शनिबार, वैशाख २२, २०८१

केएमसीविरुद्ध ३२ दिनदेखि विद्यार्थी आन्दोलित, कलेज प्रशासन मौन

मेरोन्यूज २०७८ पुष २१ गते १३:०७

काठमाडौं । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं मेडिकल कलेज (केएमसी)ले मनोमानी ढंगले चर्को शुल्क असुलेको भन्दै एक महिना भन्दा बढी समयदेखि विद्यार्थीहरु आन्दोलित भएका छन् ।

केएमसीले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा पनि बढी शुल्क असुलेको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काउँदै आएका छन् ।
आन्दोलन शुरु गरेको ३२ दिन हुँदा पनि कुनै सुनुवाई नभएको केएमसीकी विएनएस प्रथम वर्षकी विद्यार्थी प्रभा बुढाथोकीले बताइन् । लामो समयदेखि विद्यार्थीहरु कलेजदेखि सडकसम्म प्रदर्शन गर्दा पनि कलेज प्रशासन भने मौन देखिएको छ ।

कलेजदेखि जिल्ला प्रशासन कार्यालय, चिकित्सा शिक्षा आयोग लगायतका कार्यालयमा धर्ना प्रदर्शन गरेका उनीहरुले बुधबार माइतीघरदेखि नयाँबानेश्वरसम्म र्याली निकालेका छन् । बानेश्वर पुगेर र्याली कोणसभामा परिणत भएको थियो ।

विद्यार्थीहरुबाट अधिकतम ४० लाख रुपैयाँ लिनुपर्नेमा कलेज प्रशासनले विभिन्न बाहनामा अतिरिक्त शुल्क भन्दै रकम असुलिरहेको विद्यार्थीहरुको भनाई छ । ४० लाख रुपैयाँ थोरै होइन, तर त्यसमा पनि अतिरिक्त शुल्क भनेर असुल्ने काम भइरहेको अर्का एमबीबीएस प्रथम वर्षका विद्यार्थी प्रविण न्यौपानेले भने ।

आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने विद्यार्थीहरुले बताएका छन् ।

Advertisement

प्रतिक्रिया