बिहीबार, वैशाख २७, २०८१

बागमतीमा सबैभन्दा बढी एचआईभी संक्रमित, अन्य प्रदेशमा कति ?

पाँचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक

सञ्जिता खनाल २०७८ फागुन ९ गते १४:४०

काठमाडौँ । नेपालमा ७६ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्क र सुईद्वारा लागु पदार्थ प्रयोगकर्ताको माध्यमबाट सर्ने गरेको देखिएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नेपालमा ७६ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्क र सुईद्वारा लागु पदार्थ प्रयोगकर्ताको माध्यमबाट सर्ने जनाएको हो ।

Advertisement

नेपालमा वैदशिक रोजगारीमा गएका, यौनकर्मी, लागु पर्दाथ प्रयोगकर्ता र जेलमा रहेका कैदी एचआईभीको जोखिममा रहेको केन्द्रको तथ्यांकले देखाएको छ । केन्द्रका अनुसार नेपालमा बर्सेनी दुई हजारभन्दा बढी नयाँ एचआईभी संक्रमित थपिइरहेका छन् ।

पाँच वर्षको संक्रमितको तथ्यांक

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको आर्थिक वर्ष २०७७–०७८ को तथ्यांकअनुसार दुई लाख ४२ हजार ६८९ जनाको एचआईभी परीक्षण गराउँदा दुई हजार ५७९ मा संक्रमण देखिएको छ ।

यसैगरी, आर्थिक वर्ष २०७६–०७७ मा नयाँ संक्रमित दुई हजार ४१६ जनामा संक्रमण देखिएको थियो । आर्थिक वर्ष २०७५–०७६ मा दुई हजार २९८ जनामा एचआइभी संक्रमित भेटिएका थिए । आर्थिक वर्ष २०७४–०७५ मा दुई हजार १३ जना, २०७३–०७४ दुई हजार १११ र २०७२–०७३ तीन हजार ६७१ नयाँ संक्रमित फेला परेका थिए ।

सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको आर्थिक वर्ष २०७७–०७८ को तथ्यांकअनुसार एचआईभीका बिरामी थपिएका मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् । केन्द्रका तथ्यांक अधिकृत वीरबहादुर रावलले सो वर्ष बागमतीमा एक हजार २११ नयाँ संक्रमित फेला परेको जानकारी दिए ।

उनका अनुसार प्रदेश १ मा २२२, मधेसमा ५६५, गण्डकीमा २२२, लुम्बिनीमा ५११, कर्णालीमा ३२ र सुदूरपश्चिम प्रदेशमा २२४ नयाँ संक्रमित फेला परेका थिए ।

पाँचौ राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको छ ।

मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि उक्त रणनीतिक योजना सार्वजनिक गरिएको बताइन् । उनका अनुसार यो योजना अघिल्लो आर्थिक वर्षमा बनेको भए पनि अहिलेको आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिप्रेन्द्र रमण सिंहले यो योजनाले एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्न सहयोग पु¥याउने बताए ।

के–के छन् पञ्च वर्षे रणनीतिमा

उक्त योजनामा नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, कूल अनुमानित एचआईभी संक्रमितध्ये ९५% को पहिचान गर्ने, नयाँ एचआईभी संक्रमणदर लाई ९०% ले कम गर्ने, आमाबाट बच्चामा हुने एचआईभीको संक्रमणलाई निवारण गर्ने र जोखिम समूहहरूमा एचआईभी रोकथामका सेवाहरू द्रुत गतिले बढाउने रहेका छन् ।

यसैगरी, सोही योजनामा आमाबाट बच्चामा हुने एचआईभी र भिरङ्गीको संक्रमण उन्मूलन गर्ने, मानवअधिकार र लैङ्गिकताको आधारमा एचआईभीसँग सम्बन्धित प्रतिकार्य गर्ने, एचआईभीसँग सम्बन्धित सुशासन सुदृढीकरणको लागि प्रभावकारी, समावेशी र जवाफदेही सेवा बनाउने र मानवअधिकार र लैङ्गिकताको आधारमा एचआईभीसँग सम्बन्धित प्रतिकार्य गर्ने आदि रहेका छन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया