बिहीबार, वैशाख २७, २०८१

सरकारका दुई ठूला संस्थानको प्रमुखमा को-को भिड्दै ?

किरण अधिकारी २०७८ कार्तिक १८ गते १५:३५

काठमाडौँ । अर्थ मन्त्रालयले केही दिनअघि प्रकाशित गरेको नेपाल सरकारका दुई ठूला संस्थानको शीर्ष पदमा कुनै निवेदन परेको छैन । नेपाल धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पद रिक्त रहेकाले अर्थ मन्त्रालयले गत साता विज्ञापन निष्काशन गरेको हो ।

Advertisement

मन्त्रालयले गठन गरेको सिफारिस समितिले नियुक्ती प्रक्रिया दुवै संस्थानका लागि अगाडि बढाएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ । धितोपत्र बोर्डको अध्यक्षका लागि गत कार्तिक ११ गते र स्टक एक्सचेञ्जका सिइओका लागि गत कार्तिक १३ गते मन्त्रालयले विज्ञापन खोलेको हो ।

व्यवस्थापन, कानुन, चार्टर्ड एकाउन्टेण्टलगायतमा स्नातकोत्तर गरेको र पाँच वर्षको अनुभव भएकाले स्टक एक्सचेञ्जमा निवेदन दिन पाउने छन् । यस्तै धितोपत्र बोर्डको अध्यक्षको लागि धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा ७ वर्षको अनुभव भएको हुनु पर्ने छ ।

३० वर्ष पूरा भई ६० ननाघेका व्यक्तिले दुवै पदको नियुक्ती मन्त्रिपरिषद्ले गर्ने छ । दुवै पदका लागि चर्चामा आएका कुनै पनि व्यक्तिले तिहार बिदा अघिसम्म निवेदन नदिएको अर्थ मन्त्रालयले जनाएको छ ।

शेयर विवादमा तानिएपछि स्टक एक्सचेञ्जका सिइओ चन्द्रसिंह साउदले गत भदौ ८ गते राजीनामा गरेकाले सिइओ पद रिक्त थियो भने धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई गत असोज ११ गते मन्त्रिपरिषद बैठकले स्पष्टीकरण सोध्दै १५ गते बर्खास्त गरेकाले सो पद खाली हुन पुगेको हो ।

सर्वोत्तम सिमेन्टको सेयर विवादमा तानिएकाले दुवै संस्थाका प्रमुख पद खाली हुन पुगेको हो । धितोपत्र बजारको नियामक संस्था बोर्डका अध्यक्ष ढुंगाना र स्टक एक्सचेञ्जका सिइओ साउदले व्यक्तिगत लाभका लागि पदीय मर्यादाविपरीत काम गरेका थिए ।

ढुंगानाले बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासनको तयारी गरेको सर्वोत्तम सिमेन्टको धेरै शेयर कित्ता छोरीको नाममा राखेको भेटिएकाले सरकारले हटाउनु परेको थियो । यस्तै साउदले आफ्नी श्रीमतीको नाममा राखेको भेटिएकाले कार्य समय सकिन २ महिना मात्र बाँकी हुँदा राजीनामा दिएर सरकारलाई सहज बनाएका थिए ।

सरकारले ढुंगानालाई धितोपत्र बोर्डको अध्यक्षबाट हटाए पनि उनले सर्वोच्च अदालतमा कार्य समय सकिन अझै २ वर्ष २ महिना बाँकी भएकाले हटाउन नमिल्ने भन्दै रिट दायर गरेका छन् । ढुंगाना २०७६ पौष २१ गते ४ वर्षका लागि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ती भएका थिए ।

अब, सोही समयका लागि धितोपत्र अध्यक्ष पदको नयाँ विज्ञापन खोलिएको हो । स्टक एक्सचेञ्जको सिइओको लागि भने पूरै ४ वर्षका लागि नै पद रिक्त छ ।

सर्वोच्च अदालतमा अहिले आन्दोलन चलिरहेकाले ढुंगानाले दायर गरेको रिटमा सुनुवाई भएको छैन । अदालतले ढुंगानालाई पुर्नबहाली गर्ने सरकारलाई आदेश दिए अहिले जो नियुक्ती भए पनि छाड्नुको विकल्प छैन ।

धितोपत्र बोर्ड र स्टक एक्सचेञ्जमध्ये कुनै एकमा आफूलाई पार्नु पर्ने लबिङ चलेको छ । चर्चामा आएका व्यक्तिहरुमा स्टक एक्सचेञ्जका पूर्व सिइओ चन्द्रसिंह साउद, नेपाल बीमा समितिका पूर्व प्रमुख चिरञ्जिवी चापागाई, बोर्डका पूर्व अध्यक्ष डा. रेबत बहादुर कार्की, धितोपत्र बोर्ड कार्यकारी निर्देशक निरज गिरी, उप कार्यकारी निर्देशक नवराज अधिकारी, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्ण आचार्य र धितोपत्र बोर्डका विज्ञ सञ्चालक एंव एक्सचेञ्जका महाप्रबन्धक सीताराम थपलिया चर्चामा छन् ।

चर्चामा आएकामध्येलाई सम्पर्क गर्दा नेपाल बीमा समितिका पूर्व प्रमुख चिरञ्जिवी चापागाईबाहेक अरु बोल्नै चाहेनन् । चपागाईले नियुक्ती हुने पक्का भए आवेदन दिने तर अहिलेसम्म प्रस्ताव नआएको जानकारी दिए ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया