बुधबार, वैशाख २६, २०८१

पल शाहको बयान सकियो, म्यानेजरको भोलि लिने

मेरोन्यूज २०७८ चैत ८ गते १८:४७

काठमाडौँ । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाह उर्फ पूर्णविक्रम शाहको बयान लिएको छ। मंगलबार जिल्ला अदालत तनहुँले उनको बयान लिएको हो।

Advertisement

पलको बयान लिएर सकिएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिम्लिसिनाले बताए। उनका अनुसार दिउँसो करिब ३ बजेदेखि साढे ५ बजेसम्म पलको बयान लिइएको थियो।

उनका म्यानेजर कृष्णप्रसाद जोशीको बुधबार १० बजेपछि बयान लिने उनले बताए। ‘पल शाहको बयान सकियो, म्यानेजरको बयान लिन बाँकी छ, भोलि सुरुमै बयान लिन्छौँ’, उनले भने।

प्रहरी हिरासतमा रहेका नायक शाहविरुद्ध मंगलबार नै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो। सोमबार तनहुँ प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

जोशीको बयान सकिएपछि जाहेरवाला र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच बहस चल्ने छ। दुवै पक्षका आधा दर्जन कानुन व्यवसायीले बहस गर्ने बुझिएको छ। यो संख्या थपघट हुनसमेत सक्नेछ।

१२ देखी १४ वर्षको कैद सजाय माग गर्दै पलविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको हो। उनका म्यानेजर जोशी मतियार भएकाले आधा सजायको माग गरिएको छ।

११ फागुनमा उदयमान एक गायिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय तनहुँमा आएर जर्वजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएका थिए। पलले अन्तिम पटक तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौँडामा जर्वजस्ती बलात्कार गरेको उजुरीमा उल्लेख छ।

बालिकाको अभिभावकले उजुरी दिएपछि १५ फागुनमा पल आफैँ जिल्ला प्रहरी कार्यालय तनहुँमा आएर अत्मासमर्पण गरेका थिए। सोही दिन उनलाई जिल्ला अदालत तनहुँले अनुसन्धानका लागि सात दिनको दिएको थियो। त्यसपछि १२ दिनको म्याद थपिएकोमा बिहीबार सकिएको थियो।

उनका म्यानेजर जोशीलाई पनि २७ फागुनमा दमौलीबाट लिएर अनुसन्धान गरिएको थियो। पल नवलपुर प्रहरीमा पनि उजुरी परेको थियो। २३ फागुनमा उनलाई तनहुँ प्रहरीले नवलपुर प्रहरी समक्ष अनुसन्धानका लागि बुझाएको थियो। १ चैतमा नवलपुरबाट तनहुँ ल्याएर प्रहरीले थप अनुसन्धान गर्‍यो।

नवलपुर जिल्ला अदालतमा गत बिहीबार पलविरुद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले पलविरुद्ध अभियोगपत्र दायर गरेको हो।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग)अनुसार सजाय माग गर्दै अभियोग पत्र दायर भएको हो।

प्रतिक्रिया