बिहीबार, वैशाख २७, २०८१

शंशाक चौथो जितको खोजिमा, कृष्ण रोक्ने दाऊमा

सञ्जिता खनाल २०७९ मंसिर १ गते १३:५१


काठमाडौं । अब निर्वाचन आउँन मात्र तीन दिन बाँकी छ । आज चुनावी प्रचारप्रसार गर्न पाउँने अन्तिम दिन । नवलपुर क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पुर्व महामन्त्री एवम् केन्द्रीय सदस्य डा. शंशाक कोइराला र नेकपा एमालेबाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोपूर्वक हेरिएको छ । यस क्षेत्रमा गैँडाकोट र देवचुली नगरपालिका, बुलिङटार गाउँपालिका र कावासोती नगरपालिकाका ११ वडा रहेका छन्।

Advertisement

यस क्षेत्रमा नेपाली कांग्रेसबाट लगातार तीन कार्यकाल चुनाव जितेका कांग्रेसका पूर्वमहामन्त्री कोइराला चौथो पटक पनि चुनाव जितेर संसद प्रवेश गर्ने तयारीमा छन् । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारभन्दा ४ हजार २४ मतान्तरले पराजित गरेर संसद छिरेका कोईराला यस पटक पाँचदलिय गठबन्धनको उम्मेदवार बनेकाले सहज जित निकाल्ने दाउमा छन् ।

तर उनलाई चौथो पटक चुनाव जित्न नदिने रोक्ने दाउँमा एमालेका उम्मेदवार पौडेल देखिन्छन् । २०७० सालमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव जितेका थिए । पौडेलले सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नेलगायतका आश्वासनको पोको खोलेका छन्। यद्यपि, उनी दोषमुक्त छैनन्। उनीमाथि अवसर र भागका लागि जस्तोसुकै सम्झौता गर्नसक्ने अस्थिर स्वभाव देखाएको र एक कार्यकाल संविधान सभाको सदस्य हुँदा खासै केही काम नगरेको आरोप छ।

यता,डा.कोइराला यस क्षेत्रमा २०६४ सालदेखि चुनाव जितै आएका छन् । डा. कोइरालाले म अन्तिम पटक चुनाव उठेको समेत बताएका छन् । यस क्षेत्रमा २०४८ सालयता कांग्रेसले पराजित व्यवहोनुपरेको छैनन् । २०४८ सालमा सूर्यभक्त अधिकारी, २०५१ सालमा महेन्द्रध्वज जिसी २०५१ र २०५६ सालमा दामोदर बस्ताकोटी निर्वाचित भएका थिए भने । २०६४ पछिका डा कोइराला निवार्चित हुदै आएका छन् ।
कोइराला धेरै बोल्नेभन्दा पनि सबैसँग मुसुक्क हास्ने र आम नेता कार्यकर्तादेखि मतदातासँग सहज व्यवहार गर्ने भएकाले चुनाव जित्न सहज हुने कांग्रेस नेताहरु बताउँछन् ।
प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ मा सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रविन्द्र अधिकारी चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन्। क्षेत्र नं १ को ‘ख’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका लोकप्रसाद भूर्तेल र एमालेबाट निवर्तमान प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले उम्मेदवार छन् । भने राप्रपाले डा. मोहनीलाल भुसाल मैदानमा छन् ।
कोइराला यो अन्तिम पटक भनेर चुनाव लडेका छन्। उनले आफ्नो निर्वाचन क्षेत्रमा ट्रमा सेन्टर, अन्तर्राष्ट्रिय स्तरको खेल मैदान,त्रिवेणीदेखि देवघाटसम्म नारायणीको किनारैकिनार पक्की सडक र विपन्नको जीवनस्तर उकास्न कृषि कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएका छन् ।

दुबैलाई चुनौति उतिनै
डा.कोईरालालाई गत वैशाखको स्थानीय निर्वाचनको मुखमा नेपाली कांग्रेस परित्याग गरी नेपाली कांग्रेस बीपीमा लागेका यमनाथ बस्ताकोटी, नेपाली कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका प्रा.डा. मोहनीलाल भुसाल, माओवादी केन्द्र परित्याग गरी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका राजन गौतमलगायतको उम्मेदवारीले डा. कोईरालालाई यसपाली चुनौती थपेको छ ।
१५ वर्षसम्म सांसदमा रहँदा आफ्नो क्षेत्रमा वितरणमुखी योजनाका कामबाहेक विकासका माध्यमबाट परिवर्तन गर्न नसकेको आरोप छ । तर डा. कोईरालाले भने, “सुकुम्बासी समस्या समाधान लालपुर्जाले मात्रै सम्भव छैन, यसका लागि रोजगारीको पनि उत्तिकै आवश्यकता पर्छ । यस विषयमा प्रधानमन्त्रीलाई पटकपटक ध्यानाकर्षण गराएको छु, अब नवलपुरमा कोही पनि सुकुम्बासी हुँदैनन, लालपुर्जासहित आवश्यक रोजगारीको प्रबन्ध मिलाउने गरी कार्य अगाडि बढाउनेछु ।”
जनमानसमा देखिएको असन्तुष्टि सम्बोधन हुँदै आएको र पाँच दलिय गठबन्धनले यसपालि चुनावमा सहज जित हासिल गर्ने कांग्रेस एक नेताले बताए ।
यता, पौडेल लामो समय सम्म निरन्तर सामाजिक सेवा र जनताको घरदैलोमा रहेका हुदाँ उनलाई जित्न सजिलो रहेको एमालेका एक नेताले बताए । ४० वर्ष लामो राजनैतिक यात्राका क्रममा नवलपुरको कुनाकन्दराको समस्या, नवलपुरको पहाडि क्षेत्रको यातायातको समस्या, शिक्षा, रोजगारी, खानेपानीको समस्या, स्वास्थ उपचार र नवलपुरको विकासका आधारहरुको राम्रो ज्ञान भएकाले नवलपुरका जनताले आफुलाई विश्वास गर्ने पौडेलको दाबी छ । तर पौडेललाई पनि पार्टीको आन्तरिक सन्तुलनका कारण चुनौति छ । २०७४ सालमा उमेदवार बनेको भविश्वर पराजुली यो पटक पनि आंकाक्षी थिए। तर उनले टिक नपाएपछि पराजुली एमालेको प्रचारमा खासै सक्रिय छैनन् । उनी धनश्याम भुसालका समेत निकट मानिन्छन्। धनश्यामले पार्टी छोडेपछि पौडेललाई पार्टीको आन्तरिक सन्तुलन मिलाउन समस्या परेको पौडेल निकटहरु बताउँछन् ।

गएको स्थानीय तहको मत हेर्दा
गएको बैशाख ३० मा भएको स्थानीय निर्वाचनको मत हेर्दा सत्ता गठबन्धन अगाडी छ । जसमा वडाध्यक्षहरुले पाएको मत हेर्दा कांग्रेसको ४० हजार ५११, एमालेको ३९ हजार ९५१, राप्रपाको २ हजार ३७३, माओवादीको १ हजार ९२१, जसपाका १८८ मत रहेको छ । जसमा गठबन्धन नै अगाडीले त्यसले पनि डा. कोईरालाले चुनाव जित्न सजिलो देखिन्छ । प्रतिनिधि सभाका लागि १५ जनाले उम्मेदवारी दिएका छन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया