सोमबार, वैशाख १७, २०८१

कतार विश्वकप २०२२

पोर्चुगल स्तब्ध हुँदै बाहिरियो, मोरक्को बन्यो सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र

मेरोन्यूज २०७९ मंसिर २४ गते २२:५२

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा मोरक्कोले ऐतिहासिक जित निकालेर सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोर्चुगललाई हराउँदै मोरक्को अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

मोरक्कोलाई जित दिलाउने क्रममा खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गोल गरे।

पोर्चुगलको तर्फबाट भने खेलमा कुनै गोल हुन सकेन। यससँगै मोरक्कोले नयाँ इतिहास बनाएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे ।

बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर अट्याकमा पटक पटक समस्या दियो ।

पोस्टमा बढी आक्रमण गरेको मोरक्कोले युसुफ एन नेसरीको गोलमा सुरुवाती अग्रता पनि बनायो । पोर्चुगलले लगत्तै खेल बराबरी गर्ने अवसर पाएपनि क्रसबार बाधक बन्यो ।

दोस्रो हाफको सुरुवातमै मोरक्को अग्रता दोब्बर पार्ने संघारमा पुगेको थियो । तर त्यसलाई सदुपयोग गर्न नसकेपछि पोर्चुगलले आक्रामक परिवर्तन गर्ने क्रममा क्रिस्टियानो रोनाल्डो र जोआओ क्यान्सेलोलाई मैदान प्रवेश गरायो । त्यसपछि लगातार आक्रमण बुनेको पोर्चुगल गोलरक्षक बोनोलाई बिट गर्न भने सफल भएन ।

खेलको ४२ औं मिनेटमा मोरक्कोले सुरुवाती अग्रता बनाएको थियो ।

युसुफ एन नेसरीले हेडरमार्फत गोल गर्दै मोरक्कोलाई अघि बढाए । उनले याह्या अतिया अल्लाहको क्रसलाई हेडरमार्फत गोल गरेका थिए ।

गोलरक्षक डिओगो कोस्टा र डिफेन्डर रुवेन डियासभन्दा अघि उफ्रेर उनले बललाई पोस्टको दिशा दिएका थिए ।

मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।

समूह चरणको खेलमा पनि मोरक्कोले बलियो मानिएको बेल्जियमलाई पराजित गरेको थियो।

यस जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।

चौथो क्वाटरफाइनल आज मध्यरात १२:४५ बजे हुनेछ । अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।

खेलको इन्ज्युरी समयमा मोरक्कोका वालिड चेडिरा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि पोर्चुगलले यसको फाइदा उठाउन सकेन ।

प्रतिक्रिया