आइतबार, वैशाख २३, २०८१

माओवादीबाट समानुपातिकमा को-को छानिएलान् ?

छान्न मिल्ने दुई पुरुष मध्ये हितराज पाण्डे निश्चित, रामदीप आचार्य, रणेन्द्र बराइली, अजम्बर काङमाङ, हकिकुल्ला खाँ र रामेश्वर राय यादवमध्ये एक छानिने

शितल शर्मा २०७९ मंसिर २२ गते १५:०६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पाएको समानुपातिक सिटबाट प्रतिनिधिसभा सांसदमा को को छानिएलान् ? बन्दसूचीमा नाम परेका र अहिले निर्वाचन परिणामबाट सम्भावना बोकेका नेता–कार्यकर्ता आफु छानिनका लागि दौडधुपमा छन् ।

Advertisement

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखि अन्य दोस्रो तहका नेताहरुसँग आफनो नाम समेटन दवाव वढाउने उदेश्यले समानुपातिक सूचीमा रहेका नेताहरुको दौडधुप र लविङ शुरु भएको छ ।

माओवादीले यसका लागि पार्टी पदाधिकारी बैठकबाट अन्तिम निर्णय लिने तयारी गरेको छ ।

माओवादीले १४ जना सांसद समानुपातिकबाट प्रतिनिधिसभामा पठाउन पाउनेछ । जसमध्ये १२ जना महिला र २ जना मात्रै पुरुष माओवादीले आफनो कोटाबाट पठाउन पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले माओवादीलाई पठाएको क्लष्टर सिट संख्यामा उसले आदीवासी जनजातिबाट ४, खस आर्यबाट ४, थारुबाट १, दलितबाट २, मधेसीबाट २, मुस्लिमबाट १ र पिछडिएको क्षेत्रबाट १ जना पठाउनुपर्ने हुन्छ । यसरी क्लष्टरबाट पठाईरहँदा १२ जना महिला र २ जना पुरुष मिलाएर माओवादीले पठाउनुपर्नेछ ।

२ पुरुषमध्ये खस आर्यबाट पार्टीका नेता हितराज पाण्डे करिव सुनिश्चित छन् । २०७४ को प्रतिनिधिसभा चुनावमा पनि उनको नाम समानुपातिकको बन्दसूचीमा खस आर्य तर्फ पहिलो नम्बरमा थियो । तर त्यसवेला उनले समानुपातिक सांसद बन्न पाएनन । माओवादीले पाएको एउटै पुरुषको सूचीबाट अपाङग कोटामा चुडामणि खड्काले संसद प्रवेशको बाटो पाएका थिए ।

तर यसपटक हितराजलाई माओवादीले समानुपातिकबाट खस आर्य कोटामा प्रतिनिधिसभामा पठाउने करिव निश्चित छ । त्यसो हुँदा अन्य थप १ जना पुरुष माओवादीले छान्न पाउँछ । हितराज एक जना पुरुष खस आर्यमा छानिए यो समुहबाट अन्य ३ जना महिला सूचीमा पर्नेछन । त्यसो हुँदा ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्मा यो समुहबाट समानुपातिक सांसद छानिनेछन् ।

शर्मा माओवादी नेता जनार्दन शर्माका बहिनी हुन् । उनलाई समानुपातिक सूचीमा पार्नका लागि शर्मा आफैले कोसिस गर्ने भएकाले खस आर्यका हितराज वाहेक दोस्रो नम्बरमा परेका पुरुषको सम्भावना कम छ ।

नारायणीलाई करिव माओवादी अध्यक्ष प्रचण्डले नै पनि वचन दिईसकिएको माओवादी स्रोतको भनाई छ । त्यसो हुँदा खस आर्यको पुरुषमा दोस्रो नम्बरमा रहेका पेशल खतिवडाको सम्भावना टरेको छ।

आदीबासी जनजातितर्फ माओवादीले चारै जना महिलालाई छान्ने या एक जना पुरुष छान्ने भन्नेमा माओवादीलाई अप्ठ्यारो पर्ने देखिएको छ । यो समुहबाट महिला छनौट गर्दा क्रमशः दुर्गा राई, मिना तामाङ र उर्मिला माझी पौडेल करिव छानिनेछन् । तर चौथोमा पुरुषबाट अजम्बर काङवाहाङलाई छान्ने या महिलाबाटै माया कुमारी बल स्यालाई छान्ने माओवादीलाई निर्णय लिन गाह्रो परेको छ ।

अजम्बर छान्दा मायाको सम्भावना टर्छ भने अजम्बर नछान्दा माया स्वतः आदीवासी जनजाति कोटाको छनौटमा पर्नेछिन् । तर अजम्बर छान्दा दलितको पुरुष तर्फ १ नम्बरमा रहेका रणेन्द्र बराइली, मधेसीको पुरुष कोटामा १ नम्बरमा रहेका रामेश्वर राय यादव, पिछडिएको क्षेत्रबाट खस आर्यमा रहेका रामदीप आचार्य र मुश्लिममा रहेका हकिकुल्ला खाँको सम्भावना टर्छ ।

तर जनजातिमा महिला नै ४ जना छानिएमा भने आचार्य, यादव, बराइली र खाँ पनि प्रतिस्पर्धाको रेसमा हुनेछन् ।

माओवादीले पाएको थारुको १ सिटमा भने रुपा सोसी थारु निश्चित जस्तै छिन । महिलाको संख्या पु¥याउनु पर्ने र थारु महिलाको पहिलो नम्बरमा रुपाको नाम रहेकोले उनी छानिने करिव निश्चित जस्तै छ । त्यस्तै मुश्लिममा पनि माओवादीले १ सिट पाएको छ । त्यसमा महिला छान्दा कल्पना मियाँले पाउनेछिन् । तर यो कोटाबाट बाँकी लानुपर्ने १ पुरुष लैजान चाहेमा भने हकिकुल्ला खाँ पर्नेछन् । उनी पर्दा कल्पना देखि अन्य कल्ष्टरबाट प्रतिनिधिसभा छिर्न खोज्ने पुरुषको ढोका बन्द हुनेछ ।

दलित २ जनामा सुशिलादेवी सिर्पाली ठकुरी स्वत पर्नेछिन् । त्यस्तै दोस्रो सूचीमा रहेकी पार्वतीलाई भने दलित महिला या पिछडिएको क्षेत्र दुवैबाट लैजान सक्ने बाटो माओवादीसँग छ । उनलाई पिछडिएकोबाट लगेर अर्काे पुरुष दलितबाट राख्न चाहेमा रणेन्द्र बराइली पर्नेछन् । तर उनलाई पिछडिएकोबाट नलगेर दलितबाटै लगेमा उनी दलित कोटामा पर्ने देखिन्छिन् ।

मधेसी २ जनामा मीना यादव र उमरावती यादव नै पर्ने देखिन्छिन् । यहाँ पुरुषमा रामेश्वर राय यादव पहिलो नम्बरमा छन् । तर उनलाई निर्वाचनमा आफै समानुपातिक उम्मेदवार रहेर आफनै पार्टीका प्रत्यक्ष तर्फका उम्मेदवार हराउन लागेको आरोप पार्टी कार्यालयमा आईपुगेको छ । उनीमाथी सर्लाही ३ मा माओवादी उम्मेदवार रहेका नरेन्द्र साह कलवारलाई हराउन भूमिका खेलेको आरोप लागेको छ ।


आरोपपत्रमा उनीमाथी कारवाहीको माग छ । जसकाकारण पनि उनलाई माओवादीले समानुपातिकतर्फको बाकी १ पुरुषमा नाम छनौट गर्दा पार्टीभित्रै विवाद आउने देखिन्छ । तर सर्लाहीमा माओवादीले समानुपातिक तर्फ सवैभन्दा बढी मत प्राप्त गरेको र त्यही मतका आधारमा रामेश्वर राय यादवले दवाव बढाएमा माओवादी नेतृत्व दवावमा पर्नसक्छ । तर रामेश्वर राय यादव नछानिएमा महिलातर्फकी उमरावती यादव स्वत छानिनेछिन् ।

पुरुष तर्फबाट खस आर्यका पेशल अतिवडा, दलितबाट रणेन्द्र बराइली, आदीवासी जनजातिबाट अजम्बर काङवाहाङ, मुश्लिमबाट हकिकुल्ला खाँ र मधेसीबाट रामेश्वर राय यादव रोकिँदा पिछडिएको क्षेत्रबाट रामदीप आचार्यको सम्भावना बलियो हुने देखिन्छ ।

आचार्य खस आर्य तर्फको सूचीमा रहेपनि पिछडिएको क्षेत्रका रुपमा पनि बन्द सुचीका उम्मेदवार हुन् । जाजरकोटका उनको पनि सम्भावना छ । तर अन्य क्लष्टरबाट पुरुष छनौट भएमा भने आचार्यको सम्भावना समाप्त हुनेछ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया