शुक्रबार, वैशाख १४, २०८१

प्रेम आले : ६ महिना मन्त्री बन्दा ६ विवाद

हरि भट्ट २०७८ जेठ २२ गते १७:४६

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकारमा केही यस्ता नमुना मन्त्री थिए । जसलाई आफैले के बोलिरहेको छु भन्ने हेक्का हुँदैन थियो । बेलगाम उनीहरू जाहाँ जे पनि बोल्दिन्थे ।

ओलीको ‘क्याबिनेट’का मन्त्रीमध्ये केहीका यस्ता कला थिए । उनीहरू बोलीमा ठेगान लगाउँदैनथे, जे मुखमा आयो त्यही बोलिहाल्थे । कोही त यतिसम्म थिए, ओलीको प्रशंसामै आफ्नो सम्बोधन केन्द्रीत गर्थे ।

‘केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो, जसरी बुझ्नु हुन्छ बुझ्नुस्’ सम्मका अभिव्यक्ति केपी ओलीका क्याबिनेटका मन्त्रीको भाषण आउँथे ।

यस्तै चर्चामा आइरहनेमध्येका एक थिए, डोटी जिल्लाका प्रेम आले ।

आले डोटीका नेता हुन् । जिल्लामा उनी त्यहाँको विकास  र जनतासँग प्रत्यक्ष जोडिएका नेतामध्येमै पर्छन् । उनी मन्त्री भएको हेर्न डोटीका जनता निक्कै लालायित थिए । यस्तैमा प्रधानमन्त्री ओलीले उनलाई मन्त्री बनाइदिए ।

त्यसपछि भने उनी बेलाबेलामा चर्चामा थिए । आले मन्त्री भएको केही समयमै सुदूरपश्चिमको धनगढीमा तत्कालीन नेकपा (ओली पक्ष)ले जनसभा आयोजना गर्यो । त्यहाँ प्रधानमन्त्री ओलीकै अगाडि मन्त्री आलेले जोश युक्त भाषण गरे । उनले त्यही भनिदिए, ‘यो सरकार अब सात गियरमा दौडिन्छ ।’

यो पनि पढ्नुहोस् : मन्त्री पद खोसिएको बारे बेखबर वन मन्त्री आले

आफैँ गाडी हाँकेर हिड्ने आलेले गाडीमा कति गियर हुन्छ, भन्ने पनि सामान्य नजरअन्दाज नगरी सरकार ७ गियरमा दैडिने भाषण ठोके । उनको त्यो भाषणले उल्टै सरकारलाई नै गिज्याउने मसला बन्यो । उनले गरेको भाषणका ती टुक्का पछि सामाजिक सञ्जालहरूमा भाइरल बन्यो । टिकटकहरूमा धेरै ‘उठन्ते’का रुपमा त्यसलाई लिन थालियो ।

प्रधानमन्त्री ओलीले गत पुस ५ मा पहिलोपटक संसद भंग गरेपछि आले मन्त्री बनेका थिए । त्यसअगाडिसम्म माधव नेपालसँग नजिक थिए, आले । तर, नेपाल समूहबाट मन्त्री बन्नका लागि सुदूरपश्चिमका नेपाल समूहका पिल्लर भीम रावलले सहयोग नगरेपछि उनी नेपाल समूह छोडेर ओलीतिर लागेका थिए ।

२०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा चुनावमा डोटीबाट निर्वाचित सांसद आलेमाथि मन्त्री बन्नकै लागि गुट बदलेको आरोप पनि थियो । नेपाल पक्षले त ‘नयाँ जोगीले खरानी धेरै घस्छ’ भन्दै धेरै ठाउँमा आलेको आलोचना पनि गरेको छ ।

तर, मन्त्री भएको ६ महिनाको अवधिमा आले ६ पटक सबैभन्दा बढी चर्चामा आए । तर, ती चर्चा उनको बोली चिप्लिदा भएका हुन् । सायद यो अवधिमा उनले जति चर्चा समाजिक सञ्जालहरुमा सेलीब्रेटीले पनि त्यति कमाएका थिएनन् ।

आले भने आफ्नो बाेली पटक –पटक चिप्लिदा ६ महिनाको कार्य कालभरि धेरैजसो चर्चामा रहे । सरकार ७ गियरमा दौडिने भाषण ठोकेको चर्चा सेलाउन नपाउँदै उनी फेरि नयाँ चर्चामा आए ।

उनले एक सार्वजनिक कार्यक्रममा भने, ‘यो जनताको सरकार हो र ? यो कुनै जनताप्रति उत्तरदायी भएको सरकार हो भन्ने तपाईहरूले सोच्नु भएको छ भने त्यो ठूलो भूल हुनेछ ।’ खासमा उनले सरकार जनताको पक्षमा रहेको र जनताकै सरकार हो भनेर सरकारको बचाउ गर्न खोजेका थिए ।

कहिले हात्तीमाथि चढेर गैँडा गणना गर्दै गरेको फोटो सार्वजनिक गरेर चर्चामा आउने आले अक्सिजनको सिलिण्डरमा आफ्नो फोटो टाँसेर पनि चर्चामा आए ।

तर, उनको बोली यति चिप्लियो कि उनले नै आफूले के बोले भन्ने भेउसम्म पाएनन् । जसका कारण उनी फेरि एकाएक चर्चामा आए । वन मुद्दा लागेका व्यक्तिलाई वन मन्त्रालयको जिम्मा लगाइएको भन्दै केहीले उनको शुरुदेखि नै खेदो खनेका थिए । तिनीहरुलाई समेत मसला पुग्ने गरी उनले सरकार नै जनताप्रति उत्तरदायी सरकार हो भन्ने नसोच्न भनेपछि उनीमाथि बोलीमा लगाम लगाउन प्रधानमन्त्री निजी सचिवालयकै कतिपय सल्लाहकारले सुझाव दिनु परेको थियो ।

तर, आलेले बोलीमा लगाम लगाउन सकेनन् । अध्ययन कम गर्ने, बोलीमा के बोलिरहेको छु भन्ने हेक्का नराख्ने र बोल्दा ख्याल नगर्ने भनी उनको आलोचना भइरहँदा फेरि उनकै बोलीले अर्काे चर्चा कमायो ।

उनले रुखबाट हामी कार्वनडाइअक्साइड लिने गर्छाैं भनेर विज्ञानलाई चुनौती दिए । उनको यो प्रमाणित चुनौती थिएन । उनको अध्ययन र ज्ञानको कमीका कारण उनको मुखबाट अनायशै यस्तो शब्द चिप्लिएको थियो । उनले एक कार्यक्रममा भनिदिए, ‘रूखबाट हामी कार्बनडाईअक्साइड लिन्छौँ, र रूखलाई हामी अक्सिजन दिन्छौँ, त्यही रुख यदि भएन भने हामी कसरी बाँच्छौँ ? ’

रूखले अक्सिजन दिन्छ कि कार्बनडाइअक्साइड दिन्छ भन्ने सामान्य चेतसमेत त्यसबेला मन्त्रीमा देखिएन । यो उनको बोली त झन् ट्रोल नै बनेर भाइरल बन्यो । त्यत्तिमै मात्र आलेको चर्चा रोकिएन । उनले सामुदायिक वन उपभोक्ता महासंघको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा गरेको अर्काे सम्बोधनले उनलाई फेरि चर्चामा ल्याउने काम गर्यो ।

माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो । तर, त्यो कार्यक्रम खारेज नगर्न भन्दै आफूलाई मन्त्री भएकै दिनबाट आर्थिक प्रलोभन देखाइएको बताएका थिए । उनले एक अर्ब घुसको कुरा आफूलाई मन्त्री बनेकै दिनबाट आएको खुलासा गरेका थिए ।

उनले भनेका थिए, ‘जुन दिन मैले पदको बहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायीदेखि, वनका केही बद्मास कर्मचारीदेखि साराले मलाई भेट्ने प्रयास गरे, मैले कसैलाई भेटिनँ, कसैलाई पनि भेट्दिनँ भनेँ, मैले कसैलाई भेट्दा पनि भेटिनँ, पछि कुरा कतिसम्म आयो भन्दाखेरी हामी एक अर्ब पैसा उठाएर दिन्छौँ भन्ने आयो । अनि मैले भनेँ एक अर्ब पैसा समातेर आफ्नो मुखमा कालोमोसो आफै दल्ने मैले ? हुँदैन भनेर मैले इन्कार गरेँ ।’

यस्तै, कोरोना भाइरस (कोभिड १९)का कारण अक्सिजनको हाहाकार चलिरहेका बेला मन्त्री आलेले पशुपतिनाथमा कोरोना संक्रमणबाट मृत्यु भएका मानिसको शव जलाउन दाउराको अभाव हुन नदिने अभिव्यक्ति दिए । यसले पनि आलेको आलोचना भयो । सरकार अक्सिजनको जोहोमा जुट्नु पर्ने बेलामा कोरोनाबाट निधन भएकाको शव जलाउन दाउरा कमी हुन नदिने भनी बाेल्दै हिँडेको भन्दै उनको आलोचना भएको थियो ।

कहिले हात्तीमाथि चढेर गैँडा गणना गर्दै गरेको फोटो सार्वजनिक भएपछि चर्चामा आउने आले कहिले अक्सिजनको सिलिण्डरमा आफ्नो फोटो टाँसेर पनि चर्चामा आए ।

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डरमा उनले आफूले सहयोग गरेको भन्दै फोटो टाँसेर पठाएको भन्दै निक्कै आलोचना खेपे । आलोचना बढेपछि उनले आफूले खरिद गरेर पठाएको भन्दै बचाउको प्रयास त गरे । तर, त्यो प्रयास पनि कामयावी नभएपछि आले यसमा पनि निक्कै आलोचित बने ।

उनले कैलाली र डाेटीको अस्पतालमा वितरण गरेका अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्रीमा आफ्नो फोटो राखेर पठाएका थिए । यत्तिमात्रै होइन, ६ महिना मन्त्री रहँदा उनले आफ्नै सचिवालय अन्य मन्त्रीको तुलनामा जम्वो बनाएको भन्दै आलोचना खेपे । उनले आफ्नो मन्त्रालयमै १० जनासम्मको सचिवालय बनाएका थिए ।

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया