बिहीबार, वैशाख २७, २०८१

धादिङ १ : भूमिलाई राजेन्द्रको डर, राजेन्द्रलाई गठबन्धनको भर !

प्रदेशमा मुख्यमन्त्री हुन रोक्ने पाण्डेलाई जमरकट्टेलले साथ देलान् ?

दया दुदराज २०७९ असोज २७ गते १६:०२

काठमाडौ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिएसँगै धादिङलाई चासोका साथ हेरिएको छ । धादिङमा दुई वटा निर्वाचन क्षेत्रहरू छन् ।

Advertisement

क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का पूर्व सांसद भूमि प्रसाद त्रिपाठी र सत्ता गठबन्धनबाट बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुनेछ ।

क्षेत्र नम्बर १ मा रवि रामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमेश पन्तले समेत उम्मेदवारी दिएका छन् । क्षेन नम्बर २ मा एमालेका पूर्व सांसद खेम प्रसाद लोहनी र सत्ता गठबन्धनबाट धादिङका जिल्ला सभापति रामनाथ अधिकारीबीच प्रतिस्पर्धा हुनेछ ।

दुई वटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र १ लाई बढी चासोका साथ हेरिएको छ । ०७४ को निर्वाचनमा एमालेका त्रिपाठी प्रतिनिधिसभामा निर्वाचित भएका थिए । नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे प्रदेशसभामा निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा एउटै क्षेत्रमा एकै चुनाव चिन्हबाट निर्वाचित भएका दुई नेताबीच एक अर्कामा प्रतिस्पर्धा कस्तो होला ? चासोका साथ हेरिएको छ ।

नेकपा एमालेसँग छुट्टिएको माधव नेपालसँगै एकीकृत समाजवादीमा लागेका पाण्डे सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । एमालेका त्रिपाठीले भने कुनै दलसँग तालमेल गरेका छैनन् ।

यस्तो छ अङ्क गणित

०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो । हालका एमाले उम्मेदवार त्रिपाठी तत्कालीन बाम गठबन्धनका साझा उम्मेदवार थिए । यस्तै पाण्डे प्रदेशतर्फका तत्कालीन बाम गठबन्धनको साझा उम्मेदवार थिए ।

०७४ को निर्वाचनमा त्रिपाठी ४९ हजार १२१ मतसहित निर्वाचित भएका थिए । त्रिपाठी निकटतम प्रतिस्पर्धी कांग्रेसका विश्वप्रकाश अर्यालले २१ हजार ९६८ मत ल्याएका थिए ।

त्यस्तै, प्रदेशतर्फ बाम गठबन्धनकै साझा उम्मेदवार पाण्डे २७ हजार ३३२ मतका साथ निर्वाचित भएका थिए । पाण्डेका प्रतिस्पर्धी कांग्रेसका मुदु कुमार श्रेष्ठले १३ हजार ६४७ मत ल्याएका थिए ।

तर, आगामी मंसिर ४ गते हुने निर्वाचनमा कांगेसको भोट पनि पाण्डेलाई नै आउने देखिन्छ । गठबन्धनमा रहेका माओवादी केन्द्रको यो क्षेत्रमा राम्रो पकड छ । ०७४ को निर्वाचनमा माओवादीले यो क्षेत्रमा बागमती प्रदेशतर्फ एक सिट जितेको थियो । यसपटक पनि माओवादीको भोट एकीकृत समाजवादीमा नै गाबिने छ ।

०७४ को निर्वाचनमा माओवादीका उम्मेदवार शालिकग्राम जमरकट्टेलले २३ हजार ३८२ मतका साथ निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रभात किरण सुवेदीले १० हजार ४०७ मत ल्याएका थिए ।

गठबन्धनका साझा उम्मेदवार पाण्डेलाई माओवादी केन्द्र, कांग्रेसले धोका नदिए उनले राम्रो मतका साथ निर्वाचित हुने देखिन्छन् । एमालेका त्रिपाठीलाई भने पार्टीभित्रकै अन्तरिका किचलोले झनै पछाडि पार्ने देखिन्छ । तर, राम्रो राजनीतिक चेत भएका त्रिपाठीले माओवादी केन्द्रका जमरकट्टेलाई फकाएर जित आफ्नो पोल्टोमा पार्न सक्नेसमेत एमालेका कार्यकर्ताले जनाएका छन् ।

एमालेका एक कार्यकर्ताले मेरोन्यूजसँग भने, ‘दुवै जना बालुवा तस्कर हुन्, चुनावको लागिसमेत भित्रभित्रै यी दुवै नेताबीच तालमेलको कुरा चल्दै छ, एक अर्कालाई सघाउलान् ।’

बागमती प्रदेशको मुख्यमन्त्री हुन रोकेका पाण्डेलाई पछि पार्नका लागि पनि माओवादीका शालिकले त्रिपाठीलाई सहयोग गर्न सक्ने कार्यकर्ताको आकलन छ ।

स्थानीय निर्वाचनमा एमाले पछाडि

धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा कुनै तालमेलबिना निर्वाचनमा उत्रिने हो भने नेकपा एमालेको राम्रो पकड छ । तर, योपटकको स्थानीय तहको निर्वाचनमा एमालेलाई गठबन्धनले मर्का पार्ने देखिन्छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई गठबन्धनले पछाडि पारेको थियो ।

१३ वटा स्थानीय तह रहेको धादिङमा एमालेले जम्मा दुई वटा पालिकामा मात्रै जित हात पारेको थियो । अन्य ११ तहमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका थिए ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया