शुक्रबार, वैशाख २८, २०८१

माओवादीमा २१ जनाको पदाधिकारी

महासचिवमा गुरुङ पक्का, उपमहासचिव ७, सचिव ९ जनाको प्रस्ताव, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष एक-एक जना मात्रै

रामकृष्ण अधिकारी २०७९ भदौ ३ गते १२:१५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले २१ जनाको पदाधिकारी बनाउने भएको छ । उपमहासचिव ७ जना र सचिव ९ जना बनाउने गरी माओवादीले पदाधिकारी संख्या टुंग्गो लगाएको हो । शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीको संख्या करिव टुग्गो लगाएको हो ।

Advertisement

त्यस्तै कुन पद कति संख्याको बनाउने भन्नेमा पनि शुक्रवारको बैठकले टुग्गो लगाएको माओवादीका एक जना स्थायी समिति सदस्यले मेरोन्यूजलाई जानकारी दिए ।

‘पदाधिकारी २१ सदस्यीय बनाउने विषय टुग्गो लागेको छ, पदाधिकारीभित्र पनि कुन पद कति संख्याको बनाउने भन्नेमा पनि सहमति बनेको र टुंग्गिएको छ,’ ति नेताले भने ।

उनका अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव १ र कोषाध्यक्ष १ जना हुनेछन् ।


पदाधिकारीमा उपमहासचिव ७ जना र सचिवमा भने ९ जना रहने गरी आजको बैठकले टुग्गो लगाएको छ । यधपी उपाध्यक्ष संख्या थप गर्ने या अहिले प्रस्तावितमा सहमति गर्ने भन्नेमा सोचेर भोलि बस्ने बैठकले अन्तिम टुग्गो लगाउने गरी शुक्रवारको बैठक सकिएको ती नेताले बताए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णवहादुर महरा फाइनल जस्तै छ ।
महासचिवमा देव गुरुङको नाममा प्रचण्डले प्रस्ताव गर्ने गरी तयारी गरेका छन् । यस विषयमा पनि प्रचण्डले पार्टीका नेताहरुसँग अनौपचारिक छलफल गरिसकेका छन् ।

गुरुङ महासचिव बन्ने भएपछि नै अन्य उपाध्यक्ष पद नराखी बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष एक एक जना मात्रै राख्ने गरी माओवादी अगाडी बढेको हो । त्यसो हुँदा अहिले महासचिव दावी गरिरहेका बर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल लगायतका नेताहरु उपमहासचिव बन्नेछन् ।

त्यस्तै शक्ति बस्नेत, मात्रिका यादव, हरिवोल गजुरेल, गिरिराजमणि पोखरेल पनि उपमहासचिव बन्नेछन् ।

यसरी ७ जना उपमहासचिव हुनेछन् । सचिवमा भने त्यसपछि अन्य नेताहरु रहने गरी तय हुने देखिएको ती माओवादी नेताले बताए ।

पार्टीको साहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल)को राष्टिय भेलामा अध्यक्ष प्रचण्ड प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनु पर्ने, गोरखाको एक कार्यक्रममा पुग्नुपर्ने र आजै बेलुकी सत्ता गठबन्धनको बैठकमा समेत प्रचण्ड सहभागि हुनुपर्ने भएकोले आजै थप छलफल नगरी बैठक भोलि दिउँसो १ वजेसम्मलाई स्थगित गरिएको पनि ती माओवादी नेताले बताए ।

यधपी बैठकमा पार्टीको नीति, विधि, संगठन र आगामी कार्यक्रममा केन्द्रीत रहेर आजको बैठकले महत्वपूर्ण र जीवन्त छलफल गरेको पनि माओवादी नेताहरुको भनाई छ ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया