बिहीबार, वैशाख २७, २०८१

आस्था मृत्यु प्रकरण

एकोहोरो प्रेममा परेकी शर्मालाई फेसबुकमा ‘ब्लक’ गरेपछि ‘आत्महत्या’ !

दया दुदराज २०७९ भदौ २४ गते १५:४३

काठमाडौँ । गत सोमबार १६ वर्षीया आस्था शर्मा घरबाट स्कुल जान भनेर निस्किइन् । उनी निस्किएपछि घरमा फर्किनन् । घर नफर्किएपछि उनकी बाबु आमा आत्तिए । छरछिमेक र उनकी साथीसँग परिवारले सोधखोज गरे ।

Advertisement

वरपर छरछिमेक र साथीसँग नभेटिएपछि उनका बाबुआमा झनै अत्ताल्लिए । र, जिल्ला प्रहरी कार्यालयमा छोरी हराएको भन्दै उजुरी दर्ता गराए । प्रहरीले उनको सोधखोज गर्यो । तर, पत्ता लगाउन सकेन ।

प्रहरीले पत्ता लगाउन नसकेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार साँझ साढे ६ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना सार्वजनिक गर्दै आस्थालाई देख्नेले प्रहरीमा खबर गर्न बताए ।

ººº

तिनै बेपत्ता भएकी आस्थाको आज बिहान कैलाली भएर बग्ने मोहना नदीको किनारमा शव भेटिएको छ । कैलाली जिल्ला घनगढी उपमहानगर ३ घर भएकी शर्माको शुक्रबार बिहान नदी किनारबाट प्रहरीले शव निकालेको हो ।

गत सोमबार स्कुल जान्छु भन्दै निस्किएकी शर्मा त्रिभुवन माध्यमिक विद्यालय बोराडाँडी कैलालीको कक्षा ८ मा अध्ययनरत थिइन् । प्रहरीले मृतक शर्माले लगाएको ट्रायकमा एउटा कवितासमेत फेला पारेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए ।

उनले मेरोन्यूजसँग भने, ‘मृतकको ट्र्याकमा ‘नारी’ शीर्षकमा लेखिएको कविता फेला परेको छ, सोही कविताको आधारमा हामीले शवको पहिचान गरेका हौँ ।’

‘नारी कहिलै आमा हुन्छ, कहिलै बुहारी हुन्छ, कहिले छोरी हुन्छ, तर पनि नारीलाई यो समाजले सम्मान गर्न सकेको छैन’ उक्त कवितालाई उदृत गर्दै ती प्रहरी अधिकरीले भने, ‘कवितामा नारीका पीडा लेखिएका छन् ।’

एकोहोरो प्रेम

मृतक शर्मा आफै मोहना नदीमा हामफालेको हुन सक्ने प्रहरीको प्रारभिक अनुसन्धानबाट खुलेको छ । उनको मृत्युको कारण नखुले पनि प्रहरीको पहिलो चरणको अनुसन्धानले केही संकेत भने देखाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतक शर्मा एक किशोरको प्रेममा रहेको खुलेको छ । मुस्लिम समुदायका ती किशोरसँग आस्थाको दैनिक कुरा हुने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पछिल्लोपटक शर्माले ती किशोरसामू प्रेम प्रस्ताव राखेको खुलेको छ । तर, किशोरले शर्माको उमेर सानै भएकाले अहिले प्रेम सम्बन्धमा बस्न नहुने भन्दै उनलाई सम्झाएका थिए । त्यसपछि ती किशोरले उनलाई फेसबुकमा ब्लक गरेका थिए ।

शर्माले सोमबार बिहान ती किशोरलाई भेटेर आफूलाई किन ब्लक गरेको भनेर सोधेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सोमबारै शर्माले ती मुस्लिम समूदायका किशोरलाई धनगढीको फाप्लानजिक भेट्न बोलाएको खुलेको छ ।

सोही दिन मृतक शर्माले घरबाट निस्कने बेला आफ्नी बहिनीसँग ती किशोरले भेट्न नआए मुख हेर्न नपाउने जस्ता कुराकानी गरेको एक प्रहरी अधिकारीले बताए । ती अधिकारीले भने, ‘मृतक शर्माले सोमबार बिहानै आफ्नी बहिनीसँग ती केटाले भेट्न नआए मुख हेर्न नपाउने बताएकी रहेछन् ।’

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया