बुधबार, वैशाख २६, २०८१

काेराेना महामारी

बढी मात्रामा भारत निर्यात हुँदा नेपालमा पारासिटामोल पाउनै मुस्किल

औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बराल भन्छन्– ४५ दिनमा डेढ करोड ट्याब्लेट सिटामोल सकियो ।

सञ्जिता खनाल २०७८ जेठ २६ गते १९:४४
प्रतिकात्मक फाेटाे

काठमाडौैं । सामान्य ज्वरो आउँदा प्रयोग हुने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । नेपालमा उत्पादन भएको पारासिटामोल भारत निकासी हुँदा यहाँ अभाव देखिन थालेको हाे । अहिले भारतमा पारासिटामोल अभाव रहेको छ ।

Advertisement

औषधि आर्यातकता संघ, औषधि उत्पादक संघ र औषधि व्यवस्था विभागले पारासिटामोल सहजै रुपमा नपाइएको स्वीकार गरेका छन् ।

औषधि उत्पादक संघ उपाध्यक्ष सन्तोष बरालले नेपालमा उत्पादन भएको पारासिटामोल भारतमा व्यापारी निर्यात हुँदा समस्या देखिएको बताए । अहिले पारासिटामोल बनाउन चाहिने कच्चा पदार्थको अन्तर्राष्ट्रिय बजारमा अभाव छ । ‘नेपालमा पारासिटामोल सस्तो छ, भारतमा अभाव हुँदा व्यापारीहरुले भारत निर्यात गर्दा अहिले नेपालमा अभाव देखिएको हो’, उनले भने ।

नेपालमा पारासिटामोलको मूल्य प्रतिट्याब्लेट १ रुपैयाँ पर्छ भने भारतमा १.८२ पैसा पर्छ । उनले भने, ‘नेपालमा उत्पादन भएका पारासिटामोल सीमा नाकामा बसेका आर्यात र नियार्तकताले भारत लैजाने गरेका छन् ।’ नेपालमा वार्षिक साढे ७ करोड ट्याब्लेट पारासिटामोल उत्पादन हुने गरेको छ । बरालले भने, ‘पछिल्लो ४५ दिनमा मात्र डेढ करोड प्रतिट्याब्लेट पारासिटामोल उत्पादन भए पनि अहिले सबै सकिएको छ ।’

सरकारले मूल्य समायोजन गरे नेपालमा उत्पादन हुने पारासिटामोल बाहिर नजाने उनको तर्क छ । भारतमा रहेको सिटामोलको मुल्य बराबर मूल्यमा सामायोजन गर्न स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागलाई अनुरोध गरिएको उनले बताए । शुक्रबार ६० लाख ट्याब्लेट पारासिटामोल बजारमा पठाउने तयारी रहेको उनले जानकारी दिए ।

त्यसमध्ये ५० लाख ट्याब्लेट पारासिटामोल व्यापारीले भारत लैजाने उनको आशंका छ । संघका अनुसार सन् २०२० मा विदेशबाट २० लाख ट्याब्लेट पारासिटामोल आयात भएको थियो ।

गत वैशाखमा संघले सरोकारवाला निकायलाई औषधि आयातमा सहजीकरण गर्न माग गरेको थियो । औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले अहिले बजारमा पारासिटामोल सजिलै पाउन छाडिएको बताए । उनले भने, ‘फार्मेसीमा पारासिटामोल किन्न जाँदा सजिलै पाइँदैन् ।’

अन्तर्राष्ट्रिय बजारमा पारासिटामोलको कच्चा पदार्थको मूल्य अकासिएको छ । पछिल्ला केही समयदेखि उत्पादकर्ताले १३ वर्षअघि नै तोकिएको मूल्यमा पारासिटामोल बिक्री गर्न नसकिने भन्दै मूल्य समायोजन गर्न सरकारलाई दबाब दिँदै आएका छन् । यद्यपि, कोरोना महामारीको समयमा सिटामोलको मूल्य नबढेको उनको भनाइ छ ।

‘कोरोना महामारीको समयमा सिटामोलको मूल्य बढाउन हुदैन् । यो समयमा सरकारलाई सहयोग गर्नुपर्छ’, उनले भने, ‘अहिलेसम्म त कुनै पनि औषधिको मूल्य बढेको छैन् ।’

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले आयात, उत्पादन र मौज्दातमा समस्या देखिँदा पारासिटामोल सहजै पाउन नसकिएको स्वीकार गरे । ‘एउटा फार्मेसीमा खोज्दा भेटिन छाडेको छ, दुई वा तीन वटा फार्मेसीमा खोज्दा माात्र भेटिन्छ’, उनले भने, ‘घरघरमा अनावश्यक मौज्दात गर्दा र फार्मेसीलाई एकै व्यक्तिलाई धेरै सिटामोल नदिन भनेका छौँ ।’

विभागको तथ्यांकअनुसार देशभर २९ हजार ५८ फार्मेसी दर्ता छन् । नेपालमा मात्र १६ कम्पनीले पारासिटामोल उत्पादन गर्दै आएका छन् । ४६ कम्पनीले विदेशबाट पारासिटामोल आयात गरी बिक्री गर्न विभागबाट अनुमति लिएका छन् ।

१५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत कोभिडमा प्रयोग हुने औषधिमा भन्सार छुटको व्यवस्था गरिएको बताएका थिए । उक्त व्यवस्था छिटो कार्यान्वयनमा ल्याउन आर्याकताहरुले माग गरेका छन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया