शुक्रबार, वैशाख १४, २०८१

सरकार र थारुहटबीचकाे आजको दोस्रो वार्तामा के भयो ?

मेरोन्यूज २०७७ चैत २२ गते १९:०८

काठमाडौं ।सरकार र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट, थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिबबीच आज भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेपनि कुनै सहमति हुन सकेन ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्तामा दुवै पक्षले सहमतिका लागि आफ्नो बटमलाइन प्रस्तुत गरेका थिए । बैठकमा सरकारका वार्ता टाेलीका संयाेजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले थारुहटका अधिकांश माग सम्बाेधन गर्न सरकार तयार रहेकाे बताएका थिए ।

उनले अदालतबाट फैसला भैसकेका मुद्दाकाे हकमा एउटा र फैसला हुन बाँकी विषयमा अर्को ढंगले समस्या समाधान गर्ने गरी प्रक्रिया अघि बढाउने प्रस्ताव राखेका थिए । जसमा थारुहटका तर्फबाट बार्ता टाेलीका सदस्यहरुले समेत सहमति जनाएका थिए ।

मंगलबार पुनः बस्ने गरी आजकाे छलफल टुंगिएको छ। अबकाे वार्ता निश्कर्षमा पुर्‍याउनुपर्नेमा दुवै पक्ष सहमत भएका छन् । यसअघि गत मंगलबार पहिलो चरणको वार्ता भएको थियाे ।

सरकारी वार्ता टोलीकाे संयोजकमा गृहमन्त्री र सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्वसासंद भगवती चौधरी छन् भने आन्दोलनकारीका तर्फबाट पूर्वसांसाद रुक्मणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी छन् ।

सरकारले वार्ताका लागि गत सोमबार मात्र वार्ता समिति बनाएको थियो । टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनरत छन् ।

प्रतिक्रिया