सोमबार, जेठ ७, २०८१

खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

मेरोन्यूज २०८१ वैशाख २७ गते ७:५५

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ । 

Advertisement

जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेर सेवा प्रवाह गरिएको वडा नं।–१२ का अध्यक्ष दानबहादुर राईले बताए । 

जालपाका स्थानीयले २०६९ सालमा चन्दा सङ्कलन तथा श्रमदान गरेर स्थापना गरेको १५ शय्याको सामुदायिक अस्पतालको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर सोही ठाउँमा नगर अस्पताल सञ्चालन गरिएको हो ।

जनसेवा सामुदायिक अस्पतालको नाममा रहेको चार रोपनी एक आना दुई दाम जग्गामा निर्माण गरिएका भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए । जालपामा सञ्चालित स्वास्थ्य चौकीको सेवासमेत सोही नगर अस्पतालबाट प्रवाह गर्नेगरी एकीकृत गरिएको जनाइएको छ । 

जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिले नगरपालिकालाई रु तीन करोड ५० लाख बढीको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेपछि बुधबारदेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।

निकट भविष्यमा १५ शय्यामा स्तरोन्नति गर्नेगरी स्थापना गरिएको नगर अस्पतालको उद्घाटन पूर्वसांसद टङ्क राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले संयुक्तरूपमा सेवा प्रारम्भ गरका हुन्।

यसैबीच, नगर अस्पताल स्थापनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जनसेवा सामुदायिक अस्पताल जालपाबीच भएको दुई पक्षीय सम्झौतापत्र आदानप्रदान भएको छ । सम्झौतापत्रमा नगर प्रमुख भट्टराई र सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरे ।

नगर अस्पतालमा सेवा प्रारम्भ भएको अवसरमा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । नगरपालिका र करुणा फाउण्डेशन नेपालले संयुक्तरुपमा आयोजना गरेको  शिविरमा एक सय २४ जनाले सेवा लिएका नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए । 

प्रतिक्रिया