शनिबार, वैशाख २२, २०८१

को हुन प्रचण्ड ? यस्तो छ उनको परिचय

मेरोन्यूज २०७९ पुष १० गते १८:१९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६९ सांसदहरुको समर्थनमा तेस्रोपटक प्रधानमन्त्री भएका छन ।

Advertisement

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित ३ स्वतन्त्र सांसदसमेतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन्  ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । उनी करिब ६ वर्षपछि प्रधानमन्त्री भएका हुन् । उनी अहिले नेपालको ४३ औँ प्रधानमन्त्री बनेका हुन् । यसअघि २०७३ साउन १९ गते प्रधानमन्त्री बनेका थिए ।

कांग्रेससहित्को गठबन्धनमा रहे पनि राष्ट्रपति प्रधानमन्त्री दुवै पद कांग्रेसले माओवादीलाई छोड्न नचाहेपछि माओवादीले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग गठबन्धन गरेर आफै प्रधानमन्त्री लिने गरी नयाँ सहमति गरेको हो । त्यही सहमतिपछि प्रचण्ड प्रधानमन्त्री बनेका हुन्  ।

को हुन् प्रचण्ड ?

प्रचण्डको जन्म वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा लिएका थिए ।

२०२६ चितवनको नारायणी विद्या मन्दिर मा.वि. शिवनगरबाट एस.एल.सी. उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट प्रचण्डले कृषिमा बि.एस्सी गरेर एम.पी.ए.सम्मको अध्ययन गरेका थिए ।

कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरेका प्रचण्डको वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उनी आफू पुष्पकमल भन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्छन् ।

वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गा.वि.स.मा बसाइ सराई गरेका प्रचण्डको वि.सं. २०२६ बैशाखमा सीता पौडेलसँग विवाह भएको थियो ।

प्रचण्डका तीन छोरी र एक छोरा सन्तानका रुपमा थिए । त्यसमध्ये जेठी छोरी  ज्ञानु र छोरा प्रकाशको निधन भइ सकेको छ । माईली छोरी रेनु दाहाल चितवनको भरतपुर महानगरको अहिले दोस्रो कार्यकालका लागी मेयर छिन भने कान्छी गङा दाहाल प्रचण्डको सचिवालयमा स्वकीय सचीवको रुपमा कार्यरत छिन् ।

प्रचण्डले नारायणी विद्या मन्दिर मा.वि.शिवनगर–२०२९ साल, डण्डा मा.वि.नवलपरासी र भीमोदय मा.वि., आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा यु.एस.एड.मा काम गरेका थिए ।

वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले अहिले एमालेमा रहेका बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए ।

प्रचण्ड २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनु भएका थिए ।

वि. सं. २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा-सचिव र २०४० मा संघको केन्द्रीय अध्यक्षमा समेत प्रचण्ड निर्वाचित भएका थिए ।

विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा प्रचण्ड  नेकपा (एकताकेन्द्र)को महामन्त्री बनेका थिए ।

यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर पार्टी नाम नेकपा (माओवादी) राखेपछि महामन्त्री बनेका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । न्याय समानता र स्वतन्त्रताको लागी उनले जनयुद्धको नेतृत्व गरेका थिए । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्ड नेकपा (माओवादी)को अध्यक्ष बने ।

वि.सं. २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए ।

प्रचण्ड पहिलो पटक २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको उनी अध्यक्ष समेत बने। २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित प्रचण्ड २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए ।

साथै उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरेका थिए  । अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृति, कला र सौन्र्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका प्रचण्ड २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएका थिए । तर उनले काठमाडौं १० को चुनाव भने हारे ।

संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं.–५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३साल असार १९  गते व्यवस्थापिका–संसदमा ३६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए  ।

२०७४ मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट प्रचण्डले ४८२७६ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । यसपटक भने उनि गोरखा २ को जनप्रतिनिधिका रुपमा निर्वाचित भएका छन ।

प्रतिक्रिया