बिहीबार, वैशाख २७, २०८१

हर्क भर्सेस बालेन : वैकल्पिक शक्तिको भेषमा लुकेका ‘चोथाले’ पात्र !

दुई मेयरको पछिल्ला हर्कतले स्वतन्त्र उम्मेदवारप्रतिको छाप धमिलो बन्दै

दया दुदराज २०७९ भदौ ३ गते १९:०१

काठमाडौँ । गत शनिबार (२९ साउन) धरान उपमहानगरका मेयर हर्क साम्पाङ राई र उपमेयर आइन्द्र बेघा काठमाडौँ आए । काठमाडौँ आइपुगेलगत्तै मेयर राईले काठमाडौँको फोहोर व्यवस्थापमाथि टिप्पणी गरे ।

Advertisement

आफ्नो उपमहानगर सफा–सुन्दर भएको दाबी गर्दै मेयर राईले काठमाडौँको फोहोर व्यवस्थापनबारे प्रश्न उठाए । उनले महिनौँदेखि थुप्रिएको फोहोर व्यवस्थापनबारे सुझाव दिन भ्याए । उनले काठमाडौँभन्दा धरानै राम्रो लागेको दाबी गरे ।

उनले आफ्नो सामाजिक सञ्जालमा साउन २९ गते दिउँसो १२ः२७ बजे लेखेका थिए, ‘काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लाग्यो, प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’

संयोग मान्नु पर्छ मेयर राई काठमाडौँ आएको केही दिनमै महिनौँदेखि थुप्रिएको फोहोर उठ्न थाल्यो । अनि, उनले आफ्नो फेसबुकमा भदौ १ गते बेलुकी ८ः१३ बजे लेखे,‘जस्ले जे भनोस्, तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कमसेकम काम त शुरु गरे !’

मेयर राईले उक्त स्टाटस ठट्टा गरेर लेखेका होलान् । उनी आफैले आफूलाई भुइँ मान्छेको संज्ञा दिँदै आएका छन् । यद्यपि, उनको स्टाटसले एकाएक सामाजिक सञ्जाल तात्यो । उक्त स्टाटसले सामाजिक सञ्जाल मात्र नभई काठमाडौँका मेयर बालेन्द्र साह (बालेन)को दिमाग ततायो ।

निर्वाचित भएदेखि फोहोरको विषयमा आलोचित बन्दै आएका मेयर साहले अर्का मेयर राईको स्टाटसलाई सहन सकेनन् । राईको स्टाटसमा साहले कमेन्ट लेखे,‘हो नि, तपाईकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि ।’

मेयर साहको यो प्रतिक्रियामा उनको आक्रोश स्पष्ट देखिन्छ । अझ भनौँ, हर्कभन्दा आफू बढी रुचाइएको दाबी गरेका छन् । उनले घुमाउरो शैलीमा मेयर राईलाई आफूभन्दा तल देखाउन खोजेका छन् ।

काठमाडौँका मेयरको प्रतिक्रियासँगै धरानका मेयरले आफ्नो फेसबुकबाटै पुनः अर्को स्टाटस लेखे । उनले भदौ १ गते राति ९ः१३ बजेमा ‘आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !’ पोष्ट हाने ।

मेयर राईको यो स्टाटसलगत्तै अर्का मेयर साहका समर्थकहरू सामाजिक सञ्जालको मैदानमा उत्रिए । उनीहरूले मेयर राईविरुद्ध गालीको वर्षा गर्न थाले । तर, राईले लेख्न छाडेनन् । यसो त मेयर साहको यो आक्रोस पहिलोपटक होइन । उनी अघिल्लो हप्ता बसेको कार्यापालिकाको बैठकमै वडाध्यक्षविरुद्ध उत्रिएका थिए । आलोचना सहन नसकेकै कारण पटक पटक विवादमा तानिने गरेका छन् ।

मेयर साह आफ्नो प्रतिक्रियाका कारण विवादमा तानिदै आएका छन् । उनले थापाथलीस्थित नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना भत्काउन २४ घण्टे अल्टिमेटम दिएका थिए । तर, सर्वोच्च अदालतले तत्काल नहटाउन आदेश दिएपछि उनी पछि हटे ।

सर्वोचको आदेशसँगै मेयर साह सामाजिक सञ्जालमार्फत सर्वोच्चमाथि नै खनिए । उनले गत साउन २५ गते बेलुकी ८ः२८ मिनेटमा लेखेका थिए,‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

जनमतमाथि मजाक !

मेयरद्वय साह र राई दुवै जना स्वतन्त्र उम्मेदवारबाट विजयी भएका हुन् । उनीहरूले ठूला राजनीतिक दलका उम्मेदवारलाई धेरै मतान्तरले पछाडि पार्दै निर्वाचित भएका हुन् । उनीहरू लौरो चुनाव चिन्हबाट विजयी भएका हुन् ।
मेयर साहले नेपाली कांग्रेसका सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितभन्दा दोब्बर मत ल्याएर विजयी भएका हुन् । अर्का मेयर राई कांग्रेसका किशोर राई र नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीलाई पछि पार्दै निवार्चित भएका हुन् ।

निर्वाचनमा कलाकारिताको पृष्ठभूमिबाट उदाएका साहले ६१ हजार ७३७ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सिंहले ३८ हजार ३४१ मत पाएकी थिइन् ।

यस्तै, सामाजिक कार्यमा सक्रिय हुँदै धरानको समस्यामाथि प्रश्न उठाउँदै आएका मेयर राईले २० हजार ८२१ मतसहित निर्वाचित बने । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार राईले १६ हजार ५९ मत मात्रै ल्याएका थिए ।

लोकप्रिय मत ल्याएर निर्वाचित भएका दुवै मेयरहरू जनताले रुचाएअनुसार काम गर्न सकेका छैनन् । यद्यपि, राईको तुलनामा साहले काम गर्न नसकेको विश्लेषकहरूले बताउँदै आएका छन् ।

काठमाडौँका मेयर साह नीतिगत सुधारको पहलमा लागिपरेका छन् । धरानका मेयर राई जन श्रमदानको विधिमा लाग्दै विकासका कार्यमा अगाडि बढ्ने कोशिस गरेका छन् ।

तर, जिम्मेवार पदमा पुगेपछि दुवै मेयरले मौन बस्नु पर्ने विषयमा समेत अनावश्यक टिप्पणी गर्दै आएका छन् । जसले उनीहरू दुवै मेयरमा परिपक्वता देखिदैन । उनीहरूमाथि जनताले यस्तो कच्चापनको अनुभूति गरेका थिएनन् ।

दुवै जना स्वतन्त्र मेयरलाई जनताले वैकल्पिक शक्तिका रुपमा हेरेका थिए । तर, उनीहरूले चोथाले अवतार देखाएका छन् ।

संघीय निर्वाचनमा स्वतन्त्रलाई चूनौती !

मेयरद्वय साह र राईको उदय वैकल्पिक शक्ति र युवा नेतृत्वका रुपमा भए पनि पछिल्लो समय उनीहरूले देखाएको व्यवहारले आसन्न संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेमाथि चुनौती थपिएको छ ।

आगामी मंसिर ४ गते संघ र प्रदेशसभा निर्वाचनमा धेरैले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । कतिपय उम्मेदवारहरूले घोषणा गरी चुनावी तयारीमा लागेका छन् । काठमाडौँकै धेरै क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँमा साह धरानमा राईसहित देशका धेरै स्थानमा उम्मेदवार निर्वाचित भएका थिए । जसले गर्दा प्रतिष्ठित व्यक्तिहरू संघ र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा थिए । तर, दुई मेयरको पछिल्ला हर्कतले स्वतन्त्र उम्मेदवारप्रतिको छाप धमिलो बन्दै गएको छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया