आइतबार, वैशाख २३, २०८१

विभाजनको संघारमा एनआरएनए

मेरोन्यूज २०७८ फागुन २७ गते १५:२६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजनतर्फ लक्षित भएको छ ।

Advertisement

एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएपछि विवाद झनै चुलिएको हो । गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौं महाधिवेशन विवादका कारण हुन नसकेपछि विवाद समाधान गर्न भन्दै एनआरएनएको प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति बनाइएको थियो । उक्त समितिले निर्धारित समयमा निकास दिन नसकेको भन्दै निर्वाचन कार्यक्रम अघि सारिएको थियो ।

एनआरएनएको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवार मनोनयन गर्ने शुक्रबार अन्तिम दिन हो । आगामी मार्च २६ र २७ गते महाधिवेशन गराउने गरी निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ । तर निर्वाचन कार्यक्रम अघि बढ्दै गर्दा एनआरएनएका प्रमुख संरक्षक शेष घलेले निर्वाचन समिति पुनर्गठन गरेका छन् ।

संघको विधानअनुसार केन्द्रीय समितिको निर्वाचन गराउन भन्दै उनले निर्वाचन समिति पुनर्गठन गरेका हुन् । घलेले निर्वाचन कार्यक्रमलाई नै अस्वीकार गर्दै पुनः महाधिवेशन आयोजक समिति गठन गरेपछि एनआएरएन विभाजनको दिशामा अघि बढेको संकेत मिलेको एनआरएन प्रतिनिधिहरुले बताएका छन् ।

घलेले संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा महाधिवेशन आयोज समिति गठन गरेका छन् । उक्त समितिले मार्च २२ देखि २५ तारिखमा नै निर्वाचन गर्ने घोषणा गरेको छ ।

एनआरएनएका वर्तमान कार्यसमितिका अध्यक्ष कुमार पन्तले विधानअनुसार नै निर्वाचन कार्यक्रम अगाडि बढेको भन्दै निर्वाचन समिति पुनर्गठन अस्वीकार गरेका छन् ।

घलेले निर्वाचन समिति पुनर्गठन गरेपछि एनआरएन सदस्यहरु स्पष्ट रुपमा दुई समूहमा बाँडिएका छन् । स्रोतकाअनुसार एनआरएन विभाजनकै अवस्थामा पुग्दा दुई समूह मात्र नभई दुई भन्दा बढी समूहमा विभाजन हुन सक्ने छ ।

प्रतिक्रिया