शनिबार, वैशाख २२, २०८१

प्रचण्डको हिसाव-किताव !

रामकृष्ण अधिकारी २०७९ मंसिर २७ गते १९:३५

काठमाडौं । ४ मंसिरमा सम्पन्न चुनावको सम्पूर्ण परिणामको घोषणा निर्वाचन आयोगले सकेको छ । तर अझै नयाँ सरकारको प्रष्ट चित्र आएको छैन । कसको नेतृत्वमा सरकार वन्छ ? राष्ट्रपति, प्रधानमन्त्री, सभामुख देखि प्रदेशका मुख्यमन्त्री र सभामुखसम्म कहाँ कुन दलका कसले पाँउछ ? भन्ने चित्रको हिसाव-किताव प्रष्ट आएको छैन ।

Advertisement

पहिलो र दोस्रो हुने पार्टी मिलेर भागवन्डामा हिसाव किताव मिलाए टन्टै साफ । तर संसदीय मूल्य-मान्यतामा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने कुरा विरलै मात्र हुने परिघटना हुन । जसकाकारण तेस्रो शक्ति कुनै दलको बहुमत नहुँदा निर्णायक हुने गर्छन ।

यसपटक पनि माओवादी केन्द्र विगतको चुनावी परिणामभन्दा खुम्चन परेपनि तेस्रो शक्ति बनेको छ । जसकाकारण फेरि पनि सत्ताको हिसाव– कितावमा प्रचण्ड निर्णयक छन् ।

प्रचण्डकै शब्दमा भन्ने हो भने माओवादीहरु जाहाँ दह्रोसँग उभिन्छन, फेरि पनि त्यँही सरकार बन्छ । तर त्यसका लागि माओवादीले लुलो ढंगले होइन, दह्रोसँग उभिने मात्र हिम्मत गर्नुपर्छ ।

संसदमा माओवादीको ३२ सिट छ । कांग्रेससँग ८९, एमालेसँग ७८, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, जसपासँग १२, एकीकृत समाजवादीसँग १०, जनमतसँग ५, लोसपासँग ४, नागरिक उन्मुक्तिसँग ३, जनमोर्चा/ नेमकिपासँग एक-एक र बाँकी ५ स्वतन्त्रबाट जितेका सांसद अबको संसदमा हुनेछन् ।

यो हिसावमा हेर्दा नयाँ सरकारमा माओवादी निर्णायक नै देखिन्छ ।

यस्तो अवस्थामा माओवादी अध्यक्ष प्रचण्डले खुमलटारमा बसेर निकालिरहेको हिसाव-कितावमा अहिले सवैभन्दा बढी चासो छ । प्रचण्डले कस्तो हिसाव निकाल्लान् भनेर नै सवैभन्दा ठूलो दल बनेको कांग्रेसका नेताहरु अहिले प्रचण्डसँगको बाक्लो सम्वादमा छन् । दोस्रो दल एमालेका पनि केही नेताहरु प्रचण्डसँग कुनै न कुनै रुपमा सम्वादमै देखिन्छन् ।

तर, प्रचण्ड हिसाव कितावमा आफैलाई माथी राख्न चाहिरहेका छन् । अर्थात फेरि एकपटक सरकारको नेतृत्व गर्ने र केही काम गर्ने ‘हुटहुटी’ प्रचण्डमा देखिन्छ । उनले खुमलटारमा वसेर त्यसैको हिसाव निकालिरहेका छन् ।

‘विगतको भन्दा नतिजामा हामी पक्कै कमजोर छौं, तर अहिले पनि हामी जाँहानेर दहोसँग उभिन्छौं, त्यही सरकार बन्छ । उभिन त दह्रोसँग पर्छ हामी । लुलो ढंगले उभिएर हुँदैन, जाँहा हामी दह्रो सँग उभिन्छौं, त्यही सरकार बन्छ,’ प्रचण्डले पार्टी निकट पत्रकार संगठनको पदाधिकारी बैठकमा आइतबार (२५ मंसिर) भनेका थिए ।

उनमा एकपटक फेरि सरकारको नेतृत्व गरेर केही गर्ने ‘हुटहुटी’ अनुहारमा प्रष्टै झल्किन्छ । त्यसका लागि उनले भष्टाचार र विकासका काममा आफुलाई लगाउने गरी केही कार्यक्रमिक योजना पनि बनाएको देखिन्छ । भलैं उनको त्यो हुटहुटीमा सरकारको नेतृत्व गर्न पाउने-नपाउने कति हो ? त्यसको चित्र अहिले अनुमान लगाउन हतारो होला । तर उनले संसदमा रहेका अन्य दलको सिट संख्यालाई पनि आफु निर्णायक हुने गरी हिसाव भने पक्कै निकालेका छन् ।

त्यसमा उनले एकीकृत समाजवादी, जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टीसम्मको हिसाव गरेका छन् । रौतहट ३ र २ मा स्वतन्त्र जितेका प्रभु साह र किरणकुमार साहलाई भने उनले आफ्नै पार्टीको डालोभित्रै राखेर हिसाव निकालेका छन् । केही दिन यता स्वतन्त्र उठेका र सत्ता गठबन्धनले साथ दिएका प्रभु साहसँग प्रचण्डको दिनुहँ खुमलटारमा छलफल पनि चलिरहेको छ ।

त्यो हिसाव उनले पार्टी निकट पत्रकारको पदाधिकारी बैठकमै पनि सुनाएका थिए । ‘हाम्रो ३२ सिट, त्यसमा २ सिट थप हाम्रै छ । यसरी हेर्दा हामीसँग ३४, हामीले उदारतापूर्वक जित्ने ठाँउ छोडिदिएकाहरुको पनि १० सिट जोडयौं भने ४४, हिजो हामीसँगै प्रतिगमनविरोधी आन्दोलनमा रहेका पार्टीलाई पनि जोडने हो भने ४४ र १२ गरी ५६ र त्यसमा अहिले अर्काे ४ सिट पनि हामीले जोडन सक्यौं भने हामी ६० सिट,’ प्रचण्डले आफनो हिसाव सुनाउँदैं भनेका थिए,-‘६० सिटको कमाण्ड अहिले पनि हामीले गर्न सक्ने स्थिती छ । सवै अध्यारो मात्र नदेख्नुहोला । त्यसलाई लिएर राष्ट्रिय राजनीतिको केन्द्रमा आएर फेरि पार्टीलाई १ नम्बर बनाउने ठाँउ हाम्रो लागि अझै छ । त्यसकारण हामी कमजोर भएको पक्कै हो, गम्भिर समीक्षा आवश्यकता पक्कै हो । तर हामी खत्तम भइयो, हामी केही भएनौं भन्ने कुरा होइन । निर्णायक अझै हामी छौं ।’

प्रचण्डले यो हिसाव सुनाउँदै गर्दा एकीकृत समाजवादीका माधव नेपालहरुप्रति उदारता देखाएको र त्यसको परिक्षण भने हुन बाँकी रहेको बताएका थिए । सल्यान, उदयपुर, धादिङ, मकवानपुर लगायतका थुप्रै जित्ने ठाउ गठबन्धनको रक्षाका लागि आफुहरुले छोडेको र अव त्यो त्यागको फल लाग्छ-लाग्दैन भोलिका दिनमा हेर्ने भन्दै प्रचण्डले एकीकृत समाजवादीको प्रत्यक्ष तर्फको १० सिटमा नजर लगाएका देखिन्छन् ।

आलोपालो प्रधानमन्त्री, तर पहिले को ?
सत्ता गठबन्धन दलमा मुख्यतः कांग्रेस र माओवादीमा आलोपालो प्रधानमन्त्रीमा सहमति बनिसकेको छ । अन्य पदमा पहिले प्रधानमन्त्री कसले चलाउने भन्नेमा टुंग्गो लागेपछि छलफलको तयारी देखिन्छ । निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा निर्वाचन परिणामको प्रतिवेदन बुझाए लगत्तै आ आफनो दलका संसदीय दल नेता चयन गर्ने र त्यसपछि पदीय भागवन्डाको एजेण्डामा प्रवेश गरेर टुंग्गो लगाउने समझदारी सत्ता गठबन्धनमा रहेका दलका वीचमा छ ।

तर, त्यस अगाडी पनि अनौपचारिक सम्वाद भने गठबन्धन दलका शीर्ष नेताहरुको जारी छ । आलोपालो प्रधानमन्त्रीमा भने सहमति भईसकेको प्रचण्डको भनाई छ । उनको भनाईमा, पावर सेयरिङ र अन्य विषयमा संसदीय दलको नेता चयन पछि मात्रै निर्णायक छलफल हुनेछ ।

प्रचण्डको मनोविज्ञान हेर्दा सकभर पहिलो कार्यकाल प्रधानमन्त्री उनी आफै बन्न चाहान्छन् । तर त्यसमा उनको हिसाव र उनको रणनीतिक चालवाजी कति सफल हुन्छ त्यो केही दिनमै देखिएला । तर उनी अहिले बाहिर यस विषयमा मौन देखिन्छन् ।

आन्तरिक जोडघटाउमा खप्पिस प्रचण्ड सरकारको बागडोर आफनो हातमा नै ल्याउन जुटिरहेका देखिन्छन् । कांग्रेसभित्र राष्ट्रपति ५ वर्षका लागि हुने भएकोले नछोडन बढिरहेको दवाव, प्रधानमन्त्रीमा देखिएका आकाक्षीको लर्काे र आफनो पार्टीको साथ र समर्थन संसदको अंकगणितमा निर्णायक हुने ठानेका प्रचण्ड परिस्थितीको ट्याकलसँग जुधेर पहिलो पटक नै प्रधानमन्त्री बन्न चहिरहेका छन् ।

कांग्रेसभित्र आफुलाई प्रधानमन्त्री बन्न नदिने हो भने प्रचण्डलाई पहिलो पटक प्रधानमन्त्री बनाएरै भएपनि आफु राष्ट्रपति हुन जाने चाहना वरिष्ठ नेता रामचन्द्र पौडेलको देखिन्छ । त्यसका केही आन्तरिक छलफल पौडेलले थालेको पौडेल निकट स्रोतहरु बताउँछन् ।

तर, प्रचण्डले आफै पहिलो चरण प्रधानमन्त्री हुने अडान लिएमा र कांग्रेसले त्यसमा विमति जनाएमा कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने खेल विकसित हुनसक्ने पनि उत्तिकै सम्भावना छ । त्यसको हिसाव पनि प्रचण्डले निकालेका छन् । उनले त्यस्तो अवस्थामा पार्टीले र आफुले टेन्सन नलिने बताएका छन् ।

‘कहिले काही कुरा चल्छ, ठूला-ठूला पार्टी मिलेर सरकार चलाउने रे ! कांग्रेस -एमाले मिलेर नै सरकार बनाउने भनेर भित्रभित्र कुरा भएको थाहा पाइएकै छ । त्यस्तो हुन्छ भने पनि मैले टेन्सन ठान्दिन । तपाईहरुले पनि टेन्सन नठान्नुहोला, त्यस्तो भए हाम्रो प्रमुख प्रतिपक्षिय भूमिका हुन्छ’ प्रचण्डको भनाई छ- ‘सदन र सडक दुवै मोर्चा हाम्रो हुन्छ । पार्टीलाई रिभाइभ गर्ने, तपाई-हामी सवैलाई वदल्ने ठाँउ सडक नै हो । सडकले मात्रै हामीलाई रुपान्तरण गर्न सक्छ । त्यसो भएमा पनि टेन्सन छैन । तर त्यसो हुँदैन होला जस्तो लाग्छ मलाई । त्यक्ति सजिलो छैन । उनीहरु मिलेर सरकार चलाउने । तर चलाईहाले पनि माओवादी सदन र सडकमा हिरो हुन्छ । हामीलाई सडकको मोर्चाबाट पार्टी रिभाइभ गर्ने एउटा उपयुक्त अवसर मिल्नेछ ।’

सरकार पाए के गर्ने ?

प्रचण्डको सोच सरकारको नेतृत्व पाए यसपटक केही नयाँ गर्ने नै देखिन्छ । त्यसका लागि उनले पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईसम्मको साथ र सहयोग लिने र अगाडी बढ्ने योजना देखिन्छ । उनले सरकारको नेतृत्व पाए के गर्ने रु त्यसमा केही योजना बुनेको उनको भावभुङग्री र अभिब्यक्तिले प्रष्ट पारेको छ ।

त्यस्तो योजना उनले पार्टी निकट पत्रकारलाई केही सुनाएका पनि छन् ।

‘फेरि एकपटक देशको नेतृत्व गर्न सक्यौं भने गम्भिर र ढृढताका साथ दुईटा काम थाल्नुपर्ने ठानेको छु मैले । पहिलो सुरुआती दिन देखि नै भष्टाचारमा कठोर निति लिने र दोस्रो विकासका काममा केही मेघा पोजेक्टका काम गर्ने,’ प्रचण्डले भने, ‘यसरी काम गर्न सके देशभित्रै ठूलो सन्देश जान्छ, त्यसले माओवादी पार्टीलाई नयाँ ढंगले पर्नुस्थापित गर्न पनि सकिन्छ ।’

प्रचण्डले सरकारको नेतृत्व पाएमा कुनै शक्तिशाली संरचना निर्माण गर्ने र ०४७ साल यता सार्वजनिक ओहोदामा रहेकाहरुको सम्पक्ति छानविन गर्ने योजना बनाएका छन् । त्यसो गर्दा उनको आफ्नै पार्टीका नेता-कार्यकर्ता नै परेपनि त्यसमा कठोर नीति लिने योजना प्रचण्डको देखिन्छ ।

माओवादीले चुनावका बेला सार्वजनिक गरेको आफनो घोषणापत्रमा पनि त्यसबारेमा उल्लेख गरेको छ ।

‘भष्टाचार यति ब्याप्त भयो की त्यसमाथी प्रहार गर्नेपर्ने भएको छ । पहिलो दिन देखि नै हामीले शक्तिशाली संरचना मार्फत जो कोही हामी नै परेपनि भष्टाचार नियन्त्रण गर्ने भन्ने अयिभानको सरकारका तर्फबाट काम सुरु गरियो भने जनतामा सुरुमै अव चिज नयाँ ठाँउमा जाने भयो भनेर सन्देश दिन सकिन्छ । त्यसले हाम्रो पार्टी र राजनीतिका आधार एक ठाँउमा लैजान सकिन्छ,’ प्रचण्डले आफनो सोच सुनाउँदै भने ।

दोस्रो, प्रचण्डले विकासको क्षेत्रमा केही मेघा पोजेक्ट चलाउन खोजेका छन् । त्यसका लागि उनले शक्तिशाली विकास प्राधिकरण जस्तो संन्यत्र निर्माण गर्ने र त्यसैमार्फत उर्जा र भौतिक पूर्वाधारको क्षेत्रमा केही मेघा पोजेक्टका काम गर्ने ‘हुटहुटी’ साँचेको देखिन्छ ।

त्यस्तो काम गर्नका लागि उनले पूर्व प्रधानमन्त्री डा बाबुरामको साथ यहीनेर खोजेको हुनसक्ने देखिन्छ । बाबुराम भट्टराई यतिवेला प्रचण्डलाई निश्वार्थ साथ दिन तयार देखिएका छन् । दुवै मिलेर केही नयाँ गरौं भन्ने रियलाइजेसनमा प्रचण्ड-बाबुराम दुवै पुगेका देखिन्छन । त्यसो हुँदा उर्जा र भौतिक पूर्वाधारको क्षेत्रमा सरकारको तर्फबाट चलाइने मेघा पोजेक्टको नेतृत्व गर्ने गरी प्रचण्डले बाबुरामलाई नै जिम्मा दिन सक्छन् ।

यो मिसनमा प्रचण्ड हिसाव- कितावमा जुटेको देखिन्छ । भलैं उनको त्यो हिसाव कतिको मिल्छ ? उनलाई संसदको गणितले कति साथ दिन्छ ? त्यो भने साता/दश दिनभित्रै देखिनसक्छ ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया