बिहीबार, वैशाख २७, २०८१

चेम्बरका अध्यक्ष मल्ल भन्छन् : पारिवारिक जिम्मेवारी बढ्दा व्यापारमा सफल भएँ

किरण अधिकारी २०७८ कार्तिक २३ गते १२:३१

काठमाडौँ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपालका उद्योगहरु विस्थापित नहुने गरी विदेशी सामाग्री ल्याउने र नेपाली सामाग्री विदेश निर्यात गर्ने बताउँछन् । नेपालको कुनै पनि उत्पादनलाई ब्राण्डमा चर्चित बनाएर अन्तर्राष्ट्रियकरण गर्नु पर्ने उनको भनाई छ ।

Advertisement

नेपालमा बैंकिङ, पर्यटन, जलविद्युत, बीमा, इँट्टा, टायल उद्योग, हवाई क्षेत्र, इञ्जिनियरिङ कलेज, होटल, कृषि, इन्भेष्टमेन्ट कम्पनीलगायत विभिन्न क्षेत्रमा आबद्ध भएर युवालाई आत्मनिर्भर बनाउन लाग्नुका साथै नेपालका साना किसान, व्यवसायीहरुको रोजीरोटी गुम्नु नदिई स्थानीय स्तरका सर्वसाधारणलाई उनले काममा लगाएका छन् । कृषि उत्पादनलाई बढावा दिन तराई क्षेत्रका विभिन्न ठाउँमा कृषिमा आधुनिकीकरणसँगै नेपाली ब्राण्ड जन्माउन कम्मर कसेका छन्, उनी ।

‘युवाहरु स्वविवेकले आफै कमाउँदै आफै पढ्ने हुनु पर्छ, मेरो आफ्नो मानयता पनि त्यही हो, म आफै पनि त्यसै गरी आएँ, अहिलेका युवाहरु पनि त्यसरी आफै कमाए समाज र परिवारप्रतिको उत्तरदायित्व बहन गर्न सहज बनाउँछ,’ राजेन्द्र भन्छन् ।

पढाईसँगै व्यापार

काठमाडौंको शंकरापुर (पहिलेको साँखु)मा विं.स. २०१९ जन्मिएका राजेन्द्र अहिले ५९ वर्ष भए । २०३६ सालमा भाग्यदय माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा सकाएपछि उनी उच्च शिक्षाका लागि ठमेलमा रहेको सरस्वती बहुमुखी क्याम्पसमा भर्ना भए ।

तर, उनले त्यसबेला पढाईभन्दा आफ्नै बाउबाजेको घरायसी व्यापारलाई प्राथमिकतामा राखे । उनी कलेजमा अध्ययन गर्न जानुभन्दा बाबुबाजेको व्यापार अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन र अन्तर्राष्ट्रिय सामाग्री नेपालमा भित्र्याउन लागि परे । जसका कारण केही समय राजेन्द्रले पढ्न सकेनन् ।

सन् १९८२ सालतिर व्यापारको सिलसिलामा हङकङ, बैंककबाट उनले झोलामा खुद्रा सामान ल्याउने-लैजाने गर्थे मल्लले । त्यसबेला उनलाई उनीभन्दा सिनियरको साथ हुन्थ्यो । तर, कतिपयले उनलाई युवा भनेर नपत्याइदिने र आफ्नैबाट उधोरो लगेर नतिरिदिने गरेपछि उनी समस्यामा परे । त्यसपछि उनले अधुरो पढाई फेरि सुरुआत गर्ने योजना बनाए ।

पढाईसँगै उनले व्यापारलाई साथै अगाडि बढाए । ०४२ सालमा उनी अन्तर्राष्ट्रिय कम्पनीको ‘लोकल एजेन्ट’ बने । त्योबेलामा विदेशी संस्था युएन, इसिमोड, डब्लुएचओमा सामान सप्लाई गर्ने काम उनैले पाए । कहिले ठेक्का पट्टामा, कहिले होटलको काममा उनले हात हालेका थिए ।

०४६ सालमा उनले एउटा कम्पनी खोले । जसबाट विदेशका सामान आयात गर्ने र नेपाली सामान निर्यात गर्ने गर्दथे ।

संघर्षपूर्ण जीवन

हुन त उनलाई पारिवारिक जिम्मेवारीबोधले पढाईसँगै व्यापारमा आउन उत्प्रेरित गरेको थियो । उनले सानै उमेरमा बुवा गुमाए ।

सानै उमेरमा नयाँ लुगा लगाउने, मोटर साइकल चलाउने, साथी भाइसँग घुम्न जाने, सौखिन थिए, उनी । त्यसबेला बाउबाजे घरायसी सामानको व्यापारमा थिए । व्यापार भएकाले उनको केही इच्छा पूरा भए ।

विं.स. ०३९ सालमा बुबाको निधन भएपछि उनलाई पारिवारिक र सामाजिक उत्तरदायित्वले थिच्न पुग्यो । उनी आफै पहिलेदेखि व्यापारमा रुची राख्ने भएकाले बाउबाजेले गर्दै आएको व्यापारलाई नै निरन्तरता दिए ।

‘सानै उमेरमा बुबाको मृत्यु भएकाले ममाथि जिम्मेवारी झन् बढ्यो, बुबा हुँदा चाहिएको पैसा सहज पाउँथे, बुवा नभएपछि अप्ठ्यारो थियो । जिम्मेवारी सानैमा बढ्यो, दु:ख गर्नतिर बढी लाग्नु पर्यो, बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म काममा लाग्नु पर्यो । कलिलै उमेरमा मेरो बिहे भएपछि झन जिम्मेवरी बनायो । त्यसपछि म व्यापारमा जोडिएँ,’ राजेन्द्रले भन्छन् ।

अहिले राजेन्द्रसँग आफ्नै एयरलाइन्स छ । इँट्टा उद्योगदेखि इञ्जिनियरिङ क्याम्पस, होटल–रेष्टुरेन्ट, ट्राभल–ट्रेकिङ, कृषिमा आर्गनिक खेतीलगायतका व्यवसायमा लगानी छ, उनको । उनले नेपाली सामाग्री विदेश निर्यात गर्ने र विदेशी सामाग्रीलाई नेपालमा आयात गरेर काम गरिरहेका छन् ।

आगामी योजना

सानो योजनाबाट व्यापारमा हात हालेका राजेन्द्रसँग अहिले दर्जनौँ व्यापार छन् । निरन्तर पेशामा प्रतिबद्ध भएर लगनका साथ काम गर्दा सफलता चुम्न सहज हुने उनको ठम्याई छ । जसका कारण उनी नयाँ नयाँ योजनाका बारेमा, लगानीका नयाँ क्षेत्रको खोजीका बारेमा पनि सोचिरहेका हुन्छन् ।

त्यसो हो भने, उनका अबका योजना के छन् त ? राजेन्द्र भन्छन्, ‘व्यक्तिगत योजना व्यवसायलाई बढाउने हो, तर आफू जिम्मेवार व्यक्ति भएकाले सबै उद्योगी व्यवसायीका समस्या समाधान गर्ने र उद्योग व्यवसायको प्रर्वद्धनका लागि अगाडि बढ्ने सोच मेरो छ ।’’

कोरानाले विगत २ वर्षदेखि उद्योग व्यवसायलाई नराम्ररी थला पारेको छ । यसबाट व्यवसायी मर्कामा छन् । कोरोना कहिलेसम्म रहन्छ र निर्वाध व्यापार व्यवसाय गर्न पाउँछन् भन्ने कुनै टुंगो छैन । सबैभन्दा बढी पर्यटन क्षेत्रमा यसको असर परेको छ ।

कोरोनासँगै जुध्दै यस क्षेत्रमा नयाँ तरिकाबाट व्यवसायमा लाग्नु पर्ने उनी बताउँछन् । स्वास्थ्य मन्त्रालयले दिएको सुझावलाई पालना गर्दै कोरोनाबाट आफू बच्दै अरुलाई बचाउँदै नयाँ ब्राण्डिङमा लाग्ने राजेन्द्रले आगामी योजना बुनेका छन् ।

विं.स.२००७ सालमा स्थापना भएको चेम्बर अफ कमर्शको अध्यक्ष बन्दा खुसीसँगै चुनौती थपिएको उनी बताउँछन् । निकै पुरानो संस्था चेम्बरको नेतृत्व अहिले उनको काँधमा छ । अहिले उद्योगी व्यवसायिक अनेक संघ-सस्था जन्मिएका छन् । सबैको उद्देश्य उद्योगी व्यवसायीको हक हितमा काम गर्ने हो ।

सरकारलाई आर्थिक वृद्धिका लागि सहयोग गर्ने हो । तर, छिन्नभिन्न उद्योगीका संघ-संस्थाका छिन्नभिन्न समस्यालाई एउटै डालोमा हालेर समाधान खोजी गर्नु पर्ने उनले ठानेका छन् । त्यसका लागि आफू चेम्वरको नेतृत्वमा रहेर पहल गर्ने उनको योजना छ ।

मन पर्ने

पर्यटन क्षेत्रमा हात हालेका राजेन्द्र आफूलाई भने धार्मिक पर्यटन असाध्यै मन पर्छ । कोरोनाले गर्दा २ वर्षदेखि कुनै धार्मिक पर्यटकीय क्षेत्रमा उनी जान पाएका छैनन् । कोरोना अलिक सहज बन्दै गएको बेला उनले आफूलाई मन पर्ने धार्मिक क्षेत्रमा जाने सोच बनाएका छन् ।

व्यवसायमा थकित भएका बेला पनि उनी नारायण गोपालको गीतमा आनन्द लिन भुल्दैनन् । साहित्यकार बालकृष्ण सम पनि उनलाई असाध्यै मन पर्नेमा पर्छन् । उनका कतिपय रचना उनी फुर्सदका समयमा पढ्ने गर्छन् । त्यस अतिरिक्त हास्य व्यंग्यका चर्चित व्यक्ति मदनकृष्ण श्रेष्ठ पनि उनी मन पराउँछन् ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया