शुक्रबार, वैशाख १४, २०८१

कर्णालीमा थप पाँच संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २१ गते ११:३४

सुर्खेत । कोरोना भाइरस संक्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।

संक्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताए । उनका अनुसार आजै दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना संक्रमित ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आइतबार सुर्खेत सिम्ता गाउँपालिका–८ का ३०, लेकबेँसी नगरपालिका–८ का ६८ र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।सोमबार पाँच र आइतबार तीन जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा ५८१ जनाको पिसिआर परीक्षण गर्दा ३४७ (६० प्रतिशत) र ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८० (४० प्रतिशत) मा कोरोना संक्रमण पुष्टि भएको निमित्त निर्देशक डा खड्काले बताए । त्यस्तै यस प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका नौ हजार १२८ संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएसँगै सात हजार ६२२ (८७ प्रतिशत) जना निको भएर घर फर्केका छन् । दुई हजार १९४ संक्रमित प्रदेशका विभिन्न आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । रासस

प्रतिक्रिया