शुक्रबार, वैशाख २८, २०८१

स्याङ्जामा थप २९ जनामा एचआईभी संक्रमण

मेरोन्यूज २०७८ कार्तिक २० गते १७:३६

काठमाडौँ । स्याङ्जामा थप २९ जनामा एचआईभी संक्रमण दखिएको छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआईभी संक्रमण देखिएको हो ।

Advertisement

सबै संक्रमितले नियमित औषधि सेवन गर्दै आएको गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शंकर जिसीले जानकारी दिए । संक्रमित वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वत र गुल्मीका रहेका छन् ।

गह्रौँ प्राथमिक अस्पतालले एआरटी सेवा आरम्भ गरेसँगै हालसम्म २४८ संक्रमितलाई औषधिसहित परामर्श प्रदान गरिएको जिसीले बताए । एआरटी सेवा लिनेमा पुरुष १२१, महिला ११७ र बालबालिका १० छन् ।

“हालसम्म १५ जनाले एचआईभी एड्सबाट ज्यान गुमाएका छन्”, उनले भने, “पहिला थाहा पाउँछन् कि भन्ने डरले अन्यत्रबाट औषधि लिने गरेका थिए, अहिले यहीँ आउन थाल्नुभएको छ ।”

जिल्लामा असार मसान्तसम्म ९८ महिला, ९४ पुरुष र आठ बालबालिका एचआईभीबाट संक्रमित भएका थिए । एक सय ७४ जनाले औषधि तथा परामर्श सेवा लिएका छन् ।

विसं २०७६ असार मसान्तसम्ममा ९३ महिला, ८८ पुरुष र १२ बालबालिका एचआईभी संक्रमितमध्ये १६४ जनाले अस्पतालबाट औषधिसहित परामर्श लिएको जिसीले बताए ।

“संक्रमितमध्ये १३३ जनाको गह्र्रौँ प्राथमिक अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरेको छ”, उनले भने । एक सय ३४ संक्रमितले कोभिड–१९ विरुद्धको खोपसमेत लगाइसकेका छन् ।

प्रतिक्रिया