आइतबार, वैशाख २३, २०८१

माओवादीमा दौरा सुरुवाल मोह

प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवाल लगाएर सपथ लिएपछि सुदूरपश्चिमका माओवादी सांसदले पनि दौरा सुरुवालमै सपथ लिएका छन्

शितल शर्मा २०७९ पुष १५ गते १७:०१

काठमाडौं । नेकपा (माओवादी) अध्यक्ष प्रचण्ड तेस्रो पटक प्र्रधानमन्त्रीको सपथ लिँदा पुस ११ गते दौरा सुरुवालमा थिए । त्यस अगाडी हमेसा सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदा टाइ-सुट र भादगाउँले टोपी लगाउँथे । प्रचण्डले दौरा सुरुवालमा सपथ लिएपछि उनको पोशाकका विषयमा निक्कै चर्चा पनि भए ।

Advertisement

कतिपयले प्रचण्डको दौरा सुरुवाल लगाएर सपथ लिएको घटनाको प्रसंसा र तारिफ पनि गरे । तर कतिपय पार्टीभित्रकै नेताहरुले भने दौरा सुरुवालमा सपथ लिएकोमा कटाक्ष पनि कसे ।

तर अहिले प्रचण्ड मात्र होइन, माओवादीका अन्य सार्वजनिक पद धारण गरेका नेताहरुले पनि सपथ ग्रहण गर्दा राष्ट्रिय पोशाकका रुपमा रहेको दौरा सुरुवाल लगाएर सपथ लिएको देखिएको छ । शुक्रवार मात्रै पनि माओवादीका सुदुरपश्चिम इन्चार्ज समेत रहेका प्रदेश सांसद खगराज भट्ट लगायतलेका सांसदले पनि दौरा सुरुवालमै सपथ लिए ।

प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा दौरा सुरुवालमा सजिएका प्रचण्ड

काठमाडौंमा प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवालमा सपथ लिएको चर्चा नसेलाउँदै सूदुरपश्चिम प्रदेश सभा सदस्यका लागि आयोजना गरेको सपथ कार्यक्रममा माओवादीका सूदुरपश्चिम इन्चार्ज र मुख्यमन्त्रीको समेत बलियो दावी प्रस्तुत गरिरहेका भट्ट लागयतका नेताहरुले पनि दौरा सुरुवाल लगाएपछि माओवादीमा दौरा सुरुवाल मोह र सिको हुन थालेको चर्चा चुलिएको छ ।

‘हाम्रो सुदुरपश्चिमका वुढापाकाहरुले लगाउने पोशाक यस्तै हो, यस क्षेत्रको पोशाक बढीले यस्तै लगाउँछन। त्यसमाथी हामी खस आर्य हौं। खसहरुको पहचिान दौरा सुरुवाल नै हो । त्यसकारण लगाएको हुँ,’ प्रदेश सभा सदस्यको सपथ दौरा सुरुवाल लगाएर गरेपछि मेरोन्यूजसँग प्रतिक्रिया दिँदै माओवादी नेता भट्टले भने ।

उनका अनुसार माओवादीका प्रदेश सांसदहरुका वीचमा खास पोशाकका विषयमा छलफल भने भएको थिएन । तर केही सांसदहरुले दौरा सुरुवाल नै लगाएर सपथ लिएका छन् ।

‘यो सल्लाह होइन, संयोग हो। केही साथीहरुले पनि दौरा सुरुवाल नै लगाउनुभएछ केहीले पाइन्ट लगाएर पनि सपथ लिनुभएको छ,’ भट्टले भने ।

माओवादीहरू दौरा सुरुवाललाई महेन्द्रीय राष्ट्रवादसँग जोड्ने गर्थे । राजा–महाराजाले नेपालको विविधतापूर्ण समाजमा रहेको जातजाति र संस्कृतिमाथि एक भाषा एक भेषको नीति लादेको भन्दै माओवादी नेताहरूले शान्तिपूर्ण राजनीतिमा आएपछि पनि दौरा सुरुवाल लगाएका थिएनन ।

सूदुरपश्चिम प्रदेश सभाको सपथ ग्रहणमा सहभागी माओवादीका प्रदेश इन्चार्ज र मुख्यमन्त्रीका बलियो आकांक्षीमध्येका नेता खगराज भट्ट सहितका प्रदेश सांसदहरु

१० वर्षे जनयुद्ध गरेर माओवादीका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई पहिलो पटक बालुवाटारमा सार्वजनिक हुँदा पनि उनीहरुको डेस एउटै थियो । शान्ति प्रक्रियामा आएपछि पहिलो पटक २ असार २०६३ मा बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्ड र डा बाबुराम भट्टराई दुवैले खरानी रंगको सर्ट र पाइन्ट लगाएका थिए ।

त्यसपछि यस अगाडी प्रचण्ड दुई पटक प्रधानमन्त्री हुँदासम्म दौरा सुरुवाल लगाएका थिएनन । प्रचण्डले झै डा बाबुराम भट्टराईले पनि प्रधानमन्त्री हुँदा दौरा सुरुवाल लगाएनन् । शीर्ष नेताहरूलाई पछ्याएर माओवादीबाट मन्त्री बनेकाहरूले पनि दौरा सुरुवात लगाएका थिएनन ।

तर २०७२ मा उपराष्ट्रपति बनेका माओवादी लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङले शपथका बेला दौरा सुरुवाल लगाए । मन्त्री हुँदा अहिले एमालेमा रहेका तत्कालीन माओवादी नेता टोपबहादुर रायमाझीले भने दौरा सुरुवाल लगाएका थिए ।

२०६७ सालमा बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा मन्त्री हुँदा उनले दौरा सुरुवाल लगाएका थिए । त्यस्तै कृष्णबहादुर महरा र अग्नि सापकोटाले सभामुख भएपछि दौरा सुरुवाल लगाएका थिए ।

पछि बाबुराम भट्टराईले पनि मध्यपहाडी लोकमार्गबाट पूर्वपश्चिम यात्रा गर्दा कर्णालीमा पुगेर भने दौरासुरुवाल लगाएका थिए । अहिले एमाले उपाध्यक्ष रहेका तत्कालिन माओवादी नेता रामवहादुर थापाले पनि गृहमन्त्रीको पूर्ननियुक्ति लिँदा भने सपथका बेला दौरा सुरुवाल लगाएका थिए ।

बरु, माओवादीमा वरिष्ठ उपाध्यक्ष नेता नारायणकाजी श्रेष्ठ, राम कार्की लगायतका नेताहरूले मन्त्रीको सपथ लिने क्रममा दौरा सुरुवाल लगाएका थिए ।

त्यसबाहेक माओवादीका नेताहरुले सार्वजनिक तथा राजनीकय पद धारण गर्दा दौरा सुरुवाल लगाएको भेटिन्न्थ्यो । तर तेस्रो पटक प्रधानमन्त्री बनेपछि अध्यक्ष प्रचण्डले नै दौरा सुरुवाल लगाएपछि माओवादीका अन्य नेताहरुले पनि त्यसलाई सिको गदै दौरा सुरुवाल लगाउन थालेका छन् । तर उनीहरु यसलाई अध्यक्ष प्रचण्डकै सिको गरेको भने भन्न रुचाउँदैनन ।

‘अध्यक्ष तथा प्रधानमन्त्रीकै सिको गरेको चँही होइन,’ शुक्रवार सूदुरपश्चिम प्रदेश सदस्यको सपथ लिँदा दौरा सुरुवालमा सजिएर आएका माओवादी नेता लेखराज भट्टले भने,–‘खसहरुको पहिचान र बुढापाकाहरुले लगाउने पोशाक लगाएर सपथ लिएको हुँ ।’

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया