुपर्ने सहयोग गर्नेछन् ।

सुरुमा यी दुई पार्टीबीच एकता गरेपछि प्रभु साह नेतृत्वमा रहेको नेपाल आम जनता पार्टीसँग दोस्रो चरणमा एकता प्रक्रिया अगाडी बढाउने उनीहरुको तयारी छ । त्यसलगत्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्टिय अभियानसँग पनि एकता छलफल गर्ने उनीहरुको निश्कर्ष छ ।

यो प्रक्रिया अगाडी बढदै गए अन्तिममा नेकपा एमालेसँग पनि वृहत वाम एकताका लागि छलफल गर्न सक्ने गरी माओवादी अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भटटराईका वीचमा समझदारी बनेको छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया