बिहीबार, वैशाख २७, २०८१

बेनी–जोमसोम सडकमा यातायात बन्द

मेरोन्यूज २०७७ चैत १४ गते १३:४५

बेनी । बेनी–जोमसोम सडकमा ४ दिनलाई सिधा यातायात बन्द भएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न सो क्षेत्रको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा आज शनिबारदेखि सिधा यातायात सेवा बन्द भएको छ ।

Advertisement

बेनी–जोमसोम ७६ किलोमिटर सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा चार दिन सवारी सञ्चालन बन्द गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा गत चैत ९ गते प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले चैत १७ गतेसम्म सवारी आवतजावत रोकेर सडक विस्तार र स्तरोन्नतिको काम गर्ने निर्णय गरेको थियो ।


सडक स्तरोन्नति, बेस बगाउने तथा पहिराका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम तथा दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताए ।
सडक बन्द भएपनि सवारी साधन परिवर्तन गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको यातायात व्यवसायीले बताएका छन् ।


प्याकेज नं २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ १ किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ । काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो ।

निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ–४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ ।


करिब ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ बाट निमार्ण सुरु गरिएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । रासस

प्रतिक्रिया