शुक्रबार, वैशाख २८, २०८१

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल हुँदै, यस्तो छ इतिहास

आयुश राठौर २०७८ भदौ २० गते १६:५६

काठमाडौँ । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज साँझ हुँदैछ । दुई देशबीचको मैत्रीपूर्ण खेल नेपालको घरेलु मैदान काठमाडौँस्थित दशरथ रंगशालामा ५ः३० बजेदेखि सुरु हुने भएको हो ।

Advertisement

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने कार्य तालिका छ ।

दुई देशको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । घरेलु दर्शकसामु गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६० औँ मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

दक्षिण एसियाली फुटबलमा इतिहास पल्टाउँदा भारतले बढी खेल जित्दै आएको छ । नेपालले पछिल्लोपटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो । त्यसयता नेपालले भारतलाई हराउन सकेको छैन । साफ च्याम्पियनसिपको १२ औँ संस्करणसम्म भारतले ७ पटक उपाधि जितेको छ ।

नेपालले भारतसँग हालसम्म आधिकारिक १९ खेल खेलेको छ । जसमा नेपालले दुई खेलमा जित हात पार्दा भारतले १३ खेल जितेको छ । यस्तै, ४ खेल बराबरीमा रोकिएको छ ।

फिफा बरियताअनुसार भारत १०५ औँ स्थान र नेपाल १६८ औँ स्थानमा रहेको छ ।

इतिहास पल्टाउँदा

नेपाल र भारतबीच हालसम्म २० खेल सम्पन्न भएको छ । बंगलादेशमा सन् २००६ मा भएको पहिलो संस्करणको एएफसी च्यालेञ्ज कपअन्तर्गत दुई देशबीचको खेललाई फिफाले मान्यता दिएको थिएन ।

सन् १९८५ डिसेम्बर ३१ मा नेपाल र भारतबीचको पहिलो मान्यता प्राप्त औपचारिक खेल बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको थियो । त्यस खेलामा नेपाललाई भारतले २–० ले दोस्रो दक्षिण एसियाली खेलकुदअन्तर्गतको खेलमा हराएको थियो ।

सन् १९८७ डिसेम्बर २३ कोलकाता नेपाल र भारतबीचको दोस्रो खेल तेस्रो दक्षिण एसियाली खेलकुदका लागि भएको थियो । यो खेललाई हेर्न एक लाखभन्दा बढी दर्शक प्रशिद्ध साल्टलेक स्टेडियममा जम्मा भएका थिए । यस खेलमा पनि नेपाललाई भारतले १–० ले हराएको थियो । नेपालको ऐतिहासिक टेलिभिजनमा प्रत्यक्ष प्रशारण भएको यो पहिलो खेल थियो ।

सन् १९८९ अक्टोबर २३ चौथोँ दक्षिण एसियाली खेलकुदका तेस्रो स्थानका लागि इस्लामावादमा भएको खेलमा नेपाल भारससँग २–१ ले पराजीत भएको थियो । यो प्रतियोगितामा नेपालले कांस्य पदक पनि जित्न सकेन् । यसरी नेपालले भारतविरुद्धका सुरुवाती तीन खेलमा पनि लगातार हार बेहोर्‍यो । तर नेपालले भारतविरुद्ध पहिलो ऐतिहासिक गोल निकाल्न सफल भयो । नेपालका लागि मणि शाह भारतविरुद्ध पहिलो गोल गरेका थिए ।

सन् १९९३ जुलाई १९ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको सार्क गोल्डकपको आयोजना भएको थियो । त्यो साफ च्याम्पियनसिप हुनुअगाडिको प्रतियोगिता हो । राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगितामा नेपाल भारससँग १–० ले पराजीत भएको थियो ।

सन् १९९३ डिसेम्बर २६ बंगलादेशी राजधानी ढाकाले दोस्रो पल्ट दक्षिण एसियाली खेलकुदको आयोजना गरेको नेपाली फुटबलले सधैँ सम्झिने खेल थियो । फाइनलमा प्रवेश गरेका दुई टिम नेपाल र भारत थिए । यस खेलमा नेपालले टाइब्रेकरमा खेल जितेको थियो, ४–३ को स्कोरले । निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको थियो ।

त्यसमै नेपालले पेनाल्टीमा ऐतिहासिक सफलता चुमेको थियो । यो सफलता किन पनि विशेष रह्यो भने यस संस्करणको दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको यही एक मात्र स्वर्ण पदक हो । नेपाल फुटबलमा भारतीय टिममाथि हात पारेको यो नै पहिलो जित थियो ।

१९९५ डिसेम्बर २५ नेपाल र भारतबीचको छैटौँ भेट मद्रासको दक्षिण एसियाली खेलकुदमा भएको थियो । यो खेलमा नेपाललाई भारतले ३–० ले पराजित गरेको थियो । यसपल्टको दक्षिण एसियाली खेलकुदमा नेपालले फुटबलमा कुनै पदक जित्न सकेन् । भारतले स्वर्ण पदक चुम्यो ।

१९९८ डिसेम्बर ५ बैंकक यो समयसम्म एसियाली खेलकुदमा सहभागी हुने राष्ट्रिय टिम नै हुने गर्थे । त्यसैले थाइल्यान्डमा भएको बैंकक एसियाली खेलकुदमा नेपाललाई भारतले १–० ले पराजित गर्यो ।

१९९९ सेप्टेम्बर ३० काठमाडौं भारतीय राष्ट्रिय टिमले पहिलो पल्ट औपचारिक रूपमा खेलेको खेल यही हो । तर, यसमै नेपाल नराम्रोसँग पराजित भयो । भरिभराउ दशरथ रंगशहालामा भारत ४–० ले विजयी रह्यो । रंगशाला बाहिर टिकट किनेर पनि भित्र प्रवेश गर्न नपाएको दर्शकमाथि लाठीचार्ज भइरहेको थियो । भित्र जान नपाएका दर्शक एक अर्थमा भाग्यमानी नै रहे ।

यी दुई देशबीच अहिलेसम्म जति पनि खेल भए, त्यसमा भारतले नेपाललाई सबैभन्दा नराम्रोसँग पराजित गरेको भनेको यही खेल हो । यही दक्षिण एसियाली खेलकुदपछि पुरुष फुटबल पनि राष्ट्रिय टिमको खेल हुन छाड्यो ।

सन् २००५ डिसेम्बर १८ पाकिस्तानको कराँचीले साफ च्याम्पियनसिपको आयोजना गरेको थियो र त्यसमा नेपालको पहिलो खेल नै भारतविरुद्ध थियो । यी दुई टिमबीच पाँच वर्षको अन्तरमा खेल भएको थियो । त्यसमा भारत २–१ ले विजयी रह्यो । यही खेलबाट त नेपाली राष्ट्रिय टिममा नयाँ पुस्ताको सुरुआत भएको । यस खेलमा एकै पल्ट नेपालका लागि सात खेलाडीले डेब्यु गरेका थिए ।

सन् २००६ अप्रिल ९, चिटगाउँ नेपालले भारतीय टिमका पूर्व स्टार श्याम थापाको प्रशिक्षणमा पहिलो संस्करणको एएफसी च्यालेञ्जकप खेलेको थियो र यसमै नेपालले भारतमाथि ३–० को शानदार जित निकाल्न सफल रह्यो । नेपालका लागि वसन्त थापाले एक गोल गरे भने दुई गोल प्रदीप महर्जनले आफने नाममा गरेका थिए।

सन् २००८ जुन ३, माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिपको त्यस संस्करणमा फेरि एकपल्ट नेपालको पहिलो खेल भारतविरुद्ध नै थियो, त्यसमा फेरि एकपल्ट नेपाल नराम्रोसँग पराजित भयो ।
भारतले यो खेल सजिलैसंग नेपाललाई ४–० ले जित्यो । नेपाल भारतविरुद्ध चार गोलको अन्तरले दुई पल्ट पराजित रहेको छ र यो दोस्रो पल्ट थियो ।

सन् २००९ डिसेम्बर ७ ढाकामा नेपालले फेरि एकपल्ट साफ च्याम्पियनसपमा भारत प्रतिद्वन्द्वी पाएको थियो । बंगलादेशमा भएको यस संस्करणमा नेपालका लागि भने यो समूह चरणको दोस्रो खेल थियो र यसमा भारत १–० ले विजयी रह्यो । नेपालले यसअघि माल्दिभ्सविरुद्ध बराबरी खेलेको थियो । भारतविरुद्ध नेपालको यो दसौं हार थियो ।

नेपालले सन् २०१२ मा नेहरुकप खेल्ने आमन्त्रण पाएको थियो । र, यसै क्रममा नेपालको भेट भयो, भारतसँग । त्यति बेला नेपाल खासै लयमा थिएन् । त्यसको ठिक उल्टो भारतले भने राम्रो गरिरहेको थियो । त्यसैले यस खेलअगाडि धेरैको अनुमान थियो, भारतले जित्ने मात्र छैन्, राम्रै अन्तरले जित्ने छ । तर नतिजा यस्तो आएन् । खेल गोलरहित बराबरीमा टुंगियो । नेपालका लागि भारतलाई उसकै भूमिमा बराबरीमा रोक्न सक्नु सन्तोषजनक नतिजा थियो ।

यस्तोमा नेपालको सेमिफाइनल प्रवेश निश्चित भइसकेको थिएन् । यस्तोमा लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्दा नेपाललाई ढुक्क हुने स्थिति थिएन् । फेरि भारतलाई हराएको खण्डमा नेपाल समूह विजेता पनि हुन्थ्यो । आखिरमा यस्तै भयो, नेपालले भारतलाई २–१ ले हरायो । गोल गर्ने खेलाडी थिए, अनिल गुरुङ र जुमनु राई । पहिलो हाफको गोलरहित बराबरपछि अनिलले ७० औं मिनेटमा पहिलो गोल गरे । त्यसको नौ मिनेटपछि जुमनुले दोस्रो गोल थपे । भारतका रोबिन सिंहले गोल गरे ।

भारतले खेलको अन्त्यतिर नेपालमाथि निकै चर्को दबाब सिर्जना गरेको थियो र यही क्रममा एक गोल फर्काउन पनि सफल रह्यो । सयद नाबीले इन्ज्युरी समयको दोस्रो मिनेटमा एक गोल फर्काएपछि खेल निकै तनावपूर्ण र रोमाञ्चक मोडमा पुगेको थियो । यो जित किन ऐतिहासिक छ भने नेपालले भारतलाई हराएको यो तेस्रो अवसर मात्र हो । तर सबैभन्दा प्रभावशाली जित यही हो । सन् १९९३ मा पराजित गर्दा टाइब्रेकर चलेको थियो भने सन् २००६ मा हराउँदा भारत पहिलो रोजाईको टिम थिएन् ।

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया