शुक्रबार, वैशाख १४, २०८१

एमाले महाधिवेशन

आकांक्षी उम्मेदवारको भोट माग्ने नयाँ शैली

उम्मेदवार टुंगाे नलागेपनि आकांक्षी नेताहरुले एसएमएसबाटै भाेट माग्न थाले

मेरोन्यूज २०७८ मंसिर ६ गते १५:१९

काठमाडौं । नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गर्ने बताइरहँदा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै अब त्यो सम्भावना टरेको छ । घनश्याम भुसालले पनि आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा तयारी गरेका छन् । सम्भवतः उनले उपाध्यक्षमा उम्मेदवारी दिनेछन् ।

महासचिवमा सार्वजनिक कसैले पनि औपचारिक रुपमा मुख नखोले पनि सार्वजनिक सञ्चारमाध्यममा अन्तर्वार्ताका क्रममा विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र सुरेन्द्र पाण्डेले आकांक्षा देखाएका छन् ।

सचिव पदका आकांक्षी त झण्डै दुई दर्जन नेताहरु छन् ।

एमालेले गत असोजमा पार्टीको पहिलो विधान अधिवेशन गरेर अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष , एक एक जना महासचिव र उपमहासचिव तथा ७ जना सचिव गरी १५ जना पदाधिकारी रहने गरी विधानको ब्यवस्था गरेको छ ।

त्यही विधानको ब्यवस्थाका आधारमा अव एमालेले पार्टीको दशौं महाधिवेशनवाट नयाँ नेतृत्व चयन गर्नुपर्नेछ । यद्यपी, नेताहरुको ब्यवस्थापनका लागि अझै पनि उपाध्यक्ष र उपमहासचिव पद थप गरेर भएपनि मिलाउनुपर्ने दवाब नेतृत्वमा छ । तर ओली यसमा सकारात्मक भइसकेका छैनन्।

महाधिवेशन आउन अब ४ दिन मात्रै बकी छ । तर नेतृत्व (केपी ओली)ले सर्वसम्मत चयन गर्नुपर्नेमा जोड दिइरहेको र ओलीको निगाहबिना कसैले पनि उम्मेदवारी दिएर चुनावै भएपनि जित्न सक्ने अवस्था नदेखिएको कारण आकांक्षी नेताहरु तैं चुप मैं चुपको अवस्थामा छन् ।

ओलीको आकाक्षा सकभर पदाधिकारी १५ पदमा चुनाव गराउनै नदिने भन्ने थियो । एमालेमा आफू सर्वसम्मत रहेको र तत्काललाई आफ्नो विकल्प नरहेको सन्देश दिन पनि ओलीको भित्री आकांक्षा थियो ।

तर केन्द्रीय सदस्यका आकांक्षी धेरै भएकोले केन्द्रीय सदस्यमा भने प्यानल नबनाई आकांक्षीहरुकाबीचमा चुनाव हुन दिने ओलीकाे चाहना थियो । तर त्यो अवस्था नदेखिएपछि कतै चुनाव नै भइहाल्छ की भन्ने अहिले पदाधिकारीका आकांक्षी नेताहरुसम्मलाई लाग्न थालेको छ ।

सोही कारण अहिले पदाधिकारीदेखि केन्द्रीय सदस्यका बलिया दाबेदार नेताहरु महाधिवेशन प्रतिनिधिसँग पुग्ने माध्यमको खोजीमा जुटेका छन् ।त्यसका लागि उनीहरुले महाधिवेशन प्रतिनिधिमा छानिएकाहरुलाई एसएमएस क्याम्पियन थालेका छन् । महाधिवेशन प्रतिनिधिको नामै उल्लेख गरेर उनीहरुले घुमाउरो शैलीमा आफ्नो उपस्थिति जनाउन खोजेका छन् ।

यसरी एसएमएसमार्फत बलियो उपस्थिति महाधिवेशन प्रतिनिधिमा देखाइरहेका नेता हुन् – योगेश भटराई, ऐन महर, पृथ्वीसुब्बा गुरुङ, शेरबहादुर तामाङ, सुरेन्द्र पाण्डे, रश्मी आचार्य, निरज आचार्य र समिर नेपाल लगायतका छन् । योगेश फेरि एक कार्यकाल पदाधिकारी थप नहुँदा सचिवमै दोहोरिन चाहेका छन् । पृथ्वी सुब्बाको सक्दा महासचिव ताकेर उपाध्यक्षतिर अहिले सुरक्षित हुने दाउ देखिन्छ । सुरेन्द्र पाण्डे महासचिव या उपाध्यक्षका आकांक्षी छन् । शेरबहादुर तामाङ पनि सचिवका आकांक्षी हुन् । ऐन महर, सुरेश नेपाल, रश्मी आचार्य, निरज आचार्य लगायतका नेताहरु केन्द्रीय समितिमा सुरक्षित हुन चाहिरहेका छन् ।

यसले पनि उनीहरु महाधिवेशन प्रतिनिधिकाबीचमा कसरी पुग्ने भन्ने माध्यमको खोजीमा छन् । त्यही क्रममा उनले महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना साट्दै एकतावद्ध एमाले निर्माण महाधिवेशनबाट निस्कदा बनाउनुपर्ने, एमालेलाई रुपान्तरण गरेर आउनुपर्ने लगायतका नारा एसएमएसमार्फत नै दिइरहेका छन् ।

सबै जसोले महाधिवेशन प्रतिनिधि चयन भएकोमा प्रतिनिधिलाई बधाई दिँदै अबको एमाले कस्तो बनाउने भन्नेसम्मको सन्देशमार्फत् आफनो धारणा एमसएमएसबाटै ब्यक्त गरेका छन् ।

‘पार्टीले सर्वसम्मत गर्छ या चुनाव ? अध्यक्षको मुख ताकेका होलान् नेताहरुले । उम्मेदवारी घोषणा गर्न सकेका छैनन् । त्यही भएर आकांक्षी नेताहरुले यो भोट माग्ने नयाँ शैली अपनाएका हुन्,’ एसएमएस प्राप्त गरेका एमाले महाधिवेशन प्रतिनिधि भास्कर प्रधानाङले मेरो न्युजसँग भने ।

प्रतिक्रिया