शुक्रबार, वैशाख १४, २०८१

कतार विश्वकप २०२२

क्यामरुनसँग हार्‍यो ब्राजिल,सर्बियालाई हराउदै स्विटजरल्यान्ड नकआउट चरणमा

क्यामरुनसँग हारेपनि ब्राजिल समुह विजेता, सर्बिया र क्यामरुन समुह चरण बाट बाहिरिए

मेरोन्यूज २०७९ मंसिर १७ गते ३:०५

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह जी को उपविजेता बन्दै स्विटजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा सर्बियामाथि ३-२ को रोमान्चक जितका साथ स्वीस टोली अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । यो समुह बाट ब्राजिल समुह चरणको अन्तिम खेलमा पराजित भए पनि समुहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

ब्राजिलले यस अघि नै सर्बिया र स्विटजरल्यान्डलाई हराउँदै नकआउट चरणमा आफ्नो उपस्थिति सुनिश्चित गरिसकेको थियो । जसका कारण शनिबार बिहान भएको खेलमा क्यामरुनसग पराजित भए पनि ब्राजिल समुह विजेता बनेर अघिल्लो चरणमा पुगेको हो ।


सर्बियासँग स्विटजरल्यान्डले समुह चरणको अन्तिम खेलमा जित निकालेर रोमाञ्चक जित निकालेको हो ।

स्वीस टोलीले खेलमा सुरुवाती अग्रता लिएपनि सर्बियाका दुई फरवार्डले लगातार गोल गर्दै अग्रता बदलेका थिए । तर पहिलो हाफको अन्त्यतिर स्विटजरल्यान्डले गोल गर्दै खेल बराबरीमा ल्यायो ।

दोस्रो हाफको सुरुवाती मिनेटमै गोल गर्दै स्वीस टोलीले अग्रता लियो । त्यसपछि थप गोल हुन नसक्दा स्विटजरल्यान्ड समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो । अब स्विटजरल्यान्डले पोर्चुगलको सामना गर्नेछ ।

खेलको पहिलो मिनेटमा नै स्विटजरल्यान्डको अग्रता लिने प्रयासमा सर्बियाका गोलरक्षक भान्जा मिलिन्कोभिच साभिच बाधक बने । ग्रानिट झाकाको पहिलो प्रहार विफल पारेका उनले स्वीस खेलाडीको दोस्रो प्रयासलाई पनि पोस्टतर्फ जान दिएनन् ।

११ औं मिनेटमा सर्बियाको अग्रतासामु पोस्ट बाधक बन्यो । आन्द्रिजा जिभ्कोभिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक ग्रेगोर कोबेल बिट भएपनि बल पोस्टमा लाग्यो । शक्तिशाली प्रहारबाट आएको रिबाउन्ड पोस्टअघि रहेका एलेक्जेन्डर मित्रोभिच र डुसान भ्लाहोभिचलाई लाग्दै गोलरक्षक कोबेलकै हातमा पुगेको थियो ।

२० औं मिनेटमा स्विटजरल्यान्डले जेर्डान शाकिरीको गोलमा अग्रता लियो । मोहमाथ सोउले पेनाल्टी क्षेत्रभित्र मिलाएको पासमा शाकिरीले गरेको शक्तिशाली प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो ।

२७ औं मिनेटमा सर्बिया मित्रोभिचको गोलसँगै खेल बराबरी गर्न सफल भयो । कप्तान डुसान टाडिचको क्रसलाई मित्रोभिचले हेडरमार्फत गोल गरेका थिए । उनको हेडर गोलरक्षक कोबेलले बचाउन सकेनन् ।

३५ औं मिनेटमा सर्बियाले भ्लाहोभिचको गोलमा अग्रता लियो । मित्रोभिचले स्विस डिफेन्स र मिडफिल्डको बिचमा फुस्किएको बल अघि बढाउँदै खेलेको चलाखीपूर्ण पास खेले । उक्त पासलाई स्वीस डिफेन्सले क्लियर गर्न नसक्दा भ्लाहोभिचले गोलरक्षक कोबेललाई कुनै अवसर नदिई गोलमा परिणत गरे ।

४४ औं मिनेटमा स्विटजरल्यान्डले पनि बराबरी गोल फर्कायो । सिल्भान विडमरको लो क्रसलाई ब्रील एम्बोलोले सहजै गोलमा परिणत गरे ।

दोस्रो हाफको सुरुवातमै स्वीस टोलीले टिम मुभमा सुन्दर गोल गर्यो । रेमो फ्रुएलरले अन्तिम प्रहारमार्फत गोल गरेपनि एम्बोलो र सोउले एक आपसमा पास खेल्दै सर्बियाको डिफेन्सलाई बल बचाउने कुनै अवसर दिएनन् ।

अर्को खेलमा ब्राजिल क्यामरुनसँग १-० ले पराजित भयो । लुसेल रंगशालामा शुक्रबार ब्राजिलले क्यामरुनलाई दबाबमा राखेपनि गोल गर्न सकेन । नकआउट चरणमा स्थान पक्का भइसकेको कारण मुख्य खेलाडीलाई विश्राम दिएको ब्राजिलले आक्रमणमा बिर्सनलायक प्रदर्शन गर्यो ।

सुरुवाती रोजाइमा खेलेका ग्याब्रीएल जेसस र उनको स्थानमा आएका पेड्रो दुवैले प्राप्त अवसरको सदुपयोग गर्न सकेनन् । तर इन्ज्युरी समयमा क्यामरुनले कप्तान भिन्सेन्ट अबुबकारमार्फत गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो ।

पहिलो हाफमा ब्राजिलले एकतर्फी दबाब कायम गरेपनि गोल गर्न सकेन । क्यामरुनका गोलरक्षक एपासीले मार्टिनेलीको हेडर उत्कृष्ट ढंगले विफल पारे । इन्ज्युरी समयमा क्यामरुनको बिरलै देखिएको आक्रमणमा गोलरक्षक एडरसनले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफमा पनि खेलको कथा पहिलो हाफजस्तै रहयो ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा क्यामरुनले अग्रता लियो । कप्तान भिन्सेन्ट अबुबकारले हेडरमार्फत गोल गर्दै क्यामरुनलाई अप्रत्याशित अग्रता दिलाए ।

उनले जेरोम एनगोमको क्रसमा गरेको हेडर गोलरक्षक एडरसनले बचाउने कुनै अवसर नै पाएनन् । गोल गरेपछि जर्सी खोलेर खुसी मनाएका अबुबकार दोहोरो पहेंलो कार्डसहित रातो कार्ड खाँदै बाहिरिनु परेको थियो ।

क्यामरुनसग हारका बाबजुद ब्राजिल ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रहयो । स्विटजरल्यान्ड ६ अंकका साथ समूह उपविजेता बन्यो ।

समान अंक भएपनि गोल अन्तरमा स्विस टोली (+१) भन्दा ब्राजिल (+२) एक गोलले अघि रहयो । क्यामरुनले ४ अंक जोड्दै तेस्रो हुँदा १ अंक जोडेको सर्बिया पुछारमा रहयो । यो समुहबाट क्यामरुन र सर्बिया बाहिरिएको छ । ब्राजिलले अर्को चरणको खेल दक्षिण कोरिया सग खेल्नु पर्नेछ ।

प्रतिक्रिया