शुक्रबार, वैशाख २१, २०८१

सुदूरपश्चिमका १९ हजार २८५ जना कोरोनामुक्त

मेरोन्यूज २०७८ जेठ ७ गते ६:४९

धनगढी । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कैलालीका १३ हजार ५८४ संक्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन् । यो सङ्ख्या कैलालीका कूल संक्रमितसङ्ख्याको झण्डै ६३ प्रतिशत हो । यहाँका अन्य पहाडी जिल्लाहरू अछाममा एक हजार ९०१, बैतडीमा ९२६, बझाङ एक हजार ५७ र बाजुरामा ६२४ संक्रमित निको भएका छन् ।

यसैगरी कोरोना संक्रमण मुक्त हुनेमा डडेल्धुराका ८७६, दार्चुलाका ४०४, डोटीमा एक हजार ६३३ र कञ्चनपुरमा तीन हजार २५३ जना छन् । निर्देशनालयका अनुसार सुदूरपश्चिममा अझै ११ हजार ४४० सक्रिय संक्रमितहरू छन् । कैलालीमा चार हजार ९१३, अछाममा ७८६, बैतडीमा ९६७, बझाङमा ९४१, बाजुरामा २२७ जना सक्रिय संक्रमित छन् । डडेल्धुरामा ५१४, दार्चुलामा २९५, डोटीमा ५५९ र कञ्चनपुरमा दुई हजार २२० सक्रिय सङ्क्रमित छन् ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ९९ हजारको परीक्षण गर्दा ३१ हजार २०० मा कोरोना सङ्क्रमण देखिएको थियो । यो सङ्ख्या परीक्षण गरिएका कूल सङ्ख्याको १५.५७ प्रतिशत हुन आएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए । दोस्रो चरणमा संक्रमितलाई समयमै अस्पताल पु¥याउन नसक्दा तथा अक्सिजन नपाएका कारण बचाउन सकिएको छैन । स्वास्थ्य निर्देशक डा.अवस्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ३९७ जनाले ज्यान गुमाएका छन् ।रासस

प्रतिक्रिया