आइतबार, वैशाख ३०, २०८१

एमाले महाधिवेशन

नेतृत्वमा पुरानै अनुहार, प्रतिनिधि नयाँ

अध्यक्ष पदमा भीम रावलको च्याँखे दाउ, कुन पदमा कसको सम्भावना ?

हरि भट्ट २०७८ मंसिर ६ गते २०:२२

काठमाडौँ । गंगा दाहाल नेकपा एमालेको आसन्न १० औं महाधिवेशनमा पहिलो पटक महाधिवेशन प्रतिनिधि बनेकी छन् । विद्यार्थी राजनीति गर्दै आएकी उनी सुर्खेतबाट खुल्लामा महाधिवेशन प्रतिनिधि बनेकी हुन् । ‘अरु जस्तै प्रतिस्पर्धा गर्न सकिन्छ भनेर खुल्लाबाट महाधिवेशन प्रतिनिधि बनेकी हुँ’ उनले भनिन् ।

गंगाजस्तै एमालेको १० औं महाधिवेशन प्रतिनिधिमा अधिकांश नयाँ अनुहार छन् । पार्टीको दशौं महाधिवेशनमा नयाँ अनुहारको संख्या धेरै रहेको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

‘दश वर्षदेखि पार्टी सदस्य लिएकाहरु महाधिवेशन प्रतिनिधि बन्न पाउने विधानमा व्यवस्था छ । त्यसैअनुसार नै जिल्लाबाट नयाँ प्रतिनिधि छनोट भएका छन्’, तामाङले भने, ‘महाधिवेशनमा नयाँ अनुहारको संख्या उल्लेखनीय रहे पनि हामीले एकीन तथ्याङ्क भने राखेका छैनौं ।’

एमालेको १० औं महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि चयन भएका छन् । बाँकी ५ प्रतिशत पार्टीले मनोनित गर्नेछ । त्यसैका लागि मंगलबार स्थायी कमिटी बैठक बस्दैछ ।

नेकपा एकता हुँदा विभाजनसम्म आइपुगेका कारण पनि नयाँ अनुहार धेरै भएको हुन सक्छ । एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनालहरु छुट्टिए भने माओवादीका कतिपय नेताहरु एमालेमै रहे । राजनीतिक उतारचढाव र नजिकिएको आम निर्वाचनका कारण पनि एमाले महाधिवेशनमा नयाँ अनुहारका प्रतिनिधिहरु देखिएका हुन सक्छन् ।

यसपटक एमालेले प्रविधिको प्रयोग निकै नै गरेको छ । अनलाइनबाटै पार्टी सदस्य नवीकरणदेखि प्रतिनिधिको नामावली पनि डिजिटल बनाएको छ ।

चितवनमा गर्न लागेको १० औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । यहि मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा महाधिवेशन हुँदैछ ।

यसअघि एमालेले गत असोजमा विधान महाधिवेशनको आयोजना गरेको थियो । ललितपुरको गोदावरीमा सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनबाट पार्टीको नीति तथा पाँच वर्षको लागि कार्यादिशासमेत तय गरिसकेको छ ।

विधान महाधिवेशनबाटै १०औं महाधिवेशनका लागि पार्टीको पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यको संख्या निर्धारण गरिएको छ ।

अध्यक्ष पदमा भीर रावलको च्याँखे दाउ

विधान महाधिवेशनले कायम गरेको संख्याका आधारमा एमालेले नयाँ नेतृत्व चयन गर्दैछ । यद्यपि एक पटक एमाले अध्यक्ष ओलीलाई नै नेतृत्व दिनुपर्ने भन्दै सर्वसम्मत चयन गर्ने नेताहरुले बताउँदै आएका छन् ।

सर्वसम्मत नेतृत्व चयनसँगै स्थायी कमिटी र केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन गर्ने तयारी भइरहँदा आइतबार मात्रै तेस्रो धार भनिएका एमाले नेता भीम रावलले अध्यक्ष उम्मेदवारको घोषणा गरेका छन् ।

यद्यपि निर्वाचन नै भएको अवस्थामा पनि रावलले ओलीलाई माथ गर्न भने गाह्रो छ । ओलीलाई चुनौति दिन रावलले उम्मेदवारी घोषणा गरेपनि अन्तिमसम्म उनको उम्मेदवारी रहला कि नरहला हेर्न बाँकी छ ।

रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपनि ओलीसँग प्रतिस्पर्धा गर्ने जस्तो आफूलाई नलागेको एमाले प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन् । अहिले देशले नै ओलीको नेतृत्व खोजिरहेकाले रावलले ओलीसँग प्रतिष्पर्धा नगर्ने ज्ञवालीले दाबी गरे ।

ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेर चुनाव जित्ने सम्भावना नभए पनि बार्गेनिङ्का लागि रावलले च्याखे थापेको कतिपयको बुझाइ छ । पराजित भएको अवस्थामा आगमी आम निर्वाचनमा टिकट नपाउने डर पनि रावलमा छ ।

कुन पदमा कसको सम्भावना ?

गत असोजमा विधान महाधिवेशन गरेको एमालेले पार्टीमा एक वरिष्ठ उपाध्यक्षसहित चार उपाध्यक्षको व्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव ईश्वर पोखरेलको सम्भावना रहेको छ । वरिष्ठ उपाध्यक्षमा अरुले दाबी गरे पनि पोखरेलको नै सम्भावना रहेको एमाले नेताहरुले बताउने गरेका छन् ।

दुई पटक महासचिव भएकाले अबको उपाध्यक्ष पोखरेल बन्ने आंकलन धेरैको छ । महासचिव को हुने टुङ्गो भने अहिलेसम्म लागि सकेको छैन । पोखरेलले पनि महासचिवमा दाबी गरिसकेका छैनन् । उनले पार्टीमा छलफल गरेर महासचिव टुङगो लाग्ने बताएका छन् ।

यस्तै, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यको सम्भावना बढी छ । नेतृत्वमा अन्य महिला नभएकाले पनि उनको सम्भावना रहेको प्रवल देखिन्छ ।
नवौं महाधिवेशनबाट निर्वाचित वामदेव गौतमले पार्टी छाडेका छन् भने विद्यादेवी भण्डारी राष्ट्रपति छन् । अहिले रहेका शाक्य, भीम रावल र युवराज ज्ञवाली छन् । यी मध्ये शाक्यलाई उपाध्यक्षमा कायम राखेर ज्ञवाली र रावललाई विदाइ गर्ने ओलीको मनसाय रहेको एमाले नेताहरु बताउँछन् ।

माओवादीबाट आएका रामबहादुर थापालाई पदीय मिलान आवश्यक भएकाले उनलाई उपाध्यक्ष बनाउने भित्री तयारी छ । ओलीका प्रियपात्र सुभाष नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेललाई पनि महत्वपूर्ण पद दिनुपर्ने बाध्यता ओलीलाई छ । शंकर पोखरेल र विष्णु पौडेल मध्ये एक जना उपाध्यक्षको सम्भावना देखिन्छ ।

महासचिवका आकांक्षी आधा दर्जन

शक्तिका हिसाबले अध्यक्षपछिको ठूलो पद महासचिव हो । त्यसैले महासचिवका आकांक्षी पनि एमालेमा झण्डै आधा दर्जन छन् । अध्यक्ष ओली भने पार्टी विभाजनमा सबै भन्दा नजिक रहेर सहयोग गरेका शंकर पोखरेललाई महासचिव बनाउने योजना छन् । त्यसैको अभ्यास गर्दै उनले विधान महाधिवेशनमा पनि पोखरेललाई मौका दिए ।

यस्तै, तत्कालिन नेकपामा महासचिव रहेका विष्णु पौडेल, ९ औं महाधिवेशनमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे र अहिले सचिव रहेका पृथ्वी सुब्वा गुरुङलाई मिलाउन पनि हम्मेहम्मे पर्ने देखिएको छ ।

एक उपमहासचिवको व्यवस्था गरेको एमालेमा अहिलेसम्म कसैले दाबी गरिसकेका छैनन् । हालका पार्टी प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीलाई उपमहासचिवमा सार्ने ओलीको धेय छ । अहिलेका उपमहासचिव घनश्याम भुसाल पछिल्लो समय मात्रै माधव नेपाल छाडेर एमाले फर्किएकाले उनको गनितोमनितो छैन । तर तेस्रो धारको प्रतिनिधित्व गर्दै रावलले अध्यक्षको उम्मेदवार घोषणा गरेर यो समूहले धावा बोलिसकेको छ ।

सात सचिवमा तेब्बर आकांक्षी

विधान महाधिवेशनले सात वटा सचिवको व्यवस्था गरेको छ । भौगोलिक आधारले पार्टीमा सात वटा सचिवको व्यवस्था गरिएको हो । यसअघि ९ औं महाधिवेशनमा क्षेत्रका आधारमा पाँच वटा सचिवको व्यवस्था गरिएको थियो । सात सचिवमा तेब्बरले आंकाक्षा देखाएका छन् ।

सचिवमा प्रतिस्पर्धा हुने सम्भावना पनि धेरै छ । एमाले संस्थापन पक्ष, माओवादी धारबाट आएका र दश बुँदे सहमति गरी एमालेमा रहेका नेताहरु सचिवका आकांक्षी छन् ।

यस्तै, एमालेको स्थायी कमिटीमा पनि पुरानै अनुहार आउने देखिन्छ । एमाले केन्द्रीय पार्टी कार्यालय सचिव तामाङका अनुसार सहमतिमा नै पार्टीको नेतृत्व तय गरिने छ । पार्टीमा छलफल गरेर नै पदाधिकारी छनोट हुने बताए । एमालेले चुनावी प्रतिस्पर्धा नगरेर सहमतिका आधारमा पार्टीको नेतृत्वको टुंगो लगाएर एकताको सन्देश दिन चाहेको तामाङले बताए ।

Advertisement

यो पनि पढ्नुस्ः

आकांक्षी उम्मेदवारको भोट माग्ने नयाँ शैली

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया