शुक्रबार, वैशाख १४, २०८१

स्थानीय तहको निर्वाचन : कम्युनिस्ट पार्टीको भविष्य

मेरोन्यूज २०७९ जेठ ३० गते २०:०८

महान दश वर्षको जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका विभिन्न आन्दोलनको परिणाम स्वरुप मुलुकमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीता, मौलिक हक र अधिकारलगायतका केही महत्वपूर्ण जनअधिकार स्थापित भई नयाँ संविधान जारी भएको लामो समय भइसकेको छ ।

नेपालको संविधानले स्थानीय तहलाई नै अधिकार सम्पन्न बनाउन जोड दिएको छ । संविधानको अनुसूची ८ मा २२ वटा विषयगत क्षेत्राधिकार तोकेको छ । ती क्षेत्राधिकारको प्रयोग र उपभोगको लागि स्थानीय तह स्वयम्ले नै नियम, कानुनहरू बनाउन सक्ने व्यवस्थापकीय अधिकार प्रदान गरेको छ ।

नेपालको इतिहासमा नै पहिलोपटक स्थानीय सरकार गठनको ऐतिहासिक अभियान चलिरहेको छ । यसबाट विगत कालको एकात्मक प्रणालीले सिंहदरबारमा केन्द्रीत गरिएको जनताको अधिकारलाई जनताकै घरदैलोमा पुर्याउने र स्थानीय जनतालाई नै अधिकार सम्पन्न गराई स्थानीय जनप्रतिनिधिहरूद्वारा नै सुशासन सञ्चालन गर्नुका साथै स्थानीय जनताद्वारा नै आफ्नो गाउँ र नगरको विकास आफैले गर्ने प्रणालीको शुरुवात भएको छ ।

यी सबै उपलब्धिहरू मुख्यतः दश वर्षको जनयुद्धको उपज हो । अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा माओवादी पार्टीले सशक्त ढंगले प्रतिवाद गर्दै आएको कारणले गर्दा राज्य पुर्नःसंरचना गरी सिंहदरबारमा केन्द्रीत अधिकारलाई गाउँ र नगर तहसम्म अधिकार पुर्याउन सफल भएको हो । अतः यस उपलब्धिको संस्थागत स्थापना र रक्षा गर्ने मूल दायित्व पनि माओवादी आन्दोलनकै काँधमा आएको छ ।

कम्युनिस्ट आन्दोलन नेपाली राजनीतिमा मात्रै होइन । बरु धेरै फराकिलो र गहिराइसम्म पुगेको सामाजिक आन्दोलन हो । पार्टी भनेको आन्दोलनको साधन हो, साध्य होइन । देश, काल परिस्थिति अनुसार जे आवश्यक हुन्छ पार्टी त्यसै गरी चल्छ । अर्थतन्त्रसहित समाजवादी क्रान्ति गरौं भन्ने सोचेर तत्कालीन एमाले र माओवादीबीच २०७४ मा एकता भयो । सुरुमा सबै एजेन्डामा हस्ताक्षर गरे पनि पार्टी अध्यक्ष केपी ओली सिद्धान्तविपरीत चल्नु भयो ।

पार्टी एक पक्षीय र प्रतिगामी ढंगले चल्न थालेपछि नेकपाबाट छुट्टिएर राष्ट्रियता र संविधानको रक्षार्थ माओवादी केन्द्रले आफ्नो मूल पार्टी माओवादी पुनर्गठित भएपछि नयाँ ऊर्जाका साथ पार्टी बनाउनतिर लाग्यो । माओवादी पार्टीको आकार र संगठनभन्दा यसले बोक्ने विचार ठूलो हो । देशको स्वाधीनता र राष्ट्रियताको पक्षमा माओवादी केन्द्र निरन्तर लागिरहेको छ ।

पार्टी पराजय हुनुका पछाडि यिनै कारण प्रमुख रहेका छन् । यस्ता कमी कमजोरीलाई केही सुधार गर्न सकियो भने माओबादी पार्टी जितेका र जित्दै गरेका आधार क्षेत्रमा पुनः जित हासिल गर्न सक्छ ।

चौतर्फी आक्रमणमा रहेको माओवादी पार्टीले प्रतिरक्षा गर्दै पार्टी निर्माणको अबको अभिभारा सबै माओवादी आन्दोलन र जनयुद्धसँग सम्बन्धित पार्टी र कार्यकर्ताको काँधमा आएको छ । पार्टी एकतालाई शिरोपर गर्दै निरन्तर क्रान्तिको दिशामा अघि बढ्नु नै माओवादीको अबको बाटो हुनु आवश्यक छ ।

स्थानीय निर्वाचनमा किन हार्‍यो माओवादी

पार्टी विभाजन

दशकौंको साहसिक र रक्तरञ्जित इतिहास बोकेको पार्टी शान्ति प्रक्रियामा आएपछि एकल केन्द्रीकृत नेतृत्व र केन्द्रीयतामा चलेको पार्टीलाई बहुपदीय नेतृत्व मानेर जाने निर्णय भएपश्चात पार्टीभित्र विभिन्नखाले गुट उपगुटहरू निर्माण हुन थाले । पार्टी एकीकरणको नाममा जस लिन र फाइदाका लागि माओवादी बन्नेहरू अघि जाने र जनयुद्ध लडेर आएका नेता कार्यकर्तापछाडि पर्दै जान थाले ।

पार्टीको एउटा सशक्त धार जो जनयुद्ध लडेर आएको थियो । त्यो धारको बहिर्गमनले पार्टीलाई धेरै कमजोर बनाइदियो । विभाजित अवस्थामा पार्टी निर्वाचनमा होमियो र नराम्रोसँग पराजित हुन पुग्यो । पार्टी छोडेर गएका नेताले घोषित रुपमै पुरानो पार्टीलाई हराउने अभियान चलाए । त्यसको फलस्वरुप पार्टीको उपस्थिति ज्यादै कमजोर हुन पुग्यो ।

सहर केन्द्रीत नेतृत्व

माओवादी नेता कार्यकर्ता यो वा त्यो बहानामा माओवादी नेता सहर केन्द्रीत हुन पुगे । जंगल र जनताका छाप्रोमा जीवन गुजारेका नेता कार्यकर्ता सहर पसेपछि सहरको हावाले छोयो र गाउँ पूरै बिर्सिन थाले ।

नेताहरूले सहरको सपना देखे । ठूला ठूला महलमा सपना देखे । अनि आफ्नै सपना पूरा गर्नतिर लागे । नेताले हिजो जनतालाई देखाएका सपना बिर्सिए । अनि, समाजका कथित ठेकेदारसँगै र आफ्नो सपना पूरा गर्नतिर लागे ।

मुखले हामी सबैभन्दा पृथक छौँ भन्ने तर व्यवहारमा पुरानै समाजका ठेकेदार जस्ता भयौँ । जसले जनताले विश्वास गर्न छाडे र पार्टी हार्दै गयो । पार्टीले सर्बहारा क्रान्तिको नारा कता कता छोडेको जस्तो देखिन थाल्यो । बिरोधीले त्यहीअनुसार आक्रमण गरे । पार्टीले त्यसको प्रतिरक्षा गर्न सकेन । र, माओवादी पराजित हुँदै गयो । पार्टीका गढ भत्किँदै गएको तितो सत्य जो माओवादी आन्दोलनसँग सम्बन्धित छन् ।

कार्यकर्ता पलायन

पार्टी सफल हुने भनेको उसको संगठन र संगठित कार्यकर्ताले हो । जुन कुनै पार्टीले पनि आधार भनेको कार्यकर्ता नै हो । हिजो लाखौँको संख्यामा संगठित वाइसीएल, मजदूर र विभिन्न जनवर्गीय संगठनको कार्यकर्तालाई जिविकोपार्जनको कुनै बाटो न पार्टीले गराउन सक्यो न उनीहरू आफै गर्न सके । जो हिजो पार्टी बनाउन र युद्धका कठिन मोडमा पनि विचलित थिएनन् । तिनीहरुलाई पार्टीले संरक्षण गर्न सकेनन् । फलस्वरुप कार्यकर्ताहरुमा शिथिलता पैदा भयो ।

हिजो युद्ध लडेकै कति जनमुक्ति सेनाका कमाण्डर युवा आज खाडी तथा भारतलगायत अन्य देशमा छन् । त्यसको हिसाब र उनीहरूको योगदान मूल्यांकन पार्टीका नेताहरूले राखेनन् । र, पार्टी कमजोर हुँदै गयो । निरन्तर पराजयको शिकार हुँदै गएको पनि छ । फलस्वरूप स्थानीय निर्वाचनमा नराम्रो तरिकाले पराजित हुनु पर्यो ।

कमजोर प्रचार प्रसार

माओवादी पार्टीको प्रचार प्रसारको हिसाबले ज्यादै कमजोर बन्यो । माओवादी निकटको प्रेस सेन्टरलाई बाइपास गरी माओवादीबाटै प्रताडित भएपछि नेतासँग दुरी बनाउन पुगे । आमसञ्चारको क्षेत्रमा माओवादीको उपस्थिति कमजोर हुँदै गयो ।

सामाजिक सञ्जालमा माओवादीविरुद्धमा संगठित रुपमा फरक पार्टीका कार्यकर्ताबाट आक्रमण हुँदै गयो र त्यसको प्रतिरक्षा माओवादी कार्यकर्ताले गर्न सकेको देखिएन । माओवादी पार्टीप्रति आस्थावान नेता, कार्यकर्ता पत्रकारको निर्वाचन समयमा ज्यादै कमजोर उपस्थिति देखियो । चाहे त्यो मिडियामा होस् चाहे त्यो सामाजिक सञ्जालमा
प्रेस सेन्टर नेपाललाई आफ्नो निकटको संगठन हो भनेर बुझ्न जरुरी छ । यदि, प्रेस सेन्टरलाई बाइपास गरिरहने हो भने पार्टीलाई स्थानीय निर्वाचनमा भोगेको पीडाभन्दा बढी भोग्नु पर्ने स्थिति आउन सक्छ ।

उम्मेदवार चयन

अब ठूला नाराबाट होइन, साना कामबाट जनतालाई आशावादी बनाउन सकिन्छ । पार्टी साध्य होइन, सेवाको साधन हो । चुनाव जित्नु र हार्नुमा उमेदवारको सामाजिक गतिविधि, उसको नैतिक सामाजिक आचरण, जनसम्बन्ध सधै प्रमुख रहने गर्छन् ।

कतिपय गाउँपालिका र नगरपालिकामा त्यहाँका जनतासँग राम्रो सम्बन्ध नभएका, जनमानसमा नभिजेका व्यक्तिलाई उमेदवार बनाएर पनि माओवादी पार्टी हारेको छ । चुनाव घोषणा हुनुभन्दा अघि अर्को कार्य क्षेत्रमा खटाइएका नेता कार्यकर्तालाई फरक क्षेत्रमा उम्मेदवार बनाउँदा पनि जनमानसमा जान कठिन भएको हो ।

कतिपय ठाउँमा पारिवारिक विरासतलाई आधार मानेर टिकट वितरण गरियो । जसले पनि पार्टी कमजोर उपस्थिति रहन गयो ।

एमसीसी समर्थन–विरोध

माओवादीले सदनमा एमसीसी समर्थन गरिरहँदा आफ्ना सम्पूर्ण जनवर्गीय संगठनलाई एमसीसीको विरोधमा सडक प्रदर्शन तीव्र पार्न निर्देशन दियो । पार्टी नेतृत्वबाट आएको निर्देशन भन्दै माओवादीले देशभर प्रदर्शन पनि गर्यो । संगठन संरचनाभन्दा बाहिर रहेर दिइने यस्तो निर्देशनले माओवादी पार्टीको कमजोर धरातल पुष्टि गर्छ ।

यसबाट असन्तुष्ट केही कार्यकर्ता फागुन १६ गते एमसीसी पास भएको दिन प्रदर्शनमा सहभागी थिएनन् । देशभर पनि केही असन्तुष्ट नेता–कार्यकर्ताले माओवादी नै परित्याग गरिसकेका थिए ।

ठूला नेता राजधानीमा, साना नेता सदरमुकाममा

पार्टीमा एकसे एक नेताहरू थिए । तर, गाउँघरमा थिएन । आफ्नो स्तरको अर्को नेतासँग तर्सिने, काम गर्न सक्ने नैतिक साहस र गरिमा भएको नेतृत्व थिएन । गुटहरू थिए । तर, नेतृत्वले क्रान्ति र पार्टीको भविष्यलाई देखादेखी दाउमा लगाउन्नथ्यो । आफ्नै गुटको नेतालाई प्रश्न सोध्ने र असहमत हुन सक्ने वातावरण थियो ।

एमाले–कांग्रेसले पुरानो गढ जोगाउन भए भरको शक्ति लगाएको थिए । माओवादी केन्द्रमा आन्तरिक रुपमा संगठन सुदृढ भएर चल्न सकेन । कांग्रेसलगायत अन्य दल इमान्दार भएन । उम्मेदवार नभएको ठाउँमा पनि रुखमा मत हाल्यो । कहीँ कांग्रेस–एमाले मिलेर हराए, नेताहरु एक गुठ भएनन् । आफ्नै लडेर पनि हारे । टिकट नपाउनेले हराउन लागे ।

स्थानीय सरकार र पार्टीबीचको सहकार्य र समन्वय फिटिक्कै देखिदैन । चुनाव हारेपछि पार्टीले हारियो भन्ने र चुनाव जितेपछि आफ्नै कारण जितेको ठानेर फेरि पार्टी कमिटी र जनतामा नफर्कने समस्या हिजोका आधार क्षेत्रहरूमा बढ्दै गएको देखिन्छ ।

माओवादी केन्द्र अस्तित्व रक्षाकै संघर्षमा छ । एकाध पालिकामा बाहेक माओवादी उम्मेदवार जित्न होइन । तेस्रो स्थानमा आउन संघर्ष गर्नु पर्ने अवस्थामा देखिन्छन् । जति ठाउँमा संगठन बनेका छन् । त्यहाँ पनि जनाधार भएका कार्यकर्ता छैनन् । कतिपय वडामा त उम्मेदवार समेत नपाउने अवस्था छ ।

संसद्को विघटन, विभाजनको परिणाम

नेपाली राजनीतिलाई अस्थिर पार्न खोज्ने शक्तिहरूले आक्रमण गर्ने हाम्रो लोकतन्त्रको मर्मस्थल हिजो पनि संसद् थियो । र, आज पनि संसद् नै हो । हाम्रो लोकतान्त्रिक स्थिरताको सबैभन्दा संवेदनशील मामिलामाथि खेलबाड गर्दै असंवैधानिक बाटोबाट संसद् विघटन, त्यो पनि कम्युनिस्ट पार्टीको नेताबाट, अकल्पनीय धृष्टता हो ।

संसद्को विघटनजस्तो मुद्दामा एक्लै निर्णय गर्नु गलत थियो । कम्युनिस्ट विरोधी, चाकरी, पैसा, टिकटको ग्यारेन्टी वा संसदीय निर्वाचनको आश्वासनको प्रभाव बढ्दै जानु ती पार्टीभित्र रहेका वामपन्थीहरू कमजोर बन्ने छन् । सहमतिको सूची पढेर वा आवश्यकताअनुसार कहीँकहीँ लोकतान्त्रिक अभ्यासको नाटक गरेर आआफ्ना गुटलाई टिकट बाँडियो ।

सबै गुटमा नयाँ प्रवेशी थैलीवालाको महत्त्व बढ्को छ । कम्युनिस्ट पार्टीका नाममा बने पनि यसरी बन्ने पार्टी वैचारिक तथा सैद्धान्तिक रूपमा अर्को कांग्रेस नै हो । यसरी एकअर्कालाई गाली गर्दै दुवै थरीले कम्युनिस्ट आन्दोलनको कांग्रेसीकरण गर्ने छन् । नेताका एजेण्डा, जीवन शैली, पार्टीभित्र र बाहिरका सम्बन्ध, उनीको विचार हेर्दा कांग्रेस पार्टी जस्तो भइसकेको छ ।

एकताको वैचारिक आधार

राजनीतिक बजारमा अनेकौं तरङ्ग देखिन थालेका छन् । अनेकौं आशंकाहरु पनि सँगै जन्माउन खोजियो छ । एकता देशको आवश्यकता हो । जनताको चाहना हो । तसर्थ, मिल्ने भनेपछि बिमतिका विषयलाई पनि साँधुरो बनाउँदै जानुपर्छ । विचार र संगठनमा एकताको बिन्दु खोज्नु पर्दछ ।

निर्वाचनपछि बाम एकता वार्ता त अगाडि बढिरहेको छ । तर, जनमानसमा वैचारिक मुद्दाको रणनीतिक महत्वबोधभन्दा एकताको मिति प्राथमिकतामा छ । सञ्चार माध्यम हरेक छलफललाई निर्णायक वार्ताका रुपमा प्रसार गरिहेका छन् । यसलाई एकताप्रति जनतामा निहित व्यग्र प्रतीक्षाको अभिव्यक्तिका रुपमा बुझ्न सकिन्छ । तर, दार्शनिक, वैचारिक पक्षमा एकरुपता कायम गर्ने सवालमा मात्र नभएर वैचारिक समझदारीलाई लिपिबद्ध गर्नसमेत निश्चित समयको आवश्यकता पर्दछ । एकतामा समय लाग्नुमा यही कारण नै मुख्य हो ।

सवाल नयाँ पार्टी निर्माणको हो । एकीकृत पार्टीको बलमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिलाई मजभूत बनाउनु हो । त्यसका लागि नेताहरूले आफ्ना आग्रह त्याग्न सक्नु पर्दछ । र, सक्ने छन् । विश्व राजनीतिमा कम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा रहेको परिस्थितिमा नेपालमा कम्युनिष्टको एउटै केन्द्र बन्दा विश्व कम्युनिष्ट आन्दोलनकै निम्ति त्यो शक्तिशाली सन्देश हुन सक्दछ ।

प्रतिक्रिया